ब्लगशनिवार, कार्तिक १८, २०७४

गर्भावस्थामा मूत्रनली संक्रमण

डा. सुमनराज ताम्राकार

गर्भावस्थामा व्याक्टेरियाबाट हुने संक्रमणमध्ये सबभन्दा बढी मूत्रनलीमा हुन्छ, जसको कुनै लक्षण नदेखिन सक्छ।

गर्भवती महिलामध्ये करीब ८ प्रतिशतलाई मूत्रनलीको तल्लो वा माथिल्लो भागमा संक्रमण हुन्छ । गर्भावस्थामा मूत्र प्रणालीमा आउने परिवर्तनका कारण पनि पिसाब नलीमा संक्रमण हुन सहयोग पुग्छ । यस्तो संक्रमण÷सुजन मूत्रथैली, बाह्य मूत्रनली र मिर्गौलामा पनि हुन सक्छ । 

महिलाको पिसाब नलीको लम्बाइ ४ सेन्टिमिटर (पुरुषको तुलनामा छोटो) र मलद्वार नजिक हुन्छ । यस कारण पनि महिलामा पिसाब नलीको संक्रमण बढी हुन्छ । महिलाको पिसाब थैलीको क्षमता ५०० मिलिलिटर भए पनि ३५० मिलिलिटर पिसाब जम्मा भएदेखि नै पिसाब गर्न मन लाग्ने हुन्छ ।

परिवर्तन र संक्रमण
सबभन्दा बढ्ता पिसाब नलीको संक्रमण ‘इ कोलाई’ व्याक्टेरियाले गराउँछ । अन्य बेलामा भन्दा गर्भावस्थामा यो व्याक्टेरियाको संख्या बढ्छ । गर्भावस्थामा पिसाब राम्ररी ननिख्रिने कारण पनि पिसाब नलीमा संक्रमण बढी हुन्छ । पिसाबमा ग्लुकोजको मात्रा बढ्ने कारणले पनि पिसाब नलीको संक्रमण हुने सम्भावना अधिक हुन्छ ।

गर्भवतीलाई छिटा–छिटो पिसाब लाग्छ । भ्रूणमा भएको वृद्धिसँगै बढिरहेको पाठेघरले थिचिने, पिसाब नली खुकुलो हुने, बढ्ता पिसाब उत्पादन हुने, पिसाब थैलीमा रक्तप्रवाह बढ्ने जस्ता कारणले यस्तो हुन्छ । गर्भावस्थाको अन्त्यतिर गर्भे शिशुको टाउकोले पिसाब थैली थिचिने हुनाले झ्न् छिटो–छिटो पिसाब लाग्छ । पिसाब पनि ४०–५० प्रतिशतसम्म बढी उत्पादन हुन्छ । पिसाबबाट प्रोटिन र एल्बुमिन खेर जाँदा गोडा सुन्निन्छन् ।

गर्भवती महिलामध्ये दुईदेखि १४ प्रतिशतलाई पिसाबमा संक्रमण हुन्छ । कीटाणुले मूत्रनलीको तल्लो भागमा बढी असर गर्छ । माथि नै भनियो, धेरैजसोमा त्यसको लक्षण देखिंदैन, परीक्षणबाटै थाहा पाउने हो । छिटो–छिटो थोरै पिसाब आउनु, रातो देखिनु, पिसाब गर्दा पोलेको अनुभव हुनु आदिलाई लक्षण मानेर परीक्षण (कल्चर) गराउनु बुद्धिमानी हुन्छ ।

गर्भकालको मूत्रनली संक्रमण सामाजिक–आर्थिक अवस्थाका साथै कतिऔं पटक गर्भ रहेको हो भन्नेमा पनि भर पर्ने हुन्छ । यसमा बेवास्ता हुँदा पिसाब थैली र यसलाई ढाक्ने झ्ल्लिीमा संक्रमण हुन्छ । यस्ता संक्रमणमध्ये ९० प्रतिशतमा ‘इ कोलाई’ को भूमिका हुन्छ । समयमै पूर्ण उपचार नगराउँदा यस्तो संक्रमणले गर्भावस्थासँग सम्बन्धित उच्च रक्तचाप, रक्त अल्पता, महीना नपुग्दै बेथा लाग्ने र कम तौलको बच्चा जन्मिने हुन्छ । यसखाले समस्यामा गर्भावस्थाको बाँकी अवधिभर एकखाले प्रतिजैविक औषधि चाहिन्छ ।

