डा केसीको अनशन एक साताका लागि स्थगित
स्वास्थ्य क्षेत्रका वेथितिविरुद्ध संघर्षरत डा गोविन्द केसीले आज, ३ असोजदेखि शुरु गर्ने भनेको आमरण अनशन १० असोज सम्मका लागि स्थगित गरेका छन् ।
डा केसीको पछिल्लो (आठौं) आमरण अनशनका तोड्दाका बेला सरकारसँग भएको सहमती कार्यान्वयन गर्ने सरकारबाट लिखित प्रतिवद्धता आएपछि उनले अनशन हालका अनशन लागि स्थगित गरेका हुन् ।
सरकारसँग सहमति हुन नसकेको अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन प्रक्रिया शुरु गर्नुपर्ने मागसमेत व्यवस्थापिका संसदमा १० असोजभित्रै शुरु हुनुपर्ने डा केसीले बताएका छन् ।
“अहिले सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएकोले अनशन एक साताका लागि स्थगित गरेको छु, माग पूरा भएन भने १० असोजदेखि फेरि आमरण अनशन शुरु गर्छु,” आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा डा केसीले भने ।
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार साथीहरु
स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्र सुधारका लागि हामीले लामो अभियान चलाउँदै आएकोमा बारम्बार राज्यसित सम्झौता हुने गरेको यहाँहरुलाई थाहै छ । तर ती सम्झौताको कार्यान्वयन पक्षमा राज्य पक्ष इमान्दार देखिएको छैन।
आठौ सत्याग्रहका क्रममा भएका सम्झौताहरु कार्यान्वयनका हामीले औपचारिक र अनौपचारिक रुपमा विभिन्न तहमा राज्यलाई झक्झक्याउने काम निरन्तर गर्दै आएका छौं । खास गरी हाम्रा मागहरु संसदसग प्रत्यक्ष रुपमा सरोकार राख्ने भएकोले, विभिन्न राजनीतिक दलका नेताहरु तथा सांसदहरुसग हामि सम्बादमा छौ ।
पटक पटक दिइने आस्वासनका बाबजुद, राज्यले सम्झौता कार्यान्वयनमा आलटाल गर्न थालेपछि आज असोज ३ गतेदेखि पुनः आमरण अनशनलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका थियौं ।
यसैबीच आजकै दिन नेपाल सरकारका तर्फबाट लिखित रुपमा सम्झौताका ४ मध्ये तीन बुँदाहरु कार्यान्वयनको खाका प्रस्तुत गरिएकाले त्यस दिशामा काम गर्नका लागि थप केही समय दिन उचित ठहर्याएकाले आज शुरु हुने भनिएको आमरण अनशन कार्यक्रम एक हप्ता पछिलाई सारेको जानकारी गराउँछु ।
यही असोज १० गतेसम्म लिखित प्रतिबद्धता बमोजिम सम्झौता कार्यान्वयन गर्ने तथा यस प्रतिबद्धतामा नपरेको अदुअआ प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने प्रक्रिया संसदबाट अघि बढाउने काम भएनन् भने सोही दिन अपरान्ह ४ बजेदेखि पुनः घोषित नबौ आमरण अनशन बस्ने कुरा पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछु ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज