त्रिपुरेश्वरमा पेट्रोलपम्प सँगै रहेको वर्कसपमा आगलागी
काठमाडौंको त्रिपुरेश्वरमा रहेको आलम मेकानिकल वर्कसपमा आज साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
जयन्ती पेट्रोलपम्पसँगै रहेको वर्कसपमा आगलागी हुँदा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । घटनामा घाइते भएका दुई जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार आगलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको छ । काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगलागी नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।
आगलागीका कारणबारे खोजी भइरहेको छ ।
आगलागीबाट जयन्ती पेट्रोल पम्पको स्टोरसमेत क्षति भएको छ । समयमै आगलागी नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
“पेट्रोल पम्पमा आगलागी भएको भए ठूलो क्षति हुन सक्थ्यो, समयमै नियन्त्रण हुन सकेकाले दुर्घटना टरेको छ”, उपरीक्षक क्षेत्रीले भने । आगलागीमा परी मृत्यु भएकाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ ।
रासस