पर्सामा प्रमुख दलहरुले उम्मेदवारी टुङ्गो लगाए, दर्ता गराउँदै
पर्सा जिल्लामा प्रमुख दलहरुले उम्मेदवारी टुंगो लगाएर दर्ताको तयारीमा छन् ।
पर्सामा वाम गठबन्धनबाट क्षेत्र नम्बर १ मा एमालेका निवर्तमान सांसद विचारी यादव र ३ मा पनि एमालेकै निवर्तमान सांसद राजकुमार गुप्ताले उम्मेदवारी दिने भएका छन् ।
गठबन्धनबाट पर्सा २ र ४ माओवादीको भागमा परेको छ । माओवादी केन्द्रले पर्सा ४ बाट सचिवालय सदस्य उर्मिला अर्याल र २ बाट मुसालिन मियाँलाई टिकट दिएको छ ।
यसैगरी सत्तारूढ कांग्रेसले पर्सा १ मा युवा उद्योगी अनिल रुंगटा, २ मा केन्द्रीय सदस्य अजय चौरसिया, ३ मा निवर्तमान सांसद सुरेन्द्र चौधरी र ४ बाट केन्द्रीय सदस्य रमेश रिजाललाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
यसैगरी मधेशी गठबन्धनबाट क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रदीप यादवले उम्मेदवारी दिंदैछन् । २ बाट फोरमका नवप्रवेशी विमल श्रीवास्तवले टिकट पाएका छन् । ३ बाट पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र ४ बाट राजपाका नेता तथा निवर्तमान सांसद लक्ष्मणलाल कर्ण चुनावी मैदानमा उत्रिने भएका छन् ।
चार निर्वाचन क्षेत्र रहेको पर्सामा उम्मेदवारी दर्ताका लागि वीरगन्जको मुर्ली बगैचास्थित नेशनल ट्रेडिङ्गको कार्यालयमा व्यवस्था मिलाईएको छ ।
चार प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्य गरी १२ जना प्रतिनिधिका लागि विहान १० बजे देखि वेलुका ५ बजे सम्म मुख्य निर्वाचनअधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने कार्य तालिका छ ।
पर्सा–१ मा मतदाता संख्या ७ हजार ४०५, क्षेत्र नम्बर २ मा ७३ हजार १२, क्षेत्र नम्बर ३ मा ७४ हजार १६६ र क्षेत्र नम्बर ४ मा ७४ हजार ४७१ छ ।
जियालाल साह, पर्सा