कला/साहित्यशनिवार, कार्तिक १८, २०७४

मेघालयमा ‘कोइला काट्दै’

कनकमणि दीक्षित

नेपाल राज्यको ७० वर्षको असफलता हो, नागरिकले जीवनयापनको लागि परदेशमा यति कष्टकर मजदूरी गर्नु परिरहनु ।

पूर्वोत्तर भारतको कोइला खानीमा कोइला काट्दै निशान्त राई, इन्सेटमा सुरज राई ।

नेपालीहरू देशबाहिर काम गर्न जाने क्रमसँग परिचित नै छौं हामी– पहिले लाहुरे पल्टन, या भारतमा चौकीदारी, रेस्टुरेन्ट मजदूरी, ‘कालापहाड’ मा सडक मजदूरी, पञ्जाब/हरियाणामा कृषि मजदूरी, कोठीहरूमा शोषित महिलाको जमात अनि खाडी र मलेशियामा खुलेका अनेक थरी नयाँ रोजगारी ।

पूर्वोत्तर भारतको मेघालय राज्यको कोइलाखानीमा काम गर्ने पूर्वी पहाडका नेपालीहरूबारे पनि हामीले सुनेका छौं, तर धेरै जानेका भने छैनौं । यसैकारण हालै फिल्म साउथएशिया वृत्तचित्र महोत्सवको ‘ओपनिङ फिल्म’ ले बढी महत्व राख्यो ।

बैंगलोर निवासी चन्द्रशेखर रेड्डीले केही वर्ष लगाएर बनाएको ‘फाएर फ्लाईज् इन् द एबिस’ वृत्तचित्रले सूक्ष्म र संवेदनशील हिसाबले ‘कोइला काट्ने’ नेपालीको जीवनको चित्रण गरेको छ । बिरानो देशमा एकआपसको आत्मीयताबाट थुपारेको शक्तिले मेघालयको त्यो मनोरम भू–सतह मुनि सुरुङभित्रको दर्दनाक कष्टलाई सह्य बनाउँछ ।

मेघालयका गाउँहरू जमीनमुनिको कालोधन माथि आधिपत्य जमाउन एकआपसमा लड्दैछन् । यहाँ मजदूरी भने बाङ्लादेशी र नेपालबाट आएकाहरूले गर्छन् । यस्तो काम अरु समूहकाले गर्दैनन् ।

आखिर ‘सप्लाई एण्ड डिमाण्ड’ न हो मजदूरी, जसको अरु कुनै विकल्प छैन उसले मात्र कोइलाखानीको त्यस्तो एक्लो, यातनायुक्त र खतरनाक काम गर्दछ । सतहमा मेघालयका होचा पहाड, जंगल र चौरहरू अति नै रमणीय छन् । तर जताततै चारपाटे खाडलहरू भेटिन्छन् । अलि होशियारीका साथ हिंडेन भने सीधै १००–२०० फिट तल खस्ने अवस्था रहन्छ ।

फलेक र पाइपका भर्‍याङबाट गहिराइमा पुगेपछि अर्कै संसार भेटिन्छ । निधारमा सानो टर्च बालेर तीन फिटजति अग्लो र चार–पाँच फिट चौडाइको सुरुङभित्र छिर्‍यो, आफू पछि–पछि त्यो सुरुङमा ‘फिट’ हुने दुईपाङ्ग्रे काठको गाडा घिसार्दै ।

निस्सासिंदो त्यो अन्धकारमा २००–४०० फिट भित्र पसेर साँघुरो ठाउँमा पल्टी–पल्टी पिकले कोइला कोतर्‍यो, त्यसलाई सुती–सुती सावेलले गाडामा भर्‍यो, घिसार्दै सुरुङको मुखमा ल्यायो अनि कोइलाको थुप्रो डोकोमा सार्‍यो, बोकेर माथिसम्म पुर्‍यायो ।

यस्तो परिश्रम स्क्रिनमै हेर्न पनि गाह्रो हुन्छ ।

बिरानो देशको कष्टकर जीवनलाई सह्य बनाउन जुवातास र मदिरामा कतिले आर्जेको पैसा गुमाउँछन् । कसैले एउटा नेपाली दम्पतीकहाँ खाना खाने गरेर अलिकति पारिवारिक माहोल बनाउँछन् ।

केटो सुरज राई अंग्रेजी पढ्न भागेर अर्को बस्तीमा जान्छन् । त्यहाँ उनलाई पढाउने जिम्मा नचिनेका कोइला मजदूरले लिन्छन्, “हामीले त पढ्न पाएनौं, यसले पढोस्.... !”