मूत्रथैली र मिर्गौला संक्रमण
महिलाको मूत्रथैली योनीमार्गको अगाडिपट्टिको भित्तासँग जोडिएको हुनाले विवाहपछिको यौन गतिविधिका कारण पिसाब थैलीमा संक्रमणको सम्भावना बढी हुन्छ । यसलाई मेडिकल भाषामा ‘हनिमून सिस्टाइटिस’ भनिन्छ ।

गर्भावस्थामा मूत्रथैली वा बाह्य मूत्रनलीमा संक्रमण सरेर माथिल्लो भागको पिसाब नली वा मिर्गालौमा पनि संक्रमण÷सुजन हुन सक्छ । गर्भवती महिलामध्ये करीब दुई प्रतिशतमा यस्तो समस्या देखिएको छ । मिर्गौला वा यसको झ्ल्लिीमा संक्रमण/सुजन हुँदा एक्कासी कामज्वरो आउने, कोखा दुख्ने, खान मन नलाग्ने, वाक्वाकी लाग्ने, कम्मरको दुखाइ तिघ्रातिर सर्ने हुन्छ । यो समस्यालाई पिसाबको साधारण जाँचबाट निदान गर्न सकिन्छ । कमै केसमा रगतको कल्चर, अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गर्नु परेको छ ।

यो समस्या भएका गर्भवतीमा रक्तअल्पता पनि हुन सक्छ । रक्तअल्पताबाट ग्रसितमध्ये २० प्रतिशतको मिर्गौलाकोे कामगराइमा बाधा पुगेको पाइएको छ । यस्तो समस्या पहिचान भएपछि अस्पताल भर्ना गरेर नसाबाट एन्टिबायोटिक औषधि र स्लाइन दिनुपर्ने हुनसक्छ । अमेरिकामै पनि करीब चार प्रतिशत गर्भवती यो समस्या भएर अस्पताल भर्ना हुन्छन् ।

औषधोपचार पूरा भएका ३० देखि ४० प्रतिशतमा यो समस्या दोहोरिरहन सक्छ । त्यसैले एक कोर्स प्रतिजैविक औषधि पूरा भएपछिको एक–दुई हप्तापछि पिसाब जाँच दोहोर्‍याएर गर्नुपर्छ ।

गर्भावस्थामा पत्थरी
करीब ७ प्रतिशत महिलाले जीवनकालमा मिर्गौला वा पिसाब नलीमा पत्थरीको समस्या भोगेका हुन्छन् । पिसाब नली संक्रमणले पत्थरीको सम्भावना बढाउँछ । मिर्गौला वा पिसाब नलीको पत्थरीले गर्भपतन हुने तथा महीना नपुग्दै बेथा लाग्ने सम्भावना बढाउँछ । तर, गर्भावस्थामा पिसाब नली फुलिने हुनाले पत्थरी कमै बन्छ । गर्भावस्थामा धेरै एक्स–रे र मिर्गौलाका काम हेर्ने विशेष एक्स–रे (आईभीपी) गर्न नमिल्ने भए पनि अल्ट्रासाउण्डबाट ६० प्रतिशत पत्थरीको समस्या पत्ता लाग्छ ।

गर्भावधिको आधारमा पत्थरीको उपचार विधि निक्र्योल गरिन्छ । गर्भावस्थामा करीब दुई प्रतिशत महिलाको मात्र पत्थरी निकाल्न शल्यक्रिया गर्नुपरेको छ । धेरैजसोलाई पानी बढी खाने, पिसाब निखार्न पाइप राख्ने, कल्चरको रिपोर्ट अनुसार उपयुक्त प्रतिजैविक औषधिलगायतका साधारण उपचारबाटै सुधार हुन्छ । पिसाब नलीमा अवरोध, कडा पीडा वा अधिक रक्तस्राव हुँदा दूरबिनको माध्यमबाट पत्थरी निकालिन्छ । पत्थरी रोकथामका लागि पानी धेरै र नून कम खाने गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस