रिपोर्टबुधवार, कार्तिक २२, २०७४

कलिलैमा क्यान्सर

रामु सापकोटा

धूमपान, प्रदूषण, गरीबी र बदलिंदो जीवनशैलीका कारण युवावयमै क्यान्सरले ज्यान गुमाउने बढेका छन् ।

झापा, गौरादहकी गोमा खड्का (३५) को फोक्सोमा मासु पलाएर सास फेर्न गाह्रो भएपछि वीर अस्पतालको क्यान्सर रोग विभाग प्रमुख डा. विवेक आचार्यसँग परामर्श लिन वीर अस्पताल पुगेकी उनकी भान्जी रिता उप्रेती (दायाँ)। तस्वीरहरुः गोपेन राई

गत वर्ष एसईई उत्तीर्ण सुमन श्रेष्ठ (१७) यतिवेला ११ को कक्षा कोठामा भेटिनुपर्ने हो । तर, उनी पाँच महीनादेखि राजधानीस्थित वीर अस्पतालमा छन् । लगातार खोकीको समस्या देखिएपछि अस्पताल पुर्‍याइएका उनलाई पटकपटकको परीक्षणपछि फोक्सोको क्यान्सर भएको पत्ता लागेको छ । 

रामेछापको रामपुर गाउँपालिका घर भई पाउरोटी उद्योगमा काम गर्ने आमासँग काठमाडौंस्थित कपनमा भाडामा बस्ने सुमनले अहिलेसम्म तीन साइकल केमोथेरापी लिइसकेका छन् । १२ कात्तिकदेखि खोकी र ज्वरोको समस्या बल्झिएपछि शल्यक्रिया योजना पनि रोकिएको छ । “डाक्टरले अपरेसन नै गर्नुपर्छ भनेका छन्, तर के हुने हो थाहा छैन”, आमा सृजना भन्छिन् । सुमनलाई कलिलैमा क्यान्सर लाग्नुमा खानपान प्रमुख कारण भएको चिकित्सकको आशंका छ ।

छोरालाई अस्पतालमा भर्ना गरेदेखि आमा सृजना कुरुवा बनेकी छिन् । परिवारको आयस्रोत बन्द भएको छ । छोराको भविष्य के हुने हो भन्नेमा उनी घोरिइरहन्छिन् ।

पाठेघर सम्बन्धी क्यान्सर कोरियो कार्सिनोमा भएपछि गोरखा, ताङ्गे चौरकी मीनकुमारी गुरुङ (२६) पनि अहिले वीर अस्पतालमा उपचार गराइरहेकी छिन् । ६ महीना अघिदेखि आँखा दुख्न थालेपछि तिलगंगा आँखा अस्पताल भर्ना भएकी उनको केही समयपछि दिसा र खकारसँगै रगत आउन थाल्यो ।

वीर अस्पतालको क्यान्सर वार्डमा भर्ना भएर आन्द्राको क्यान्सरको उपचार गराइरहेका थोमनबहादुर थापा (५४) ।

त्यसपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरियो । त्यहाँ उनलाई कोरियो कार्सिनोमा भएको पत्ता लाग्यो । बच्चा जन्माउने क्रममा पाठेघरबाट निस्केको सालमा हुने क्यान्सरलाई कोरियो कार्सिनोमा भनिन्छ । वीरका डा. सौहार्द लोहनी मीनकुमारीलाई गर्भवती हुँदा सालमार्फत संक्रमण भई क्यान्सर भएको हुनसक्ने बताउँछन् ।

अहिलेसम्म मीनकुमारीको आठ साइकल केमोथेरापी र दुई पटक शल्यक्रिया भइसकेको छ । दिदीको उपचारमा खटिएका अभिमान रोगका कारण सबै चौपट भएको बताउँछन् ।

क्यान्सर रोग विशेषज्ञ समेत रहेका नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झ पछिल्लो समय फोक्सो, रगत र हड्डीको क्यान्सरबाट कलिलो उमेरमै प्रभावित हुनेहरूको संख्या वयस्कको भन्दा बढी देखिएको बताउँछन् । कम उमेरमा रगत र हड्डी सम्बन्धी क्यान्सर बढी देखिनुमा खानपान प्रमुख कारण भएको उनी बताउँछन् ।

