कला/साहित्यबुधवार, कार्तिक १५, २०७४

वृत्तचित्रमा दक्षिणएशिया

सहिना श्रेष्ठ

दक्षिणएशियामै ख्याति कमाएको वृत्तचित्र उत्सव फिल्म साउथएशियाको ११औं संस्करण १६ कात्तिकदेखि शुरू हुँदैछ।

कुनै वेला व्यावसायिक फिचर फिल्मको ओझेलमा परेको वृत्तचित्र विधा अचेल समाजको ध्यानाकर्षण गर्न सफल हुँदैछ । त्यसैको फेरोमा १६–१९ कात्तिकसम्म पाटनको यलमाया केन्द्रमा फिल्म साउथएशिया (एफएसए) हुँदैछ, जहाँ यो उपमहाद्वीपका उत्कृष्ट वृत्तचित्रहरू प्रदर्शन गरिनेछन् । 

दक्षिणएशियाको सांस्कृतिक राजधानी काठमाडौं उपत्यकामा वृत्तचित्रको यो द्विवार्षिक उत्सव सन् १९९७ देखि शुरु भएको हो । यो अवधिमा उत्सवले वृत्तचित्रको विस्तार, निर्देशक र निर्माताहरूलाई मञ्च उपलब्ध गराउने मात्रै होइन, अभिव्यक्तिको यो माध्यमलाई बुझ्न चाहने र माया गर्नेे पिढीको पनि विकास गरेको छ ।

एफएसए २०१७ की निर्देशक मितु बर्मालाई यो वृत्तचित्र उत्सवको पहिलो संस्करणको सम्झना अहिले पनि ताजा छ । “रसियन कल्चर सेन्टरमा केही फिल्ममा थोरै दर्शक हुन्थे तर, केही फिल्ममा सिंगो हल रित्तो हुन्थ्यो” उनी भन्छिन्, “अहिले एफएसए पर्खेर बस्ने समर्पित दर्शक छन्, टिकट किनेरै हेर्नेहरूले हल खचाखच हुन्छ । अन्यत्र मैले यस्तो देखेकी छैन ।”

वृत्तचित्रका दर्शक बढिरहँदा, स्क्रिनिङको अवसर भने अझै पनि सीमित छ । वृत्तचित्र निर्माण गर्न उति महँगो छैन तर, यसबाट नाफा आर्जन गर्न भने गाह्रो छ । “गैरआख्यान फिल्ममा काम गर्न निकै ऊर्जा, समर्पण र प्रोत्साहन चाहिन्छ” बर्मा भन्छिन्, “किनभने पैसा त फिचर फिल्म र विज्ञापनमा छ ।” यसका लागि एफएसएको यो संस्करणले नयाँ– अनुभवी वृत्तचित्र निर्मातालाई छलफल गराई साझा समझदारी बनाउने प्रयास पनि थाल्ने भएको छ ।

एफएसएको यो संस्करणमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बाङ्लादेश र बर्माका ६३ वटा वृत्तचित्र प्रदर्शन गरिनेछन् । तीमध्ये १२ वटा गैरप्रतिस्पर्धी भारतकेन्द्रित ‘डकुमेन्ट्रिज अफ डिसेन्ट’ अर्थात् ‘विमतिका वृत्तचित्र’ छन् । ६ अन्य फिल्महरू ‘स्टुडेन्ट फिल्म’ श्रेणीमा प्रदर्शन हुनेछन्, जसले फिल्म निर्माताको नयाँ पुस्ताको प्रतिनिधित्व गर्नेछ ।

बाँकी ४५ फिल्मले पाँच वटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सबैभन्दा उत्कृष्ट फिल्मलाई दुई हजार डलरसहित रामबहादुर ट्रफी प्रदान गरिनेछ भने, दोस्रो ठहरिएको फिल्मले एक हजार डलर प्राप्त गर्नेछ । त्यस्तै पहिलो निर्देशनमै एफएसएमा छनोट भएकोमध्ये उत्कृष्ट एक वृत्तचित्रलाई प्रोत्साहनस्वरुप एक हजार डलरसहितको तारेक मसुद पुरस्कार, बालबालिकाका विषयमा निर्मित उत्कृष्ट वृत्तचित्रलाई एक हजार डलरको युनिसेफ पुरस्कार र विद्यार्थी निर्मित अब्बल वृत्तचित्रले पाँचसय डलरको पुरस्कार पाउनेछ ।

