रिपोर्टबिहिवार, कार्तिक २३, २०७४

थला पर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

सविता श्रेष्ठ

आफ्नालाई स्थायी वा बढुवा गराउन, परीक्षामा सजिलो प्रश्नपत्रका लागि तथा भ्रमणभत्ता बढाउन पनि आन्दोलन हुन्छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले ११ कात्तिकमा लिएको स्नातक तहको प्रवेश परीक्षाको मेरिट लिष्ट निकालेकै दिन १३ कात्तिकमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरे । परीक्षामै ग्रेस मार्क थपेर विद्यार्थी पास गराएको संगठनहरूको आरोप छ ।

पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायकी डीन प्रा.डा. शारदा थपलिया आवश्यक संख्यामा विद्यार्थी पास नभएपछि भर्ना कमिटीको निर्णय अनुसार ग्रेस थपिएको बताउँछिन् । तर, तालाबन्दी पछि भर्ना प्रक्रिया रोकिएको छ । 

आंगिक कलेजहरू नखोली निजीलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले गत असार, साउन र भदौमा पनि विश्वविद्यालय ठप्प पारेका थिए । नेकपा (माओवादी केन्द्र) को अखिल क्रान्तिकारी र ‘विप्लव’ समूहको अखिल क्रान्तिकारीका विद्यार्थीले ६ असारबाट थालेको आन्दोलनमा पछि नेपाली कांग्रेस र नेकपा (एमाले) का विद्यार्थी संगठनहरू पनि मिसिएका थिए ।

त्यसवेला विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी हुनुको साथै भेटनरीतर्फको परीक्षा रोकियो । सम्बन्धन स्थगित भएपछि विरोध रोकिए पनि दशैं अगाडि एकसाता पनि पढाइ भएन ।

त्यसअघि ८ वैशाखमा भएको झडपमा स्नातक तहका केही विद्यार्थी घाइते भए । त्यसपछि एकले अर्को पक्षलाई कारबाहीको माग गर्दै विश्वविद्यालय बन्द गरे । १२ वैशाखमा क्याम्पस खुल्दा विद्यार्थीबीच झडप भएपछि क्याम्पस प्रशासनले १३ वैशाखदेखि १२ जेठसम्म गर्मी विदा भएको सूचना निकाल्यो । शैक्षिक क्यालेण्डरभन्दा एक महीनाअघि निकालिएको विदाको सूचनाले छैटौं सेमेस्टरको जारी परीक्षा र १३ वैशाखबाट शुरू हुने चौथो सेमेस्टरको परीक्षा विथोल्यो । २०६९ सालबाट अध्यापन शुरू भएसँगै यो विश्वविद्यालय बन्द, हड्ताल र राजनीतिक झगडाको केन्द्र बनेको छ ।

आन्दोलनको अखडा
पहिले त्रिविको आंगिक क्याम्पसका रूपमा आन्दोलनको अखडा बनेको यो शैक्षिक संस्था विश्वविद्यालय बन्दा पनि पुरानो रोगबाट मुक्त हुन सकेन । वर्षमा आधाभन्दा बढी समय विश्वविद्यालयभित्रको कुनै न कुनै कार्यालय बन्दको मारमा पर्ने गरेको छ । गत वर्ष कर्मचारी, प्राध्यापक, अस्थायी शिक्षक र विद्यार्थीले एकै पटक र छुट्टाछुट्टै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

आफ्नालाई स्थायी वा बढुवा गराउन, परीक्षामा सजिलो प्रश्नपत्रका लागि तथा भ्रमणभत्ता बढाउन पनि आन्दोलन हुन्छ । विश्वविद्यालयमा रोजगारी पाउनुपर्ने माग राख्दै स्थानीयवासी र आफ्नोतर्फका पदाधिकारी बढी नियुक्त हुनुपर्ने भन्दै नेपाली कांग्रेसले समेत आन्दोलन गर्‍यो । “विश्वविद्यालयका सबै कार्यालय चलेका दिन निकै कम छन्” उप–प्राध्यापक डा. ईश्वरीप्रसाद कडरिया भन्छन्, “जसलाई जे चाहियो विश्वविद्यालय बन्द गर्ने चलन छ ।”

बन्दकै कारण कृषि र भेटनरीको स्नातक र स्नातकोत्तर तहको पहिलो सेमेस्टर सकिएको छैन । ६ महीने सेमेस्टर नौ÷दश महीना लम्बिंदा बल्ल रुटिन निकालेर परीक्षा सञ्चालन गर्न लागिएको छ । स्नातक तहको पहिलो ब्याच यसपटक बल्ल ‘पासआउट’ हुँदैछ । चार वर्षको पढाइ पाँच वर्ष लम्बिएको आठौं सेमेस्टरकी विद्यार्थी शिलु दाहाल बताउँछिन् । “कुनै पनि सेमेस्टर समयमा सकिएन” उनी भन्छिन्, “पढाइ अवधि एक वर्ष धकेलिंदा आफ्नो योजना अनुसार अगाडि बढ्न पाएनौं ।” 

