रिपोर्टबिहिवार, श्रावण २०, २०७३

विज्ञापन बजार दोब्बर विस्तार!

तुफान न्यौपाने

विदेशी च्यानलका प्रसारणलाई 'क्लिन फिड' बनाउने नीति लागू हुँदा दर्शकले विना विज्ञापनका कार्यक्रम हेर्न त पाउँछन् नै, नेपाली विज्ञापन बजारले पनि करीब दोब्बर वृद्धिको अवसर पाउनेछ।

आमसञ्चार क्षेत्रको नीतिगत, संरचनागत र कानूनी सुधार सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्न मन्त्रिपरिषद्ले २० माघ २०७२ मा गठन गरेको सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले ५ साउनमा बुझाएको 'राष्ट्रिय आमसञ्चार नीति, २०७३' को मस्यौदा ७ साउनको मन्त्रिपरिषद्ले पास गरेको छ। साथै विज्ञापनरहित (क्लिन फिड) नीति, २०७३ पनि पारित गरेको छ। मस्यौदामा 'टेलिभिजन सिग्नल वितरक तथा केबुल वितरकहरूले विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित (क्लिन फिड) नीति अनवलम्बन गर्ने' व्यवस्था छ। 

यी दुई नीति अनुसार अबको एक वर्षभित्र नेपालमा प्रसारण हुने सबै विदेशी च्यानल विज्ञापनरहित हुनेछन्। सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहाल यसबाट दुईवटा फाइदा हुने बताउँछन्। पहिलो– नेपाली दर्शकले विदेशी टिभी च्यानलका विज्ञापन हेर्नैपर्ने बाध्यता हुने छैन। दोस्रो तथा अझै महत्वपूर्ण फाइदा– यसबाट नेपालको आन्तरिक विज्ञापन बजार प्रवर्द्धन हुनेछ, नेपाली संस्कृतिको सम्वर्द्धनसहित।

बजारको विस्तार
नेपालमा प्रसारणका लागि डाउन लिंक अनुमति लिएका १४७ विदेशी टेलिभिजन च्यानलहरूमध्ये १०० भन्दा बढी सशुल्क च्यानल हुन्। सशुल्क च्यानलमा विज्ञापन प्रसारण गर्न मिल्दैन। तर, सशुल्कमध्ये एचबीओ, सिनेम्याक्स जस्ता केही च्यानल मात्र क्लिन फिड प्रसारण भइरहेका छन्। स्टार प्लस, जी टिभी, सोनी, स्टार गोल्ड, स्टार वान, सेट म्याक्स, जी सिनेमा, स्टार स्पोर्ट्स, टेन स्पोर्ट्सलगायतका च्यानलहरू सशुल्क भइकन पनि विज्ञापनसहित प्रसारणमा छन्।

राष्ट्रिय प्रसारण नियमावलीले विदेशी च्यानलहरूले सिग्नल डाउन लिंक अनुमति लिंदा विज्ञापन समावेश नभएको सशुल्क भए रु.२५ हजार र विज्ञापन समावेश भएको निःशुल्क च्यानलले रु.५० हजार इजाजत दस्तुर तिर्नुपर्ने व्यवस्था गरेको छ। विज्ञापनरहित च्यानलहरूको सिग्नल डाउन लिंक शुल्कमा छूटको व्यवस्था भए पनि त्यसको अनुगमन गर्ने व्यवस्था छैन। परिणाम, विज्ञापनरहित भनिएका विदेशी च्यानलहरूले प्रसारण इजाजत शुल्कमा छूट लिने, दर्शकसँग पैसा उठाउने र विज्ञापन पनि देखाउने गर्दै आएका छन्।

यसबाट 'कन्टेन्ट' मात्र किनेका दर्शकलाई विज्ञापन भिडाइएको छ भने अर्काेतिर बहुराष्ट्रिय कम्पनीहरूले नेपाली सञ्चारमाध्यमबाट विज्ञापन गर्न आवश्यक नै ठानेका छैनन्। यसरी नेपाली बजार लक्षित विज्ञापन पनि विदेशी च्यानलबाटै प्रसारण भइरहेका छन्। “नयाँ नीति लागू भए नेपाली दर्शकबीच जान चाहने बहुराष्ट्रिय कम्पनीहरूले नेपाली मिडियाबाट मात्र त्यो पहुँच पाउँछन्”, नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सन्तोष श्रेष्ठ भन्छन्, “हामीले १५ वर्षदेखि यस्तै नीतिको माग गरिरहेका थियौं।”