अर्का छन्, सुरुङभित्र घिस्रिंदै गरेका कोइलाले कालाम्मे निशान्त राई । उनी माथि सतहमा आएर जब नुहाएर कपडा फेर्छन्, उनको जीवनको अर्को पाटो उजागर हुन्छ । फोटोग्राफीमा रुचि भएका निशान्त आफ्नो सोखले कोइलाखानीका मजदूर र परिवारहरूको तस्वीर खिच्छन् । उनको आकांक्षा छ– नेपाल फर्केर आफ्नी ‘सपनाकी रानी’ लाई बिहे गर्ने, एउटा फोटोग्राफी स्टुडियो खोल्ने र पछि फिल्ममेकर बन्ने ।

निशान्तका एकजना दाइ छन् त्यहीं काठमाडौंमा फिल्म अभिनय पनि गरिसकेका गायक । उनलाई पनि नियतिले त्यहाँ कोइलाखानीमा पुर्‍ यायो । यहाँ मजदूर बनेपछि उनको कपडा, अनुहार, हातहरू सबै कालो । तर, उनी गितार पनि फिट्छन्– ‘चिसो चिसो हावामा, यसै मन बरालिन्छ.... ।’

ऐतिहासिक कालको कुरा नगरौं, नेपालको आधुनिक युग शुरु भएको अहिले सात दशक पुग्न लाग्यो । यो आधुनिक राज्यको असफलता हो कि सुरज, निशान्त जस्ता ठूला–साना उमेरका नागरिक कहालीलाग्दो मजदूरी गर्दैछन् विदेशमा । आफ्नो मुलुकमा मनग्गे प्राकृतिक स्रोतसाधन हुँदाहुँदै राजनीतिक र भूराजनीतिक पासोले अन्यत्र जानु प¥या छ, आजैसम्म ।

‘फाएर फ्लाईज् इन् द एबिस्’ काठमाडौंमा एक–दुई वृत्तचित्र महोत्सवमा मात्र होइन मुलुकभरका सिनेमा हलहरूमा देखाइनुपर्छ ताकि राजनीतिक दल र तिनका शीर्षस्थहरूलाई आत्मचिन्तन गर्ने मौका मिलोस् । र, बाँकी हामीले राजनेतालाई प्रश्न गर्न र हामी आफैंले आत्मसमीक्षा गर्ने अवसर जुटोस् ।

फिल्म निर्माता चन्द्रशेखर रेड्डीका अनुसार सुरज राई अझै कोइला काट्दैछन्, त्यहाँ । उनी नेपाल आएर काम गर्न चाहन्छन् रे ! निशान्त राई काठमाडौं उक्लिए भन्ने सुनिएको थियो, तर फेरि खबर आयो उनी त मलेशिया पुगे रे !

उनले कुनैवेला फर्केर कोइलाखानीमा मजदूरी गर्नेहरूको फोटो प्रदर्शनी काठमाडौंमा गरुन्, नेपालमै स्टुडियो खोलुन् र आफ्नी ‘सपनाकी रानी’ सँग सुखमय जीवन बिताउन् ।
-----------------

‘फाएर फ्लाईज् इन् द एबिस’ दक्षिण एशियाली चलचित्र महोत्सवमा १९ कार्तिक दिउँसो १:३५ बजे यलमाया केन्द्र पाटनमा प्रदर्शन हुँदैछ । - हिमालखबर

 

प्रतिकृया दिनुहोस