सातौं सेमेस्टरका रामचन्द्र न्यौपाने विद्यार्थी राजनीतिलाई पढाइ विथोलिनुको मूल कारक मान्छन् । विद्यार्थी संगठनहरूले पढाइलाई भन्दा पार्टीका कार्यक्रमलाई प्राथमिकता दिंदा यो अवस्था आएको उनको भनाइ छ । ३० वटा लेक्चर अवधि भएको विषयमा प्राध्यापकले २० लेक्चर पढाउन र विद्यार्थीले पढ्न पाए राम्रो मानिन्छ । तर, प्राध्यापक र विद्यार्थीकै संगठनहरूको आन्दोलनले ‘एकेडेमिक क्यालेण्डर’ पछाडि धकेलिएको छ । महीनौं बन्द–हड्ताल हुँदा पनि विश्वविद्यालय प्रशासन चूपचाप रहने गरेको छ ।

समयमै पढाइ नसकिंदा होस्टलमा विद्यार्थीको चाप बढेको छ । होस्टल पनि विद्यार्थी संगठन अनुसार फरक छन् । प्रवेश परीक्षाको समयमा विद्यार्थी संगठनहरूले आ–आफ्नो पक्षका भन्दै विद्यार्थी राख्ने गरेका छन् । गैर–विद्यार्थीलाई होस्टलमा राख्न नपाउने नियम समेत पालन नभएको विद्यार्थी बताउँछन् । विद्यार्थी संगठनहरूबीच विवाद बढ्दा विश्वविद्यालयले सूचना निकालेर कक्षा बन्द र होस्टल खाली पार्ने गर्दै आएको छ ।

राजनीतिक भागबण्डा
सुशील कोइरालाको प्रधानमन्त्रीकालमा पाँचवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त हुँदा एएफयूमा एमाओवादीको कोटाबाट प्रा.डा. ईश्वरीप्रसाद ढकाल आए । त्यस विरुद्ध एमाले निकट प्राध्यापकहरूले तालाबन्दी गरे । केपी ओली प्रधानमन्त्री भएपछि एमाले निकट प्रा.डा. मनराज कोलाक्षपतिलाई रजिष्ट्रार बनाइयो । कृषि संकायमा माओवादीका प्रा. जयप्रकाश दत्त, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा प्रा.डा. शारदा थपलिया र वन विज्ञान संकायमा कांग्रेसबाट सह–प्राध्यापक डा. बलराम भट्टलाई डीन बनाइयो ।

पदाधिकारी नियुक्तिको वेला विश्वविद्यालयमा राजनीतिक चलखेल चुलिन्छ । पछिल्ला वर्षहरूमा त करारमा शिक्षक र कर्मचारी नियुक्ति पनि राजनीतिक भागबण्डाकै आधारमा हुन थालेको उपप्राध्यापक डा. हिमाल लुइँटेल बताउँछन् । दलको झण्डा विना विश्वविद्यालय चल्दैन भन्ने जस्तो भएको उनी बताउँछन् ।

हुन पनि, माओवादी केन्द्रको भागमा परेको वन संकायको दुई सहायक डीनमध्ये एउटा पूर्ति हुनसकेको छैन । माओवादीसँग यसका लागि योग्यता पुगेका व्यक्ति नहुँदा खाली रहेको बताइन्छ । कृषि संकायमा करारमा उपप्राध्यापक नियुक्त गर्ने प्रक्रिया पनि राजनीतिक भागबण्डा नमिल्दा रोकिएको छ । गत असारमा ७ विषयमा ८ उपप्राध्यापक मागिए पनि भागबण्डाको कुरा नमिल्दा छनोट प्रक्रिया शुरू हुनसकेको छैन ।

कास्कीको पुरनचौरमा आंगिक क्याम्पस चलाइरहेको विश्वविद्यालयले यही वर्षबाट सिन्धुलीको कपिलाकोटमा कृषिको स्नातक तह चलाउन कलेज स्थापना गरेको छ । दलहरूलाई भागबण्डा मिलाउनकै लागि विश्वविद्यालयले स्थापना नै नभएका गोरखा र उदयपुरका क्याम्पसका लागि समेत प्रमुख नियुक्त गर्ने तयारी गरिरहेको एक प्राध्यापक बताउँछन् ।

