रिपोर्टबुधवार, कार्तिक १५, २०७४

रैथाने बालीलाई संकट

रमेशकुमार

स्थानीय र परम्परागत बालीको विनाशले अनाज र तरकारीको तिक्खर स्वाद मात्र होइन पोषण र गुण पनि हराउँदै गएको छ ।

पहिलो पटक, नेपालमा सन् १९६० को दशकमा उन्नत जातको बीउ भित्रिएको हो, वर्णसंकर (हाइब्रिड) बीउ देखिन थालेको त १९९० देखि मात्र हो । तर, यति छोटो अवधिमा आयातीत बीउबिजन देशका कुनाकन्दरासम्म फैलँदा भएकामध्ये आधाभन्दा बढी रैथाने बीउ मासिइसकेको छ ।

अहिले धानमा १० प्रतिशत, गहुँमा ५ प्रतिशत, मकैमा १५ प्रतिशत, तरकारी बालीमा १५ प्रतिशत जति मात्रै रैथाने बीउमार्फत खेती भइरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूको अनुमान छ । 

“१५–२० वर्षअघिसम्म एउटै गाउँमा ५० प्रकारसम्मका धानबाली पाइन्थ्यो, अहिले चार–पाँच वटा मात्र देखिन्छ”, नार्कअन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन ब्यांक) का बालीविज्ञ कृष्णहरि घिमिरे भन्छन्, “हाइब्रिडको जगजगीले धान मात्रै होइन, मकै, गहुँजस्ता अन्नबाली, तरकारी, फलफूल एवं दलहन र तेलहन बालीका रैथाने बाली समेत मासिंदैछन् ।” यद्यपि; कोदो, फापर, चिनो, कागुनो, उवा, जौ जस्ता अनाजमा भने धेरैजसो स्थानीय बीउ नै छन् ।

विश्व खाद्य तथा कृषि संगठनले पनि गएको २०औं शताब्दीमा मात्र विश्वको बाली विविधतामा पूर्ति गर्नै नसकिने गरी करीब ७५ प्रतिशत बाली नाश भइसकेको उल्लेख गरेको छ । नेपालमै पनि ५० प्रतिशतभन्दा बढी रैथाने जातका बाली नाश भइसकेको नार्कको आकलन छ । यद्यपि, विभिन्न बालीका ३० हजारभन्दा बढी रैथाने जात अझै धेरथोर नेपाली माटोमा रहेको अनुमान छ । स्थानीय हावापानी अनुकूलका, रोग, कीरा सहने बाली मासिंदै जानु खाद्य सुरक्षाका लागि मात्र होइन जैविक विविधताकै दृष्टिले चिन्ताजनक मानिन्छ ।

बाली विविधतामा ह्रास आएसँगै नेपाली माटोको विशेषता र विशिष्ट उत्पादन समेत हराउन थालेको छ । स्थानीय र परम्परागत बालीको विनाशले अनाज र तरकारीको तिक्खर स्वाद मात्र होइन पोषण र गुण पनि हराउँदै गएको छ । उत्पादन धेरै हुने लोभका कारण खेतबारी ‘विकासे’ जातका तरकारी तथा फलफूलले ढाकिएका छन् ।

बीउमै परनिर्भर
कालानमक, झिनुवा, कृष्णभोग, अनदी, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो जस्ता रैथाने बास्नादार र स्वादिलो चामल अचेल सितिमिति भेटिंदैन । बोडी–सिमीका स्थानीय जात, मसिना चुच्चे करेला, रैथाने काँक्रो, रायो, ठूल्ठूला झाल हुने स–साना गोलभेंडा, कुभिण्डो, पाटे घिरौंलो, घैया धान, रातो चामल हुने सिम्ठारो धान, सेतो मकै, रैथाने मास–मस्याङ–गुराँस–भटमास पनि भेट्न मुश्किल पर्छ ।

