सिरहाबाट सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा
२१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सिरहामा प्रतिनिधिसभा निर्वाचनका लागि पाँचजना र प्रदेश सभामा दुईजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् ।
सिरहा क्षेत्र नं ४ मा फोरम–राजपा गठबन्धनको तर्फबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री अजयशंकर नायक प्रतिस्पर्धामा छन् । त्यस्तै नेपाली कांग्रेसका तर्फबाट मोख्तार अहमद चुनावी मैदानमा छन् ।
क्षेत्र नं १ मा फोरम–राजपा गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्वमन्त्री राजलाल यादव चुनावी प्रतिस्पर्धामा छन् ।
सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रदीप गिरी र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का नेता गंगाप्रसाद यादव प्रतिस्पर्धामा छन ।
क्षेत्र नं २ मा फोरम राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शत्रुघ्नप्रसाद सिंहसँगै वामगठबन्धनका तर्फबाट पूर्व स्वास्थ्य सहायक मन्त्री सुरेशचन्द्र दास यादव र नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन ।
त्यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं २ (क) मा फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्व आपूर्ति मन्त्री विजयकुमार यादवसँगै वाम गठबन्धनको तर्फबाट माओवादीका जीवछ यादव र कांग्रेसका शैलेन्द्रकुमार यादव प्रतिस्पर्धामा छन ।
क्षेत्र नं ३ (क) मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री रामकुमार यादव चुनावी दौडमा छन भने उनीसँगै कांग्रेसका मुस्ताक अन्सारी र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका मनोजकुमार सिंह चुनावी प्रतिस्पर्धामा होमिएका छन ।
सिरहामा प्रतिनिधि सभाका ४ र प्रदेश सभाका ८ क्षेत्र रहेका छन् । रासस