विद्यार्थीको मनपरी
परीक्षा समयमा नहुने र परीक्षा सार्ने समस्याले समेत विश्वविद्यालय ग्रस्त छ । विद्यार्थी संगठनहरू परीक्षा गराउन वा नगराउन दबाब दिन्छन् । एमएस्सीएजी तहका विद्यार्थीले लामो समयबाट हुन नसकेको परीक्षा गर्नुपर्ने माग राख्दै गत भदौमा परीक्षा नियन्त्रक नारायणराज जोशीलाई कार्यालयमा थुने । त्यसपछि निकालिएको १४ कात्तिकबाट परीक्षा हुने तालिका तिनै विद्यार्थीको निवेदनबाट स्थगित भएको छ । पहिलो र तेस्रो सेमेस्टरको परीक्षा पनि विद्यार्थीकै दबाबमा सारिएको छ ।

विद्यार्थीले परीक्षामा अप्ठ्यारो प्रश्नपत्र आउँदा पनि सजिला प्रश्नहरू राखेर पुनः परीक्षा गराउन आन्दोलन गरेका छन् । गत वर्ष छैटौं सेमेस्टरको डेरी साइन्स विषयको प्रश्न गाह्रो लागेपछि पाठ्यक्रम बाहिरको प्रश्न भन्दै केही विद्यार्थीले सबैको प्रश्नपत्र च्यातिदिएका थिए । विश्वविद्यालयको विषय समितिले पाठ्यक्रमभित्रबाटै प्रश्न आएको निक्र्योल गरे पनि विद्यार्थीको दबाबमा पुनः परीक्षा लिइयो ।

भेटनरी संकायको स्नातक तेस्रो सेमेस्टरको प्रिन्सिपल अफ जेनेटिक्स एण्ड एनिमल ब्रिडिङ विषयको प्रश्नपत्र पनि विद्यार्थीले च्यातेपछि पुनः परीक्षा लिइयो । यस्ता कार्यले अराजकता बढेको छ । परीक्षा नियन्त्रक जोशी भन्छन्, “धेरै समस्या छन्, के गर्ने ?”

गैरजिम्मेवार प्राध्यापकहरू आफ्ना स्वार्थ पूरा गराउन विद्यार्थीलाई आन्दोलनमा उतार्छन्, आफ्नो जिम्मेवारी भने पूरा गर्दैनन् । प्राध्यापकहरूले ‘डिजिज अफ क्याटल हर्स, शीप एण्ड गट’ र ‘जनरल इपिडिमियोलोजी’ विषयको आन्तरिक परीक्षाको नम्बर समयमै नपठाउँदा पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा स्नातकोत्तर दोस्रो सेमेस्टरका विद्यार्थीको रिजल्ट रोकिएको थियो ।

कारबाही हुँदैन
विश्वविद्यालयमा तोडफोड, आगजनी, कुटपिट हुँदा, डरधम्की देखाउँदा कारबाही हुँदैन । प्राध्यापक, पदाधिकारी, विद्यार्थीको आँखै अगाडि हुने तोडफोड र कुटपिटमा समेत कारबाही प्रक्रिया अगाडि बढाइँदैन । तोडफोड गर्दा पक्राउ पर्नेलाई विश्वविद्यालयका पदाधिकारीले नै छुटाउँछन् । तोडफोड गर्नेलाई प्रहरीमा बुझउँदा आफैं गएर छुटाउनुपर्ने झ्मेला आइलाग्ने बताउँदै उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल भन्छन्, “फेरि भोलिपल्टदेखि काम गर्न सक्ने अवस्था पनि रहँदैन ।”

विश्वविद्यालयमा राम्रो काम गरे पनि पार्टी हेरेर समर्थन वा विरोध गर्ने चलन बसेको उनी बताउँछन् । शिक्षक–विद्यार्थी असल सम्बन्ध र एकले अर्कोलाई सहयोग गर्ने परिपाटी नहुँदा धेरै विवाद हुने गरेको उनी बताउँछन् । विश्वविद्यालय रहेको स्थान र यसका पूर्वाधारले पनि विश्वविद्यालयको बिजोग देखाउँछ ।

डीएनए लेभलमा पुगेर रोगको पहिचान र टिस्यु कल्चर गर्ने अत्याधुनिक मेशिनसहितको जैविक प्रविधि केन्द्र त छ, तर बिजोग अवस्थामा । केन्द्रका निर्देशक रहेका उपप्राध्यापक डा. ईश्वरीप्रसाद कडरिया मेशिन सुरक्षा गर्ने पूर्वाधार नै नरहेको बताउँछन् ।

‘पढ्दा पढ्दै रोजगारी पाइने’ भएकोले कृषि, पशु र वन विषयमा विद्यार्थीको ठूलो आकर्षण छ । स्नातक तह पढ्न कृषिमा पाँच हजार, भेटनरीमा दुईहजार र वन विषयमा १५ सय जति विद्यार्थीले प्रवेश परीक्षा दिन्छन् । विद्यार्थीको यत्रो आकर्षण भए पनि स्नातकदेखि विद्यावारिधिसम्म अध्यापन हुने कृषि विश्वविद्यालयको अवस्थाले भने सबैलाई दिक्क बनाएको छ ।

प्रतिकृया दिनुहोस