यस्तो किन भइरहेको छ त ? बुझन गाह्रो छैन । खाने मुख र बजारको माग बढेपछि धेरै अनाज र तरकारी फलाउनुपर्ने बाध्यताले किसानलाई ‘विकासे’ बीउ लगाउन हौस्याएको हो । बालीविज्ञ डा. महेन्द्रप्रसाद खनाल किसानले कम उत्पादन हुने रैथाने छाडेर धेरै फल्ने वर्णसंकर बीउ लगाउनुलाई स्वाभाविक नै ठान्छन् । ‘रैथाने जातको संरक्षण गरिदिने काम किसानको होइन, सरकारको हो”, उनी भन्छन् ।

तर, व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्न सरकार स्वयंले आयातीत वर्णसंकर बीउ प्रयोग गर्न किसानलाई सुझउने गरेको छ । जीन ब्यांकका वैज्ञानिक बालकृष्ण जोशी सरकारी प्रोत्साहनकै कारण नेपालमा वर्षेनि धान, गहुँ, आलुका २५ सय थरीका बीउ भित्रिइरहेको बताउँछन् ।

तत्काल लाभ दिए पनि आयातीत वर्णसंकर बीउमा भर पर्दाको अनेक जोखिम छन् । “वर्णसंकर एक पुस्तालाई मात्र काम लाग्छ, रैथाने बालीमा पुस्तौंसम्मको प्रजनन क्षमता हुन्छ” बालीविज्ञ घिमिरे भन्छन्, “आफ्नो बीउ नासिंदा विकल्प सीमित हुने भएकाले खाद्य असुरक्षा बढ्छ ।” वर्णसंकरमा दोस्रो पुस्ताबाट राम्रो नहुने र अधिकांश यस्ता बीउ विदेशबाट आउने कारणले गर्दा नेपाल थप वर्णसंकर बीउ आयातको दुष्चक्रमा फँसेको छ ।

दुई फरक गुण, क्षमता र स्वभाव भएका जातबीचको ‘क्रस’ मार्फत निकालिने वर्णसंकर बीउले पहिलो पुस्तामा उत्पादन डेढ दुई गुणासम्म बढाउँछ । तर, दोस्रो पुस्तापछि भने काम गर्दैन । त्यसै कारण, वर्णसंकर बीउ हरेक वर्ष किन्नुपर्ने बाध्यता आइपर्छ । हरेक वर्षमा नेपालमा बीउको आयात बढिरहनुले बीउमा क्रमशः देश परनिर्भर भइरहेको देखाउँछ । (हे. ग्राफ) कतिपय जानकारहरू बीउमा विदेश निर्भर हुनुलाई देशको कृषि प्रणाली नै विदेशीको पकडमा गएको भनी आलोचना गर्छन् ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार, आर्थिक वर्ष २०७२/७३ मा मात्र रु.१ अर्ब ३४ करोड बराबरको २,७१८ टन बीउबिजन आयात भएको थियो । यो रकम अघिल्लो आवको तुलनामा ३०.३९ प्रतिशतले बढी हो । त्यसो त केन्द्रसँग अनुमति नलिई खाद्यान्नका नाममा भन्सार विन्दुबाट आयात भइरहेको बीउबिजनको मात्रा पनि ठूलो छ ।

भारतबाट लुकीछिपी वा अनाजका नाममा ल्याइने बीउका थुप्रै जोखिम छन् । वेलाबखत धानमा भुस मात्रै फल्ने वा मकैका घोगामा दाना नलाग्ने जस्ता समस्या पनि देखिएको छ ।

राष्ट्रिय बीउबिजन समितिले ३६३ आयातीत वर्णसंकर जातलाई बिक्रीवितरण गर्न मिल्ने सूचीमा राखेको छ । यसबाहेक देशभित्रै उन्मोचन विधिबाट विकास गरिएका २४२ जात पनि सूचीमा परेका छन् । नार्कले अहिलेसम्म भने चार थरीका मकैका बीउ र सिर्जना नामको गोलभेंडा मात्र वर्णसंकर गरी विकास गरेको छ, अन्य सबै वर्णसंकर बीउ आयात गरिएका हुन् ।

