सुर्खेतमा ठूलो परिमाणमा विष्फोटक सामाग्री वरामद
प्रहरीले सुर्खेतको पञ्चपुरीबाट ठूलो परिणाममा बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्री वरामद गरेको छ ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट २५ कात्तिकमा बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर लगायतका सामाग्री बरामद गरेको हो ।
बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोवाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।
ढुङ्गेबजारमा ध.१.ज. १०६ नम्वरको जीप जाँच गर्दा उक्त परिणाममा विष्फोटक पदार्थ वरामद भएको प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले बताए ।
प्रहरीले विष्फोटक सामाग्री भारतबाट कैलाली हुँदै ल्याइएको जनाए पनि सामाग्री ल्याउने व्यक्तिको पहिचान गर्न सकेको छैन ।
“हामीले विस्तृत अनुसन्धान शुरु गरिसकेका छौं, बरामद मोबाइलबाट कल डिटेल निकालेर पनि संलग्नको खोजी गरिने आचार्यले बताए ।
अघिल्लो साता प्रहरीले भेरीगंगा नगरपालिकाको छिन्चुबाट बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्रीसहित एक पूर्व माओवदी लडाकुलाई पक्राउ गरेको थियो ।
जाजरकोट लैजाँदै गरिएकोे चार थान डेटोनेटर, सेप्टीफ्यूज, पाँच वटा विद्युतीय स्वीच, होल्डर, हत्कडी र एक लाख २५ हजार नगदसहित पूर्व माओवादी लडाकु दलबहादुर कामी पक्राउ परेका थिए ।
चुनावको मुखैमा ठूलो परिणाममा विस्फोटक सामाग्री बरामद हुन थालेपछि प्रहरीले सार्वजनिक सवारी साधनको चेकिङ बढाउनुका साथै शंकास्पद ठाउँमा सादा पोशाकमा प्रहरी खटाउन थालेको छ ।
लक्ष्मी भण्डारी, सुर्खेत