९ गते एकीकरण हुन्छ भन्ने हल्ला निराधार: ओली
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ९ मंसीरमा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुन्छ भन्ने हल्ला निराधार रहेको बताएका छन् ।
आज पश्चिम झापाको गौरादहका विभिन्न चोकमा भएका चुनावी सभालाई सम्बोधन गर्दै ओलीले पार्टी एकिकरणको काम निर्वाचनपछि मात्रै अघि बढने बताए ।
“निर्वाचन अघि पार्टी एकिकरण गर्ने हल्ला सञ्चार माध्यमबाट षडयन्त्रपुर्वक ल्याइयो” ओलीले अगाडि भने, “प्रचण्ड जी र मलाई नै थाहा नभएको यस्तो हल्ला भ्रमको खेती हो ।”
कम्युनिष्टहरु मिलेर अधिनायकबाद ल्याउन खोजेको आरोप कांग्रेसका नेताहरुले लगाएको प्रसंग कोट्टयाउँदै ओलीले भने, “बुद्धिको टाट पल्टिएकाहरुले यस्तो भनिरहेको सुनेको छु ।”
‘विकासको मुल फुटाइनेछ’
चुनावी सभालाई सम्बोधन गर्न गौरादह नगरपाकिाको ग्वाल्डुब्बा चोकमा पुगेका ओलीले नजिकैको गौरीगञ्ज गाँउपालिकालाई स्मार्ट सिटी बनाउने योजना रहेको सुनाए । भने, “एमालेले जितेर सरकार बनाएपछि यहाँका खोलामा पुल हालिन्छ, हुलाकी राजमार्ग बनाइन्छ, पूर्वपश्चिम राजमार्गलाई विश्वस्तरको ६ लेनको बनाइन्छ, अर्थात विकासको मुल फुटाइन्छ ।”
ओलीले निर्वाचनपछि वामपन्थीको सरकार बन्नेमा ढुक्क हुन आग्रह गर्दै भने, “हेर्नुहोला रोजगारी खोज्दै टाढाका मुलुक गइरहनु पर्दैन, आफ्नै देशभित्र प्रशस्त रोजगारीको ढोका खोलिनेछ ।”
गोपाल गडतौला, झापा