सम्पादकीयआइतवार, कार्तिक १९, २०७४

हीनताबोध होइन, सफलतामा टेक

किरण नेपाल

निर्वाचनमा मतदातालाई आकर्षित पार्न विभिन्न नारासँगै आफ्नै भाष्य (न्यारेटिभ) बाट लहर ल्याउने प्रयत्न हुन्छ । कांग्रेस र वाम गठबन्धनबाट अभिव्यक्त पछिल्ला संकथनहरू त्यसकै उदाहरण हुन् ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन मिति नजिकिंदै जाँदा राजनीतिक दल, तिनका नेता र प्रत्यासीहरूको नागरिकसँगको संवाद बाक्लिंदो छ ।

मतदाताको ध्यानाकर्षणका लागि उनीहरूले आमसञ्चारदेखि सामाजिक सञ्जालसम्मका कुनै माध्यम छाडेका छैनन्, जसमार्फत आफ्नो प्रसार होस् ।

बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा आवधिक निर्वाचन त्यस्तो विन्दु हो, जहाँ दल–नागरिक संवाद उच्चतम तहमा पुग्छ । र, संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो आम निर्वाचन भएकाले पनि अहिले यस्तो संवाद चुलिएको छ ।

यो संवादभित्रको ‘कन्टेन्ट’ भने बीभत्स तवरले विकसित हुँदैछ । देशका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको चुनावी प्रतिद्वन्द्वितामा व्यक्तिगत आक्षेपदेखि असंगत सैद्धान्तिक प्रहार शुरू भएको छ ।

कांग्रेसले लगाएको ‘कम्युनिष्ट अधिनायकवाद’ को आक्षेप होस् या वाम गठबन्धन स्वयम्को ‘कम्युनिष्ट सरकार’ को चुनावी भाष्य– यसकै दृष्टान्त हुन् ।

निर्वाचनमा मतदातालाई आकर्षित पार्न विभिन्न नारासँगै आफ्नै भाष्य (न्यारेटिभ) बाट लहर ल्याउने प्रयत्न हुन्छ । कांग्रेस र वाम गठबन्धनबाट अभिव्यक्त पछिल्ला संकथनहरू त्यसकै उदाहरण हुन् । तर, यस्ता भाष्य अगाडि सारिरहँदा दुवै पक्षले नागरिक चेतनाप्रति बेवास्ता र हिजो आफैंबाट भए–गरेका कार्यहरूमाथि नजरअन्दाज गरेका छन् ।

नेपालमा वाम मोर्चाबन्दीको सहजकर्ता नेपाली कांग्रेस नै हो । वामपन्थीहरूलाई दशकौंसम्म ‘कम्युनिष्ट अधिनायकवाद’ को चश्माले हेरेको कांग्रेसले २०४६ सालमा ‘वाममोर्चा’ सँगको सहकार्यमा पञ्चायतविरुद्धको आन्दोलनको अगुवाइ गर्‍यो । नेकपा (माले) र नेकपा (माक्र्सवादी) लगायतका तत्कालीन प्रमुख वामशक्तिको मोर्चा आन्दोलनमा कांग्रेसको सहयात्री बनेको थियो ।

अनेक चिरामा विभक्त वामपन्थीहरूसँग ‘डिल’ भन्दा एउटा वामशक्तिसँगको सहकार्य सहज हुने कांग्रेस नेतृत्वको चाहनाले त्यो सम्भव भएको थियो ।

‘प्रजातन्त्रका लागि वाममोर्चा आवश्यक’ भन्दै कांग्रेस नेता गणेशमान सिंहले वाममोर्चा गठनको वातावरण बनाएबाट विचार र सिद्धान्तबाट अँचेटिएर अनेक चिरामा रहेका कम्युनिष्ट पार्टीहरूलाई पञ्चायतविरुद्ध मोर्चाबद्ध हुन दबाब पुगेको थियो । र, पछि तीमध्येका दुई नेकपा माले र नेकपा मार्क्सवादीबीचको एकीकरणबाट नेकपा (एमाले) बन्न पुग्यो ।

त्यसवेला मोर्चामा नसमेटिएका अन्य कम्युनिष्ट पार्टीहरू पनि समयक्रममा अनेक टुटफुट, एकता र कार्यनीतिको अनुभव गर्दै अहिले संसदीय लोकतन्त्र अपनाउन आइपुगेका छन् । तिनमा पनि उल्लेख्य नेकपा (माओवादी केन्द्र) निर्वाचनका निम्ति अहिले एमालेसँगको गठबन्धनमा छ– एउटै पार्टी बनाउने लक्ष्यसहित ।