वृत्तचित्रहरूलाई विषयवस्तु अनुसार प्रदर्शनीको तालिकासमेत मिलाइएको छ । पहिलो दिन नारीवाद, लिंग, यौनिकता र अधिकार विषयका ६ वटा वृत्तचित्र यलमाया केन्द्रस्थित मजलिस हलमा प्रदर्शन हुनेछन् । वृत्तचित्रसँगै सामूहिक छलफल पनि गरिनेछ । एफएसएले प्रदर्शनीको समयतालिका सहितको एप पनि सार्वजनिक गरेको छ ।

“दक्षिण एशियालीका लागि अहिलेको समय निकै कठिन छ, त्यसैले पनि हुनुपर्छ, वृत्तचित्र निर्माताहरू पहिलेभन्दा तीक्ष्ण र गहन देखिन्छन्, अद्भुत वृत्तचित्र बनाएका छन्”, निर्देशक बर्मा भन्छिन् ।

फायरफ्लाइज इन द अबिस्: चन्द्रशेखर रेड्डी

पूर्वोत्तर भारतीय बजारमा ११ वर्षीय सुरज साँघुरो सुरुङजस्तो खाल्डोमा घस्रिंदै कोइला खोस्रिरहेको छ । मेघालयस्थित कोइलाखानीका यस्ता सुरुङ धेरै नेपाली आप्रवासीहरुको आयस्रोतको माध्यम बनेका छन् । आमा गुमाएको बालक सुरज, बाबु पनि जड्याँहा भएपछि पेट पाल्न आफैँ श्रम गर्नुपर्ने वाध्यतामा छ ।

जोखिमपूर्ण कोइला खानीमा अदम्य साहस र जिद्धी मुस्कानका साथ मेहनत गरिरहेको ऊ एकदिन सबै वाधा पञ्छाएर स्कुल जाने आशामा छ । विषयसँग भावनात्मक लगाव भएको मेघालयका कोइला खानीमा काम गर्ने नेपाली आप्रवासीहरुको कथा हो, ‘फायरफ्लाइज इन द अबिस् ।’

अन्तर्राष्ट्रिय वृत्तचित्र र लघु फिल्म महोत्सव, केरला (आइडीएफएफके– २०१६) को ‘बेस्ट लङ इन्टरनेशनल डक्युमेन्ट्री’ घोषित यो वृत्तचित्रले मुम्बई अन्तराष्ट्रिय फिल्म महोत्सव–२०१६ मा पनि उत्कृष्ट फिल्म र उत्कृष्ट सिनेम्याटोग्राफीको पुरस्कार प्राप्त गरिसकेको छ ।

सेभ गंगामाया: गोपाल शिवाकोटी

२४ जेठ २०६१ मा चितवनमा माओवादीद्वारा हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै गोरखा फुजेलका गंगामाया र नन्दप्रसाद अधिकारी प्रधानमन्त्री कार्यालय अगाडि अनशन बसे ।

तर, सरकारले उनीहरूलाई धपायो र यातना दिई पाटनस्थित मानसिक अस्पतालमा राख्यो । तैपनि अनशन नत्यागेका उनीहरूलाई वीर अस्पतालमा राखियो ।

३३३ दिन लामो अनशनपछि ६ असोज २०७१ मा नन्दप्रसादले प्राण त्यागे । त्यसै वर्ष कात्तिकमा सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै गंगामायालाई ३५९ दिन लामो अनशन तोड्न राजी गरायो ।

