ब्लगशनिवार, कार्तिक १८, २०७४

हलेसीका चार अभिलेख (इतिहास)

ज्ञानमणि नेपाल

हलेसीमा सेनदेखि शाहसम्मका राजाहरूले गुठबिर्ता दिएका अनेक अभिलेख पाइन्छन्।

नेपालको पूर्वाञ्चलका कहलिएका चारधाम भनेका बराहक्षेत्र, रामधुनी, पिण्डेश्वर र सतासी हुन् । भारतका ठूला धाम जान नसक्नेहरू यिनै देवस्थलको यात्रा गरेर चित्त बुझाउँथे ।

वर्षेनि कात्तिक शुक्लपक्षमा बराह क्षेत्रको मेला भर्न पहाड र तराई–मधेशदेखि भारतसम्मका मानिसको ठूलो घुइँचो हुन्थ्यो । चतरा मठमा सयौं जोगी सन्न्यासीको अखडा जम्थ्यो ।

प्रजातन्त्रोत्तर कालमा चतरामठको सदावर्तको केही अंश झिकेर विजयपुरको पिण्डेश्वर संस्कृत महाविद्यालय सञ्चालित भएको हो । 

मध्य पहाडभित्र माझ्किरातमा प्राचीनतम प्रसिद्धि पाएको अर्को ठूलो तीर्थधाम खोटाङको हलेसी महादेवस्थान छ । अघि भागलपुरको विक्रमशिला बौद्ध महाविद्यालयबाट भोट आवतजावत गर्ने भिक्षुहरू यही हलेसी हुँदै नाम्चेको बाटो रोज्दथे ।

प्रसिद्ध तान्त्रिक आचार्य पद्मसंभव यही बाटो नेपालदुन निस्केर भोट गएका थिए । उनले केही समय हलेसी गुफामा बसी तपस्या गरेकाले बौद्धहरू पनि हलेसीलाई ठूलै तीर्थस्थल मान्दछन् । उनीहरूले मारातिका भन्ने हुँदा हलेसीलाई शिव–बुद्धधाम भन्दा हुन्छ ।

हलेसीबारे किरातीहरूको आफ्नै धार्मिक व्याख्या र आस्था छ । यसरी हलेसी हिन्दू, बौद्ध र किरात आस्थाको संगमस्थल बन्न पुगेको देखिन्छ ।

आदिकालदेखिको यस हलेसी गुफालाई लिएर एउटा अर्को पौराणिक कथा छ । त्यसअनुसार, वृकासुर दैत्यले तीन–त्रिलोक राज गर्ने इच्छाले महादेवको कठोर तपस्या गर्‍यो । महादेव पनि खुशी भएर वरदान दिने भए ।

दैत्यले ‘जसका शिरमा हात राख्छु, त्यो शिर फुटेर भष्म होस्’ भन्ने वर माग्यो । महादेवले विचारै नगरी ‘तथास्तु’ भनिदिए । वर पाउने वित्तिकै उसले महादेवलाई नै मारेर पार्वती लान्छु भनी मनमा पाप चितायो र शिर भष्म पार्ने विचारले हात उठायो ।

आफैंले दिएको वरले आफैंलाई सिध्याउन लागेको बुझी महादेव पार्वतीका साथ साँढेमा चढेर दगुरे । भाग्दै सगरमाथा तल पञ्चकोशी माथिको पाखामा दुलो पारेर डाँडाभित्र पसे । भित्रभित्रै डाँडामाथि निस्किएर फेरि अर्कोतिर डाँडालाई भ्वाङ्ग पारी भित्र पसेर लिङ्ग रूपमा बसी पार्वतीलाई भित्तामा राखे ।

वृकासुर अलमलियो । त्यसैवेला वटुब्रह्मचारीको रूप लिएर विष्णु उसको अघिल्तिर प्रकट भई भने, “हे दैत्यराज, किन यसरी धपेडी गर्दै दगुरेको ? आजकाल अधिक गाँजाभाङ खाने महादेवको बोली पुग्दैन । यति ठूलो दैत्यराज विचारै नगरी त्यसै कुद्नुभन्दा परीक्षणको लागि एकपटक आफ्नै शिरमा हात राखेर हेर न ।”

अलमलिएको दैत्य ब्रह्मचारीले भने अनुसार हात शिरमा राख्नासाथ शिर फुटेर भष्म भयो । अहिले पनि त्यतातिर सेता, चिल्ला ढुंगाहरू (दैत्यका हाड) छरिएका देखिन्छन्, जसलाई टेकेर यात्रुहरू पापमोचन गर्छन् ।

हलेसीको अद्भुत प्राकृतिक गुफामा शिव आफैं बसेकाले यसको नाम हरेश्वर भयो । यसैको नेपाली रूप हलेश्वर हुँदै हलेसी भयो ।

हलेसीका महादेवले चिताएको कुरा पुर्‍याइदिन्छन् भन्ने विश्वासले भाकल गर्ने जनसमूह ठूलो छ । पर्वहरूमा, त्यसमा पनि विशेष गरेर बालाचतुर्दशीमा शतबीज छर्ने र शिवरात्रिमा जाग्राम बस्नेको घुइँचो लाग्छ ।

रुद्री पाठ–पूजा गर्ने असंख्य हुन्छन् । मेला भर्ने र मालसामान किनबेच गर्नेहरूको उत्तिकै घुइँचो हुन्छ ।