यो वाम गठबन्धन त्यो लक्ष्यमा पुग्ला/नपुग्ला, समयले बताउनेछ । तर, संसदीय प्रजातन्त्रभित्रै आफ्नो राजनीति सुरक्षित छ भनेर तीन दशकदेखि यो मूल्यमान्यतामा खरो उत्रिंदै आएको एमाले र ‘सर्वहाराको अधिनायकत्व’ को नाममा गरेको हिंसात्मक विद्रोह असफल भएर संसदीय प्रजातन्त्र अँगाल्न आइपुगेको माओवादी केन्द्रबीचको तालमेलमा कांग्रेसको आपत्ति बुझिनसक्नु छ ।

यो प्रकरणमा कांग्रेस आफैंले नेपालका कम्युनिष्ट पार्टीहरूको लोकतन्त्रीकरणमा हिजो गरेको श्रमको अवमूल्यन गरिरहेको देखिन्छ ।

‘कम्युनिष्ट अधिनायकवाद’ को भय देखाएर भोट माग्न खोजेको हो भने पनि उसले आफ्नै जीवनको त्यो महत्वपूर्ण लक्ष्य बिर्सेको छ– भयरहित समाज सिर्जना ।

सेनाको सहयोगमा राजाले लादेको तानाशाही होस् या सत्तामा पुगेपछि माओवादीले गरेको त्रासदीपूर्ण सत्ताभ्यास– नेपाली जनता ती दुवै अवस्थाविरुद्ध निर्भीकतापूर्वक लडे । चुनावी लहर ल्याउने नाममा नागरिक तहलाई भयग्रस्त बनाउन खोज्नु त्यो निर्भीकता र चेतनाको उपहास हो ।

अर्कोतर्फ, कांग्रेस नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रसँग निर्वाचनको मुखैमा प्राप्त चुनावी तालमेलको सफलतामा गठबन्धन पक्षधरहरू यति हौसिएका छन् कि उनीहरू मुलुकमा दशकौंसम्म ‘कम्युनिष्ट शासन’ चल्नेसम्मका अभिव्यक्ति दिन थालेका छन् ।

गठबन्धनका नेताहरूका सार्वजनिक अभिव्यक्तिबाट लोकतन्त्रको मुख्य खम्बाका रूपमा रहेको आवधिक निर्वाचन, जनताको प्रतिनिधि चुन्ने अधिकारलगायत व्यवस्थाप्रति उपेक्षा भइरहेको छ ।

अहिले निकाल्न खोजिएको कम्युनिष्ट शासनको भाष्यले आजसम्मको लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरूको अवहेलना गर्छ । बृहत् नागरिक सहभागितासहित भएका आन्दोलनहरूको गन्तव्य कम्युनिष्ट शासन नभई लोकतन्त्र हो, जो क्रमिक विकासमा अगाडि बढ्छ ।

मुलुकका प्रमुख दुई शक्तिसँग मतदाता आकर्षित गर्ने अर्को विषय नभएपछि निर्वाचनको मुखमा गलत भाष्यसहित पेश भइरहेका बुझ्न सकिन्छ ।

संक्रमणकालभर चलेको दलीय सिण्डिकेट, त्यसले निम्त्याएका राजनीतिक दुर्घटना, जनजीविकाका सवालहरूप्रतिको उपेक्षा र आन्दोलनका उपलब्धि संस्थागत गर्न भएको ढिलाइका कारण नागरिक तहमा चुलिएको अविश्वासबाट पार पाउन उनीहरू असामान्य भाष्यको सहारा लिंदैछन् ।

जबकि, गृहयुद्धमा रहेको मुलुकलाई शान्तिप्रक्रियामा डोर्‍याउँदाको सफलता, राजसंस्थालाई विदाइ, संविधानसभाबाट संविधान जारी जस्ता युगान्तकारी परिघटनाहरू उनीहरू अब्बल भएको देखाउन काफी छन् ।

प्रमुख तीन दलले यस्ता जसहरू बाँड्दै मुलुकलाई दिनसक्ने थप उपलब्धिहरूमा प्रतिस्पर्धा गर्नुपर्ने हो, व्यवस्था परिवर्तनपछिको पहिलो आम निर्वाचनमा । तर, उनीहरू समृद्धिकेन्द्रित देखिए पनि देशलाई उँचाइतिर लैजाने आत्मविश्वास जगाउन असफल छन् ।

दलहरूको विडम्बनापूर्ण यो अवस्थालाई नागरिकले मतपत्रमार्फत ‘ट्र्याक’ मा ल्याउने नै छन् । नागरिकको चेतना, निर्भीकता र हिजो आफ्नै सक्रिय सहभागिताबाट प्राप्त उपलब्धिहरूको सम्मान गर्दै यो वा त्यो गठबन्धनमा सहभागी दलहरूले गलत भाष्यको सहारा त्याग्नु सबैको हितमा हुनेछ ।

दलहरूले हेक्का राखून्– यही भाष्य बोकिराख्नु उनीहरू स्वयम्का लागि ‘बाघको सवारी’ सरह हुनेछ ।

 

प्रतिकृया दिनुहोस