सन् २०१६ मा भरतपुर मेमोरियल क्यान्सर अस्पताल भर्ना भएका रगत र हड्डीको क्यान्सरका बिरामीमध्ये बालबालिका र युवा बढी देखिएका छन् । अस्पतालका अनुसार, १० वर्ष मुनिका ३९, १०–१९ वर्षका ५५, र २०–२४ वर्षका १६ जनामा रगत सम्बन्धी क्यान्सर देखिएको थियो भने १० वर्ष मुनिका नौ, १०–१९ वर्षका ४७ र २०–२४ वर्षका १५ जनामा हड्डी सम्बन्धी क्यान्सर रोग पाइयो । 

“रगत, हड्डी र पाठेघर सम्बन्धी क्यान्सर मात्र होइन, सबै खाले क्यान्सर युवा अवस्थामै देखिन थालेको छ” ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका सर्जिकल अंकोलोजी विभाग प्रमुख डा. कपेन्द्र शेखर अमात्य भन्छन्, “युवामै क्यान्सर देखिएसँगै यसको जोखिम पनि बढेको छ ।” मुलुकका सात वटा अस्पतालको तथ्यांक हेर्ने हो भने, पुरुषमा फोक्सो र पेटको क्यान्सर अनि महिलामा स्तन र पाठेघरको क्यान्सर सामान्य बन्न थालेको छ । पुरुषको तुलनामा महिलामा बढी क्यान्सरका रोगी पाइएको छ ।

महिला बढी जोखिममा
सिन्धुपाल्चोककी उत्तरमाया तामाङ (५६) लाई चार वर्ष अघि देव्रे स्तनमा क्यान्सर भएको पत्ता लाग्यो । वीर अस्पतालको क्यान्सर वार्डमा स्टेज–फोर चरणमा पुगेको क्यान्सरको उपचार गराइरहेकी उनी केमोथेरापी लिइरहेकी छन् ।

उपचारमा संलग्न वीर अस्पतालका डा. सौहार्द लोहनी वंशाणुगत, परिवार नियोजनको जथाभावी प्रयोग, ढिलो उमेरमा गरिने विवाह र असन्तुलित खानपानका कारण महिलाहरूलाई स्तन क्यान्सर हुने गरेको बताउँछन् ।

पाठेघरको क्यान्सरपछि सबैभन्दा बढी स्तन क्यान्सर देखिएको छ । आर्थिक वर्ष २०७३/७४ मा वीर अस्पतालमार्फत विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत उपचार सेवा लिने क्यान्सरका ७७१ बिरामीमध्ये ४३० जना महिला थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सोही आवमा उपचारमा आएका २७० क्यान्सरका बिरामीमा महिलाको संख्या १९६ छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आव २०७३/७४ मा ८६४ क्यान्सरका बिरामीको उपचार गरिएकोमा अधिकांश महिला नै रहेका थिए ।

मुलुकका प्रमुख सात वटा अस्पताल (भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, मणिपाल अस्पताल, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पताल) को तथ्यांकले पनि मुलुकमा महिला क्यान्सर रोगीको संख्या बढेको देखिन्छ । सन् २०१३ मा सात वटा अस्पतालमार्फत ८ हजार ७२९ क्यान्सरका बिरामीले उपचार गरेकोमा महिलाको संख्या ४ हजार ७१८ छ भने पुरुषको संख्या ४ हजार ११ ।

वर्षेनि ३० हजारलाई क्यान्सर
मुलुकमा क्यान्सर रोग सामान्य बनिरहेको थाहा पाउन बिरामीको बढ्दो तथ्यांक हेरे पुग्छ । नेपाल अर्बुद रोग निवारण संघका अनुसार, मुलुकमा वर्षेनि ३० हजार जना नयाँ क्यान्सरका बिरामी थपिने गरेको अनुमान छ । संघका अनुसार, यीमध्ये १० हजार बिरामी मात्र अस्पताल पुग्छन् ।

सन् २०२० सम्ममा क्यान्सरका एक लाख बिरामी थपिने र यीमध्ये ३८.५ प्रतिशत पुरुष र ४१.४ प्रतिशत महिला हुने अनुमान गरिएको छ । सन् २०१६ मा भक्तपुर मेमोरियल क्यान्सर अस्पतालमा १ हजार ४०० पुरुष र १ हजार ८०० महिलाले क्यान्सरको उपचार गरेका थिए ।

