पर्साः किशोरी बलात्कारका आरोपी घटनाको ११ दिन वित्दा पनि पक्राउ परेनन्
पर्साको सखुवा प्रसौनी गाउँपालिका – ४ देउरवानाकी किशोरीलाई बलात्कार र अपहरणका आरोपीहरु ११ दिन वितिसक्दा पनि पक्राउ परेका छैनन् ।
अभियुक्तहरुको राजनीतिक पहुँचका कारण प्रहरीले उनीहरुलाई पक्राउ गर्नुको सट्टा गाउँमै मिलापत्र गर्न दबाब दिएको पीडित पक्षको दाबी छ ।
पीडितले प्रहरीमा दिएको जाहेरी अनुसार १२ कात्तिकमा देउरवानास्थित घर नजिकैको उखु बारीमा घाँस काट्न गएकी १७ वर्षीया किशोरीलाई मोटरसाइकलमा आएका २२ वर्षीय मुख्तार अन्सारी र उनका साथी २३ वर्षीय अन्सारी मियाले लछारपछार गर्दै उखुबारीभित्र लगी बलात्कार गरेका थिए ।
मुख्तार अन्सारी सखुवा प्रसौनी–४ का वडाध्यक्ष जुमादीन अन्सारीका छोरा हुन् ।
उनीहरुले बलात्कारपछि किशोरीलाई गाउँदेखि केही टाढा रहेको ओली आलमको घरमा रातभर थुनेर राखे । भोलिपल्ट १३ कात्तिकमा अन्सारीका साथीहरु ओली आलम, रुस्तम र हरिशंकरले किशोरीलाई नारायणी उपक्षेत्रीय अस्पतालमा लगी मोटरसाइकल दुर्घटनामा परेको भनि उपचार गराएर गाउँसम्म पुर्याई छाडिदिए । उनलाई घटनाबारे कसैलाई नभन्न धम्की दिइएको थियो ।
आमा माइती गएको र बुवा मजदूरीका लागि घरबाहिर रहेकाले पीडित किशोरीले काकीलाई सबै घट्ना बताइन् । उनका काका समेत घरमा थिएनन् ।
तर, घटनाको तीन दिनपछि गाउँ फर्किएका काकाले प्रहरीमा उजुरी दिने बताएपछि मुख्य आरोपी मुख्तार अन्सारीका बाबु जुमादीन अन्सारी चार जना सहयोगीसँगै आएर पीडित पक्षमाथि कुटपिट गरेका थिए ।
पीडित किशोरीका बाबुका अनुसार १५ कात्तिकमा चार जनाको समूह सहित आएका वडाध्यक्ष अन्सारी आफैंले किशोरी, उनका बुवा, आमा र परिवारका अन्य सदस्यमाथि अन्धाधुन्ध लाठी प्रहार गरेका थिए । कुटपिटबाट पीडित किशोरीको ढाडमा गम्भीर चोट लागेको छ भने उनकी आमाको हात भाँचिएको छ ।
“मैले १६ गते नै ईलाका प्रहरी कार्यालय, पथरैयामा भतिजी माथि सामूहिक बलात्कार भएको र हामीमाथि कुटपिट भएकोबारे जाहेरी दिएको हुँ,” किशोरीका काका भन्छन, “तर, प्रहरीले आरोपीहरुलाई पक्राउ गर्नुको सट्टा उनीहरुलाई भाग्न सहयोग गरेको छ ।”
उनले वडाध्यक्ष अन्सारीको राजनीतिक पहुँचका कारण ईलाका प्रहरी कार्यालयले पीडकलाई पक्राउ नगरेको र उल्टो आफूहरुलाई गाउँमै मिलापत्र गर्न दबाब दिएको बताए ।
यता बलात्कारपछि फेरि कुटपिटमा परेकी छोरी र हात भाँचिएकी श्रीमतीलाई उपचार गराउन वीरगञ्ज लगेका बाबुले अर्को दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि निवेदन दर्ता गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही बताउँछन् ।
“घटनाबारे सूचना पाएलगत्तै आरोपीलाई पक्राउ गर्न प्रहरी परिचालन भएको थियो तर उनीहरु फरार भएका रहेछन्,” नायव उपरीक्षक शाहीले भने, “उजुरी ढिलो गरी आएका कारण पनि उनीहरुले भाग्ने मौका पाए ।”
उनले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले मुख्य आरोपी मुख्तार अन्सारी र अन्सारी मिया भारतमा लुकेको हुनसक्ने भन्दै पक्राउका लागि भारतीय प्रहरीसँग कुराकानी भइरहेको बताए । वडाध्यक्ष अन्सारी र उनका सहयोगीहरु समेत गाउँबाट भागिसकेको गाउँलेहरु बताउँछन् ।
घटनाको विरोधमा २१ कात्तिकमा वीरगञ्जमा प्रदर्शन समेत भएको थियो ।
जियालाल साह, वीरगञ्ज