मैले नेपाल निरुक्त मा पनि हलेसीको विशद् वर्णन गरेको छु । हलेसीमा जोगी–सन्न्यासी, महन्त–पुजारीले सेनदेखि शाहसम्मका राजाहरूबाट गुठबिर्ता पाएका अभिलेख धेरै छन् । यहाँ साना चार अभिलेखका पत्र दिएको छु–

पहिला सेन राजाले हलेश्वर–हरेश्वर–हलेसी महादेवको लागि घडेरी, पाखोबारी र फूलबारी दिएका छन् । दैनिक पूजाको लागि लाखुखेत १०० मुरी र बेलबोटे ४० मुरी गरी १४० मुरी माटोको दुई खला खेत गुठी राखिएको छ ।

अरू तीन पत्र शाह राजाका पालाका हुन्– रणबहादुर र उनका भाइ शेरबहादुरले गरिदिएका । तीमध्ये पहिलो पत्रमा केही रकम मिनाहा गरी हलेसी महादेवलाई सरकारको जय मनाई वर्षको एकफेर लाखपाती चढाउने र ग्रामवासीलाई बेठीबेगार सबै माफ गरिएको छ ।

दोस्रो पत्रमा लाखपाती चढाएवापत त्यहाँका जनताबाट उठेको दण्डको रकम आधी लिने आधी अड्डामा बुझाउने भनिएको छ ।

तेस्रो पत्रमा पहिले उठेको बाँकी र हाल उठेका गादी मवारख रकमले तावाँको बैठक बनाई महादेवलाई चढाउने भन्ने छ । यो पत्र चाहिं जर्नेल भीमसेन थापाको हो ।

हलेसी महादेवस्थान, खोटाङ ।
सेन राजाले दिएको गुठजगाको मोहरको मजबून

श्री ४ हलीसि महादेउलाई घड्यारी फुलबारी सल्यानी डाडो माल्खु घड्याडिका किलापूर्व चावलको काभ्रय भन्ज्यान् पछिउ कातिक्या खोल्सो पहरो दरधुँखोल्सो दखिन मुलतुम् पध्यारो एति चारकिला भित्रको जगा छ. लाखु खेत मुरि १०० बेलबोट्या मुरि ४० (खार्पाका चन्द्रमणि पोखे्रलबाट प्राप्त चौरासीकुशको लगतबाट)

रणबहादुर शाहले मनोरथ अचार्जलाई लाखपाती चढाउन बेठबेगार मिनाहा गरिदिएको लालमोहर

छाप

श्रीदुर्गा भवानी

स्वस्ति श्रीमहाराजाधिराजकस्य रुक्का

आगे मनोरथ अचार्जके

मझुवा हलेसीमा लाखपाती चह्राउनाकन गाउकुरिया बस्न्याकन बेठबेगार हुलाक साउन्या फागु उघाउनी पघाउनी माफ गरिबक्स्यौं आफ्ना खातिर जामासँग देवताको पूजा गर सदा सर्वदा आशिर्वाद दिन्या गर इति संवत् १८४७ साल चैत्र वदि १२ रोज ४ शुभम्

(पीठमा) रुजु रणजित पाडे

चौ. शेरबहादुर शाहले मनोरथ अचार्जलाई लेखेको पत्र

श्रीदुर्गा

आगे मनोरथ अचार्जके तम्रा बिर्तामा तम्रा भाइ कुरियाले हलेसी मझबाका श्री ६ महादेवलाई वर्षको १ बेर सर्कारको हुदो (चिताई) लाखपाति चह्राउनु तम्राभाइ कुरियालाई झरा वेठबेगार

उघाउनि पघाउनि सव मारिमेटि सर्कारबाट मोहर गरिबक्सको रहेछ. तम्रा भाइ कुरियाको दण्डकुण्ड भयाकामाको आदि (आधी) खोटांग दाखिन गर्नु आदि लाखपाति चह्राउँदा श्री ६ महादेवका काममा लाउनु.

इति संवत् १८५४ साल फाल्गुन सुदि २ रोज ५ शुभम्

हलेसी महादेवमा तामाको बैठक बनाई चढाइदिने आदेश

हलेश्वर

सं. ७४ सा.आ.सु.२ रोज २

जनरल काजीबाट बहादुर थापा गंजसीं के

जेष्ठ सुदी २ को पत्र आयो. अर्थ मानुमभयो. उप्रांत हलेसीका ‘हलेश्वर’ गुठमा अघी दुइ रकमले अंम्को अम्को कुरा बनाई ‘हलेश्वर’ मा अर्पन भयाको रहेछ. बैठक बनाउनालाई चुमावनका आमदानीमा दसखत भै तावो खरीद गरी जगेरा रह्याको रहेछ, ठेगाना गरी उत्तरा आया बढिया होला भनी लेख्याका अर्थ ‘हलेश्वर’ का गुठीमा अघिको रकम ‘हलेश्वर’ का प्रीती भयाको रहेछ येस पाला लाग्याको गादीममारख पनि गुठी जति असुल हुन्छ सो र रह्याको तावासमेत जम्मा गरी ‘हलेश्वर’ बैठक सर्कारतर्फबाट बनाई चढाइदिन्या काम गर्नु. शुभम्

(बिर्तावारकै वंशज खोटाङ फूलबारीका यदुनन्दन आचार्यबाट प्राप्त पत्र)

प्रतिकृया दिनुहोस