स्वास्थ्य मन्त्रालयमार्फत दिइने विपन्न नागरिक औषधि उपचार कोषमार्फत आ.व २०७०/७१ देखि २०७२/७३ सम्म देशभर ९ हजार ३७० क्यान्सरका बिरामीले उपचार सेवा लिएका छन् । क्यान्सरका बिरामीको रेकर्ड राख्ने भरतपुर मेमोरियल क्यान्सर अस्पतालअन्तर्गतको क्यान्सर रजिष्ट्री अनुसार, तथ्यांक लिइएका सातवटा अस्पतालमा सन् २००३ मा ३ हजार २५१ क्यान्सरका बिरामी उपचारका लागि आएका थिए । तर, सन् २०१३ मा आइपुग्दा यो संख्या बढेर ८ हजार ७२९ पुगेको छ । (हे.इन्फो) बिरामीको यो तथ्यांक अन्तरंग विभागअन्तर्गत भर्ना हुनेको मात्र हो ।

क्यान्सर रोग बढी देखिनुमा उपचार प्रविधिको विस्तार पनि हो । क्यान्सर रोग विशेषज्ञ डाक्टर कपेन्द्र शेखर अमात्य भिडियो एक्सरे मेशिन गाउँगाउँसम्म विस्तार भएकाले रोग पहिचान गर्न मद्दत पुगेको बताउँछन् । उनका अनुसार पछिल्लो १० वर्ष नेपालमा दुई हजार अल्ट्रासाउण्ड मेशिन भित्रिए । प्रमुख शहरहरूमा सिटी स्क्यान मेशिन प्रयोग हुन थालेको छ । यसका साथै भरतपुर, भक्तपुर, ललितपुर, विराटनगर र पोखरामा क्यान्सर रोगको उपचार गर्ने विशेषज्ञ अस्पताल पनि खुलेका छन् । “अस्पतालहरू खुलेसँगै क्यान्सर रोग चिन्ने आँखाहरू विस्तार भएकाले पनि नयाँ बिरामी पत्ता लाग्न थालेको हो”, डा. अमात्य बताउँछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार नेपालमा हुने कुल मृत्युमध्ये ६० प्रतिशतको कारण नसर्ने रोगहरू हुन्, जसमध्ये आठ प्रतिशतले क्यान्सर रोगका कारण ज्यान गुमाउँछन् । डब्लूएचओका अनुसार, सन् २०१५ मा मात्र क्यान्सर रोगका कारण विश्वमा ८८ लाखको मृत्यु भएको थियो ।

क्यान्सरको कारण
सबैथरीका क्यान्सरमध्ये विश्वव्यापी रूपमा फोक्सोको क्यान्सरका बिरामीको संख्या बढ्दो छ । तर, नेपालमा भने पुरुषमा मुख र घाँटीको क्यान्सरका बिरामी बढेका छन् । त्यसपछि फोक्सो र पेटको क्यान्सरका बिरामी पाइएका छन् ।

मुख र घाँटीको क्यान्सरको कारण धूमपान, खैनी जस्ता सूर्तीजन्य पदार्थको सेवन हो । यी व्यक्तिहरूले मद्यपान गरे क्यान्सर रोगको जोखिम झन बढ्छ । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ गरे पनि यस्ता पदार्थहरूको सेवनको दर वर्षेनि बढिरहेको सार्क फेडेरेसन अफ अंकोलोजिष्टका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. गिसुपनिखा पर्सिको बताउँछन् ।

फोक्सोको क्यान्सर बढ्नुमा धूमपानमा अतिरिक्त वायु प्रदूषण पनि दोषी भएको वीर अस्पतालका क्यान्सर रोग विभागका प्रमुख डा. विवेक आचार्य बताउँछन् । डब्लूएचओका अनुसार, नेपालमा ४८ लाख मानिसले सूर्तीजन्य पदार्थ सेवन गर्छन् । जसमध्ये, वर्षेनि १५ हजारले ज्यान गुमाउने गरेका छन् ।

स्तन क्यान्सर भने वंशाणुगत, ढिलो विवाह गर्ने र ढिलो सन्तान जन्माउनेमा बढी देखिन्छ । ३० वर्षपछि विवाह गरेका महिलामा स्तन क्यान्सरको जोखिम बढी देखिएको चिकित्सकहरू बताउँछन् । डा. आचार्य मुलुकका शहरी क्षेत्रमा विकसित देशमा जस्तै स्तन क्यान्सरका बिरामी बढेको बताउँछन् ।

पाठेघरको क्यान्सरमा भने गरीबी, कम उमेरमा विवाह, धेरै सन्तान र सरसफाइमा ध्यान नदिनुलाई मानिन्छ । यो क्यान्सर ह्युमन पापिलोमा भाइरसका कारण हुन्छ । असुरक्षित यौन सम्पर्क र धेरै सन्तान जन्माउँदा पाठेघरको मुखमा चोट लागेर यो भाइरसको संक्रमण बढेमा क्यान्सरको सम्भावना बढ्छ । रोग प्रतिरोधी क्षमता कम हुने र धूमपान गर्नेहरूमा यो समस्या झनै देखिन्छ ।

स्वास्थ्य मन्त्रालयको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलको भनाइमा, क्यान्सर रोगको कारण विषादियुक्त खानेकुराको बढ्दो प्रयोग पनि हो । हुन पनि मुलुकमा विषादियुक्त खानेकुराको खपत व्यापक छ ।

बाली संरक्षण निर्देशनालयको विषादि पञ्जीकरण तथा व्यवस्थापन शाखाको तथ्यांक अनुसार, आव २०७२/७३ मा नेपालमा ५७४.०६ टन विषादि खपत भएको छ । जबकि आव २०५४/५५ मा विषादिको खपत ५६.१७ टन मात्रै थियो ।

उपचारले तन्नम
२०६५ सालमा आफूलाई फोक्सोको क्यान्सर भएको थाहा पाएपछि काठमाडौं, जयबागेश्वरी बस्ने ताराप्रसाद त्रिपाठी (७२) २०६६ मा भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्ष्टिच्यूट एण्ड रिसर्च सेन्टर पुगे । त्यसअघि त्रिपाठीले काठमाडौंस्थित ओम अस्पतालमा १८ साइकल केमोथेरापी लिएका थिए । अहिले क्यान्सर निको भइसकेका उनी उपचारमा मात्र रु.२८ लाख ऋण लागेको बताउँछन् । “क्यान्सर उपचारले हुनेखानेलाई पनि तन्नम बनाउँछ”, उनी भन्छन् ।

क्यान्सरका बिरामीलाई केमोथेरापी, रेडियोथेरापी र सिटी स्क्यानलगायतको विधिबाट उपचार गर्नुपर्ने भएकाले खर्च बढी लाग्ने गरेको छ । उपचारमा थोरै भए पनि राहत होस् भनी स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकलाई आठ प्रकारका रोगको उपचारका लागि रु.१ लाख बराबरको उपचार खर्च प्रदान गर्दै आएको छ । रोगको सूचीमा सरकारले मिर्गौलापछि दोस्रोमा क्यान्सरका बिरामीलाई प्राथमिकता दिने गरेको छ ।

विपन्न नागरिकका नाममा सञ्चालित यो सहयोगअन्तर्गत सरकारले आव २०७३/७४ मा ६ हजार १७८ क्यान्सरका बिरामीका लागि रु.३२ करोड खर्च बेहोरेको थियो । यस बाहेक क्यान्सरका पुराना २ हजार ४६५ बिरामीको उपचारमा पनि रकम खर्चिनु परेको थियो । राष्ट्रपति डा. रामवरण यादवकै पहलमा क्यान्सर उपचारमा महत्वपूर्ण तर महँगो पेट स्क्यान मेशिन खरीदको तयारी थालिएको थियो । तर, चलखेलको आशंकामा गर्नैपर्ने काम रोकियो । एक पटक पेट स्क्यान गर्दाको खर्च करीब रु.७० हजार लाग्छ ।

अहिले सुरिया डायग्नोष्टिकले मुलुकभित्रै पेट स्क्यान मेशिनमार्फत उपचार थालेको छ । तर, यसका लागि आवश्यक फ्लुडिअक्सीग्लुकोज औषधि भारतबाटै आयात हुँदै आएको छ । एक जना बिरामीलाई पाँच एमएल चाहिने यो औषधिको हाफलाइफ दुई घण्टासम्म मात्र हुन्छ । त्यसैले बनेको दुई घण्टाभित्र बिरामीलाई दिन नसके यसको डोज बढाउनुपर्छ । यसो गर्दा पनि यो औषधिको मूल्य बढी पर्छ ।

पटकपटक औषधि ल्याउँदा सहनै नसकिने आर्थिक भार पर्ने भएकाले पनि बिरामी उपचारका लागि भारत जाने गरेका छन् । क्यान्सरका बिरामी विदेशिंदा मुलुकबाट झ्ण्डै वार्षिक रु.५ अर्ब बाहिरिने गरेको अनुमान छ । तर, रोचक त के छ भने फ्लुडिअक्सीग्लुकोज उत्पादन गर्ने मेशिनको मूल्य भने रु.३ अर्ब जति मात्र पर्छ । अहिले यो औषधि जहाजमार्फत नेपाल ल्याइने गरिएको छ । डा. अमात्य सरकारले क्यान्सर रोगको उपचारमा पर्याप्त लगानी गर्न नसकेको बताउँछन् ।

संवेदनाहीन सरकार
सरकार बढिरहेका क्यान्सर रोगीको जीवनप्रति संवदेनशील छैन भन्ने पुष्टि गर्ने एक होइन अनेक उदाहरण छन् । गाउँगाउँ पुगेर रोगी पहिचान गर्ने ‘स्क्रिनिङ सेवा’ त परै जाओस् मुलुकमै पहिलो पटक क्यान्सर रोगको उपचार थालनी गरेको वीर अस्पतालको रेडियोथेरापी मेशिन बिग्रिएकै दुई वर्ष भइसक्यो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा क्यान्सर रोगका विशेषज्ञ चिकित्सकको पढाइ पनि हुन्छ । मेशिन नबनेकै कारण ती चिकित्सकहरू अहिले भरतपुर क्यान्सर अस्पतालमा अभ्यास गरिरहेका छन् । क्यान्सर रोगको उपचार महँगो हुनुमा देशभित्रै उपचारका साधन नहुनु पनि हो, जसमध्ये पनि मुख्य हो– पेट स्क्यान गर्ने (शरीरका कोषिकाहरूमा भइरहेको सूक्ष्मस्तरको सामान्य वा असामान्य क्रियाशीलताको मापन गर्ने) मेशिनको अभाव ।

भरतपुर क्यान्सर अस्पतालका नाक, कान र घाँटीको क्यान्सर रोग विशेषज्ञ डा. अनिलविक्रम कार्की छिमेकी भारतमा क्यान्सर रोग उपचारमा प्रोटोन थेरापी र रोबोट थेरापी भित्रिसकेको तर नेपालमा भने पेट स्क्यान मेशिन समेत नभएको गुनासो गर्छन् ।

त्यसो त मुलुकमा क्यान्सर रोगका विशेषज्ञ चिकित्सकको पनि अभाव छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका क्यान्सर रोगका विशेषज्ञ चिकित्सकको संख्या झ्ण्डै ७० छ ।

क्यान्सर उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालयले आव २०७३÷७४ मा वीर अस्पतालमार्फत रोग पहिचानका लागि निःशुल्क स्वास्थ्य जाँच ‘स्क्रिनिङ’ सेवा प्रदान गर्ने घोषणा गरेको थियो ।

यो कार्यक्रमअन्तर्गत २२ वर्षभन्दा माथिका महिलाको पाठेघरको मुखको जाँच, ५०–७५ वर्ष उमेर समूहको आन्द्रा (क्लोनोस्कोपी) को जाँच, ४० नाघेका महिलाको स्तन जाँच (म्यामोग्राम) र ५० वर्षभन्दा माथिका पुरुषको प्रोस्टेट क्यान्सर जाँच निःशुल्क गर्ने व्यवस्था मिलाइएको थियो । विडम्बना, सर्वसाधारण नागरिकमा यो जानकारी पुग्न सकेन र सरकारले छुट्याएको रु.३० लाख फिर्ता गयो । “शरीरमा क्यान्सर फैलिसकेको अवस्थामा बाँच्ने सम्भावना कम हुन्छ । त्यसैले निःशुल्क स्क्रिनिङको व्यवस्था गरिएको थियो”, वीर अस्पतालका डा. विवेक आचार्य भन्छन् ।

