बाबु चुनावमा लड्दै, छोरा विथोल्दै
प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीलाई पक्राउ गरेको छ ।
मतदाताहरुमा त्रास फैलाउने लगायतका निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिएका छन् ।
उनी काठमाडौंको ६ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार एवम् माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीका जेठा छोरा हुन् ।
सन्तोष सुवेदीकै नेतृत्वमा करिव एक महीनाअघि रोल्पाका जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार समेत भएको थियो । त्यसयता उनी भूमिगत जस्तै थिए ।
सादा पोसाकमा खटिएका प्रहरीको टोलीले सुवेदीलाई रोल्पाको सुवर्णावती गाउँपालिका मिझिङबाट पक्राउ गरेको हो ।
जीवन डाँगी, रोल्पा