आनका अनुसार, रु.५ अर्ब हाराहारीको अहिलेको नेपाली विज्ञापन बजारमा ७० प्रतिशत हिस्सा बहुराष्ट्रिय कम्पनीको छ। यसमा टेलिभिजन विज्ञापनको हिस्सा करीब रु.१२५ करोड छ। क्लिन फिड कार्यान्वयन हुँदा विज्ञापन बजारको आकार दोब्बर हुने आनको अनुमान छ। बहुराष्ट्रिय कम्पनीहरूले नेपाली बजारमा पुग्न नेपाली टिभी च्यानल नै प्रयोग गर्नुपर्ने हुनाले स्थानीय प्रसारक र विज्ञापन एजेन्सी दुवैलाई फाइदा हुनेछ। सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिमा सदस्य रहेका टीकाराम राई यो नीति लागू हुँदा विज्ञापन एजेन्सी र टिभी प्रसारकको व्यापारसँगै सरकारको राजश्व पनि बढ्ने बताउँछन्।

आमसञ्चार नीतिमा नेपालमा प्रकाशन, प्रसारण र प्रदर्शन गरिने विज्ञापनमा ध्वनिकरण (डबिङ) रोक्ने व्यवस्था छ। यो व्यवस्था कार्यान्वयन हुँदा नेपाली सञ्चारमाध्यममा नेपालमै बनाइएका विज्ञापन मात्र प्रसारण हुनेछन्। त्यो अवस्थामा मोडलिङ र भिडियोग्राफीदेखि उत्पादन टीमसम्मलाई आवश्यक पर्ने नेपाली जनशक्तिले रोजगारी पाउने आन अध्यक्ष श्रेष्ठ बताउँछन्। सूचना तथा सञ्चारमन्त्री शेरधन राई दीर्घकालीन महत्वको यो नीति राष्ट्रिय हितलाई ध्यानमा राखेर ल्याइएको बताउँछन्।

प्राविधिक तयारी
हरेक टिभी च्यानलले विज्ञापनसहित वा रहित सिग्नल उत्पादन गर्ने र पठाउने गर्छन्। कुन देशमा कुन सिग्नल प्रसारण गर्ने भन्ने कुरा सम्बन्धित देशको सिग्नल वितरकहरूसँगको सम्झ्ौता बमोजिम हुन्छ। नेपालमा क्लिन फिड नीति लागू भएपछि विज्ञापनरहित सिग्नल वितरण गर्नुपर्ने हुन्छ। त्यसका लागि आवश्यक प्राविधिक बन्दोबस्ती टेलिभिजन प्रसारक र सिग्नल वितरकहरूले गर्नुपर्छ।

नेपाल सरकारले अब टेलिभिजन सिग्नल र केवल वितरणसम्बन्धी नियमावली तथा विज्ञापन निर्माण, वितरण, प्रकाशन र प्रसारणको लागि छुट्टै नियम तथा संरचना बनाएर लागू गर्नुपर्छ। यी काम आगामी चैतसम्म गरेर १ साउन २०७४ बाट क्लिन फिड नीति पूर्ण रूपमा कार्यान्वयन गर्ने सरकारको योजना छ। (हे.बक्स– क्लिन फिड कार्यान्वयन कार्ययोजना)त्यसअघि डाउनलिंक अनुमति लिएर विदेशी टिभी च्यानल नेपालमा प्रसारण गर्न चाहने संस्थाहरूलाई विज्ञापनरहित हुनुपर्ने शर्त तोकिनेछ। त्यस अनुसार प्रसारण हुने नयाँ टिभी पहिलो दिनदेखि नै क्लिन फिड हुनेछ। पुराना च्यानलहरू भने १ साउन २०७४ सम्ममा क्लिन फिड हुनुपर्नेछ।

