'फिल्म साउथएशिया'मा थरीथरी वृत्तचित्र
आज, १६ कात्तिकदेखि पाटनको यलमाया केन्द्रमा दक्षिणएशियाली वृत्तचित्र महोत्सव शुरु भएको छ ।
ललितपुरको पाटनस्थित यलमाया केन्द्रमा अयोजित विशेष कार्यक्रमका बीच भारतीय पत्रकार एवम् एशियन कलेज अफ जर्नलिज्मका अध्यक्ष शशी कुमार, पाकिस्तानी सिनेकर्मी फरजाद नावी, भारतीय पत्रकार राजश्री दासगुप्ता, पत्रकार कुन्द दीक्षित, गायक रामेश, फिल्म साउथ एशियाकी निर्देशक मितु वर्माले महोत्सवको संयुक्तरुपमा उद्घाटन गरे ।
पत्रकार कुमार महोत्सवका प्रमुख अतिथि समेत हुन् । उदघाटन समारोह लगत्तै भारतीय वृत्तचित्र निर्माता चन्द्रशेखर रेड्डीद्वारा निर्मित वृत्तचित्र ‘फायर फ्लाइज इन द अबिस्’ को प्रदर्शन गरियो ।
अधिकांश नेपालीले थाहा नपाएको पूर्वोत्तर भारतको कोइलाखानीमा काम गरिरहेका नेपालीको कथा भन्छ यो वृत्तचित्रले ।
आमा गुमाएको र जँड्याहा बाबुबाट समेत सहयोग नपाएको बालक सुरज सानै उमेरदेखि ज्युनका लागि श्रम गर्ने वाध्यताका बीच मुस्कुराउँछ र विद्यालय जाने आशा छोडेको छैन ।
सेनाको जागिर छोडेर भाई खोज्न कोइलाखानीमा आएको पूर्व सैनिक त्यहाँ आएपछि घरबार विर्सेको छ । ऊ कोइला खन्छ, फुर्सदमा गितार बजाउँछ र एक्लै बसेर आफन्त विर्सने प्रयास गर्छ । खानीमा काम गर्दागर्दै पाखुरीको शक्ति निख्रिएपछि एकजना वृद्ध खनिएको कोइलाको हिंसाब राखेर बसेको छ, जसले आफ्नो नाम समेत विर्सिसकेको छ ।
झण्डैझण्डै नारकीय भन्न मिल्ने कोइलाखानीको अँध्यारोमा जीवन बाँचिरहेका नेपाली आप्रवासीहरुको वास्तविक कथा हो ‘फायर फ्लाइज इन द अबिस्’ ।
यो वृत्तचित्र १९ कात्तिक दिउँसो १ः३५ बजे पनि यलमाया केन्द्रमा प्रदर्शन हुनेछ ।
त्यसअघि वर्मा, भारत र नेपालका विद्यार्थीहरुले बनाएका वृत्तचित्रहरु साथै भारतीय फिल्मकर्मी तपन बोसको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।
महोत्सवमा दर्शकहरुले वृत्तचित्र हेरिसकेपछि निर्माता–निर्देशकसँग अन्तरक्रिया समेत गर्न पाइन्छ ।
६३ वटा वृत्तचित्र प्रदर्शन हुने महोत्सव १९ कात्तिकसम्म चल्ने छ ।