प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा प्रमुख भोगेन्द्रराज डोटेल यस वर्ष पनि विश्व स्वास्थ्य संगठनसँग मिलेर इलाम र कैलाली जिल्लामा स्क्रिनिङ सेवा शुरू गरिसकेको र अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी गरिरहेको बताउँछन् ।


के हो क्यान्सर ?
मानव शरीरमा कोष र वंशाणु (जीन) हरूको असामान्य वृद्धिका कारण क्यान्सर रोग लाग्छ । शरीरमा अंकोजीन र ट्युमर सप्रेसर जीन हुन्छन् । अंकोजीनले क्यान्सर बनाउँछ भने ट्युमर सप्रेसरले क्यान्सर हुन दिंदैन । यस्तो अवस्थामा सामान्य जीन क्यान्सर जीनमा बदलियो भने क्यान्सर रोग लाग्ने सम्भावना हुन्छ । ट्युमर सप्रेसर जीनले काम गर्न नसक्दा पनि क्यान्सर रोग देखिन्छ ।


‘रोग नलुकाऔं’
नेपाली महिलामा सबैभन्दा बढी देखिएको पाठेघरको मुखको क्यान्सरले अभिनेत्री मनिषा कोइरालालाई पनि छाडेन । काठमाडौंस्थित नर्भिक अस्पतालमा पाठेघरको क्यान्सर भएको पत्ता लागेपछि कोइरालालाई ‘अब जीवन सकियो’ जस्तो लाग्यो । 

लगत्तै भारतस्थित टाटा मेमोरियल अस्पताल पुगेकी कोइरालालाई त्यहाँका चिकित्सकले पनि कुनै आशा जगाएनन् । “सिटी स्क्यान रिपोर्ट हेरेपछि डाक्टरले मुख कालो बनाए”, उनी भन्छिन् । त्यसपछि उनी अमेरिकाको न्यूयोर्क पुगिन् । बल्ल उनलाई बाँच्न सकिन्छ कि भन्ने थोरै आशा पलायो ।

चिकित्सकको प्रत्यक्ष औषधोपचारसँगै उनले क्यान्सर रोगविरुद्धका संघर्षका कथाहरू पढ्न, बलियो आत्मविश्वास, सकारात्मक सोच मात्र सँगाल्न थालिन् । अन्ततः लामो उपचार प्रक्रियापछि उनी क्यान्सरमुक्त बनिन् । क्यान्सरलाई जितिन् ।

कोइराला क्यान्सरका बिरामीलाई परिवारको साथ र सहयोग सबैभन्दा अत्यावश्यक भएको बताउँछिन् । “मैले आत्मविश्वास बढाउनु थियो । त्यसैले नकारात्मक कुरा गर्ने कसैलाई भेटिनँ”, उनी भन्छिन् ।

उनी आफ्नो स्वास्थ्य समस्याबारे परिवार र साथीहरूसँग खुलेर कुराकानी गर्नुपर्ने बताउँछिन् । “महिलाहरू लाजका कारण समयमै केही भन्दैनन्, पछिसम्म क्यान्सर फैलिइसकेको हुन्छ” उनको सुझाव छ, “वेलैमा उपचार गर्नु बुद्धिमानी हुन्छ ।”

समयमै गतिलो उपचार पाएर आफू बाँच्न सफल भएको तर आम नेपालीलाई यस्तो उपचार सम्भव नहुने उनलाई पनि थाहा छ । त्यसैले उनी क्यान्सर केयर नेपाल नामक संस्थामार्फत देशका विभिन्न ठाउँमा क्यान्सर रोगबारे जनचेतना र रोग पहिचान गर्ने ‘स्क्रिनिङ सेवा’ सञ्चालन गरिरहेकी छन् ।

“क्यान्सरसँग हारेर जीवनलाई माया गर्न छाड्नुहुन्न, मैले सिकेकै यही हो”, उनी भन्छिन् ।

प्रतिकृया दिनुहोस