सरकारले डा केसीलाई पठायो ७ बुँदे प्रतिवद्धता-पत्र
सरकारले डा गोविन्द केसीका माग पूरा गर्ने सन्दर्भमा भएका प्रगति र प्रतिवद्धता सहितको पत्र पठाएको छ ।
स्वास्थ्यमन्त्री गगन थापा र शिक्षामन्त्री धनिराम पौडेलद्वारा हस्ताक्षरित पत्रमा चिकित्सा शिक्षा विधेयकबारे ९ असोजदेखि संसदमा छलफल हुने र आवश्यक संशोधन गरि विधेयक पारित गरिने, शिक्षा ऐन नबनेसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, आइओएममा डिन नियुक्तिका लागि प्रक्रिया अघि बढिसकेको, प्रस्तावित मनमोहन मेडिकल कलेजको सम्पत्ती व्यवस्थापनको प्रक्रिया समेत अघि बढिसकेको भन्दै अनशन लगायतका कार्यक्रम स्थगन गर्न आग्रह गरिएको छ ।
त्यसैगरी पत्रमा सात वटै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज स्थापना गरिने, विद्यार्थी भर्ना योग्यताक्रम अनुसार र तोकिएको मापदण्ड अनुसार शुल्क लिन शुल्क निर्धारण समिति गठन भइसकेको समेत डा केसीलाई जानकारी गराइएको छ ।
आफ्ना मागहरु पूरा गराउन नवौं अनशन शुरु गर्न लागेका डा केसीले सरकारको प्रतिवद्धता पत्र प्राप्त भएसँगै एक साताका लागि अनशन स्थगित गरेका छन् ।
उनले सरकारले गरेको प्रतिवद्धता पूरा नगरेमा र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने प्रक्रिया व्यवस्थापिका संसदमा शुरु नगरिए १० असोजमा पुनः अनशन शुरु गर्ने चेतावनी समेत दिएका छन् ।