सरकारले यसबीचमा राष्ट्रिय प्रसारण नियमावली, २०५२ संशोधन गरी डाउनलिङ्क तथा विज्ञापनरहित प्रसारण अनुमति दस्तुर एकमुष्ट तोक्ने, टेलिभिजन सिग्नल, डाउनलिङ्क सिग्नल र केबुल वितरणलाई व्यवस्थित गर्न राष्ट्रिय प्रसारण ऐन अन्तर्गत छुट्टै नियमावली स्वीकृत गर्ने लगायतका कामहरू गर्नुपर्नेछ। क्लिन फिड नीतिमा 'नेपाली टेलिभिजन च्यानलमा हुने व्यापारिक वस्तुहरूको विज्ञापन अनिवार्य रूपमा सेन्सर गरेर प्रसारण गर्ने व्यवस्था गर्ने' उल्लेख छ।

कानून बनाएर विदेशी च्यानलहरूलाई नियमन गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। अमेरिका, यूरोप र दक्षिणपूर्वी एशियाली मुलुकहरूले विज्ञापनसहित प्रसारण गर्ने च्यानलहरू निःशुल्क हुने र क्लिन फिडमा प्रसारण गर्ने च्यानलले शुल्क तिर्नुपर्ने व्यवस्था गरेका छन्। सार्क राष्ट्रहरूमध्ये पाकिस्तानमा विदेशी च्यानलले ग्राहकबाट शुल्क लिन नपाउने व्यवस्था गरेको छ भने श्रीलंकाले विदेशी च्यानलको फिड नियमन गर्ने गरेको छ। त्यस्तै, बाङ्लादेशले सशुल्क च्यानलमा मूल्य नियमनको कानूनी व्यवस्था गरेको छ भने भूटान सरकारले च्यानल वितरणमा एकाधिकार राखेको छ।

आनका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकार नेपालमा लोकप्रिय रहेका टिभी च्यानलहरूलाई क्लिन फिड लागू गर्न प्राविधिक जटिलता नरहेको बताउँछन्।


के हो 'क्लिन फिड'?
संसारभर टेलिभिजन प्रसारणको दुईथरी अभ्यास छ– दर्शकले पैसा तिरेर मात्र हेर्न पाउने र सित्तैंमा पाउने। निःशुल्क टेलिभिजन च्यानलहरूले विज्ञापनसहित सामग्री प्रसारण गर्छन् भने दर्शकबाट शुल्क उठाउने च्यानलहरूले आफ्ना कार्यक्रम मात्र प्रसारण गर्नुपर्ने हुन्छ, विज्ञापनरहित। दर्शकबाट शुल्क लिएर विज्ञापनविहीन सामग्री मात्र प्रसारण गर्ने टिभी च्यानल 'क्लिन फिड' हो।

विज्ञापनरहित प्रसारणलाई सम्बन्धित देशको नीति र कानूनले व्यवस्थित गर्छ। नेपालमा राष्ट्रिय प्रसारण ऐन र नियमावली लागू भएपछि २०५२ सालपछि मात्र अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरूले प्रसारण थालेका थिए। नेपाली दर्शकले शुल्क तिरेर हेर्न पाउने यी च्यानलहरू बहुराष्ट्रिय कम्पनीका विज्ञापनसहित प्रसारण भइरहेका छन्। यसरी प्रसारण हुनेमा अधिकांश भारतीय च्यानल छन्। विज्ञापनरहित रुपमा अन्य देशबाट प्रसारण हुने च्यानलमा पनि भारतमा विज्ञापन भरेर नेपालमा प्रसारण गर्ने गरिएको छ।

'क्लिन फिड' कार्यान्वयन कार्ययोजना

२०७३ भदौ मसान्तः विज्ञापनरहित नीति सरोकारवालासँग अन्तरक्रिया, कार्यान्वयन कार्ययोजना स्वीकृत।

असोज मसान्तः राष्ट्रिय प्रसारण नियमावली संशोधन।

माघ मसान्तः टेलिभिजन सिग्नल वितरण र केबल वितरणसम्बन्धी नियमावली तर्जुमा गरी लागू गर्ने।

चैत मसान्तः विज्ञापन निर्माण, वितरण, प्रकाशन र प्रसारणको लागि छुट्टै नियम र संरचना तयार गरी लागू गर्ने।

१ साउन २०७४: विज्ञापनरहित (क्लिन फिड) प्रसारण पूर्ण रुपमा कार्यान्वयन गर्ने। 'क्लिन फिड' नीति, २०७३

प्रतिकृया दिनुहोस