तर, अझै पनि हत्यारामाथि कारबाही भएको छैन, नन्दप्रसादको शवको अन्त्येष्टि पनि हुनसकेको छैन । यता वीर अस्पतालमा रहेकी गंगामाया गिर्दो स्वास्थ्य अवस्थाबीच न्यायका लागि संघर्ष गरिरहेकी छन् । सेभ गंगामाया वृत्तचित्र यही संघर्षको कथा हो ।

बर्मा स्टोरीबूक: पेत्र लोम र कोरिन्ने, भ्यान एगेरात
वर्षौंदेखिको अधिनायकवादबाट मुक्त हुँदै गरेको देशबारे बर्मेली कवितामार्फत भनिएको वृत्तचित्र हो बर्मा स्टोरीबूक । वृत्तचित्र बर्माका प्रसिद्ध र फरक विचारका कवि वरपर घुमेको छ । उनी धेरै अघि हराएको आफ्नो छोरा घर फर्कने दिनको प्रतीक्षामा छन् ।

द स्कार: प्रदीप घोष

सन् १९९९ मा बाङ्लादेशको जेसोरमा देशको सबैभन्दा ठूलो सांस्कृतिक संस्था बाङ्लादेश उडिची शिल्पीगोष्ठीको १२औं राष्ट्रिय सम्मेलन भइरहेको थियो । तीनदिने सम्मेलनको अन्तिम दिन साम्प्रदायिक आतंकवादीले गराएको विस्फोटमा परी १० जनाको मृत्यु भयो ।

८ डिसेम्बर २००५ मा उडिचीको शाखा कार्यालय नेत्रोकोनामा भएको आक्रमणमा फेरि पनि सांस्कृतिक अभियन्ताहरू मारिए । निरन्तरको आक्रमणबाट हजारौं अपांग भएका छन् । यो वृत्तचित्रले सन् १९९९ देखि २००५ सम्म भएका हिंसामा परेका बाङ्लादेशीको दुःख प्रस्तुत गरेको छ ।

बर्न विहाइन्ड बार्स: मालती राव
जेल सजाय दिनका लागि बनाइन्छ । तर, बन्दी जीवन विताइरहेका आमाका छोराछोरी पनि आफूले नगरेको अपराधको सजाय व्यहोरिरहेका छन् । उनीहरूको बाहिरी दुनियाँ हेर्न पाउने अधिकारको हनन् भइरहेको छ । भारतमा ६ वर्षसम्मका बच्चा आमासँगै जेल बस्न पाउँछन् ।

जेलले बालबालिकालाई अपराध र पीडाको दुष्चक्रमा पर्न नदिन विद्यालय पनि सञ्चालन गरेको छ तर, जेलको वातावरणमा बालबालिका दिशाविहीनता सिकिरहेका छन् । यो वृत्तचित्रले हैदरावादस्थित महिलाहरूको विशेष कारागारमा रहेका बालबालिकाको पीडा खोतलेको छ ।

केटू एण्ड इनभिजिबल फूटमेन: लारा ली
केटू एण्ड इनभिजिबल फूटमेन मा नेपाली शेर्पा र पाकिस्तानी भरियाहरूको जीवन प्रस्तुत गरिएको छ । वृत्तचित्रले पूर्व भरियाहरू सहभागी पहिलो औपचारिक पाकिस्तानी आरोही टोलीलाई पछ्याएको छ, जसले सन् २०१४ मा केटू आरोहणको ६०औं वार्षिकोत्सवमा चुचुरो छोएको थियो ।

मनमोहक दृश्य समेटिएको यो वृत्तचित्रले दुःखको भारीले थिचिएका भरियाको केटू आरोहण वर्णन गरेको छ । सञ्चारमाध्यमहरूमा द्वन्द्वग्रस्त मुलुकका रुपमा चिनिने पाकिस्तानलाई वृत्तचित्रले त्यहाँको संस्कृति र राष्ट्रिय परम्पराको नयाँ आयाम प्रस्तुत गरेको छ ।

फिल्म साउथएशियामा प्रदर्शन गरिने वृत्तचित्रको तालीका:

प्रतिकृया दिनुहोस