बालीविज्ञ घिमिरे लुकीछिपी मोन्स्यान्टो जस्ता आनुवंशिक परिवर्तित (जीएमओ) बीउ पनि आइरहेको हुनसक्ने बताउँछन् । प्रायः अर्जेन्टिनाबाट आउने मकै, सोयाबिन मस्यौरा आदि जीएमओकै उत्पादन भएको अनुमान गरिन्छ ।

आयातीत बीउमा मात्र भर पर्दा कदाचित् अन्य देशबाट बीउ आउन रोकिए बीउ संकटकै जोखिम आइपर्छ । प्राकृतिक अवस्था फेरिने वित्तिकै वा सामान्य रोगकीरा लाग्नेवित्तिकै वर्णसंकर बाली जोगाउन कठिन हुन्छ । त्यसको ठीक उल्टो, रैथाने जातमा यस्तो जातीय गुण र क्षमता हुन्छ जसमा सयौं पुस्तासम्म पनि प्रजनन क्षमता उस्तै रहन्छ ।

त्यस्तै, हावापानी सहन सक्ने र रोगकीरा प्रतिरोधी क्षमता पनि स्थानीय बालीमा बढी हुन्छ । लहरे तरकारी, फलफूल आदि जस्ता पर परागसेचन (क्रस पोलिनेटेड) हुने बालीमा रैथानेको छेवैमा वर्णसंकर लगाउँदा रैथानेले वर्णसंकरको गुण ग्रहण गर्छ । यसले गर्दा तिनले आफ्नो मौलिक गुण गुमाउँछन् । “रैथाने जातको काँक्रोको स्वाद हराउनुको कारण यही हो”, बालीविज्ञ घिमिरे भन्छन् । 

घिमिरे रैथाने बीउ लोप अर्थात् आनुवंशिक स्रोत हराउनुलाई सन्तान दरसन्तानसम्म हस्तान्तरण हुने सम्पत्तिको नाश ठान्छन् । जसबाट विशिष्ट भौगोलिक र क्षेत्रगत विशेषता बोकेका बालीनालीको गुण सारेर नयाँ बाली विकास गर्र्नेे सम्भावना पनि हराउँछ ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापा आफ्नो मौलिक अस्तित्व रक्षाका लागि पनि रैथाने बीउ जोगाउनुपर्ने बताउँछन् । बालीविज्ञ डा. महेन्द्र खनाल रैथाने बीउको गुण र स्वभाव नयाँमा सारेर नयाँ बाली विकास गर्न बीउ संरक्षण गर्नुपर्नेमा जोड दिन्छन् । “अहिले रैथानेलाई नजोगाए बास्ना आउने धानको गुण नयाँमा कसरी सार्नु, कता खोज्न जानू”, खनाल भन्छन् ।

‘जैविक चोरी’ को जोखिम
बासमती धानमा अमेरिकी कम्पनी राइस टेकले प्रतिलिपि अधिकार दर्ता गरेपछि भारतले मुद्दा दायर गरेको घटनाले जैविक चोरी (बायो पाइरेसी) बहसलाई सतहमा ल्याइदियो । आफ्ना रैथाने वनस्पति र बीउबिजनलाई सुरक्षित राख्न बिरुवा र बीउको जात संरक्षणको कानूनी र संरचनागत प्रबन्ध गरिन्छ । तर, नेपालमा अहिलेसम्म रैथाने बीउको प्रतिलिपि अधिकारबारे छलफल नै थालिएको छैन । “बीउबिजनको जातको स्वामित्वको अधिकार सुरक्षित राख्न पहल भएकै छैन” केन्द्रका प्रमुख थापा भन्छन्, “छिट्टै यसतर्फ पहल नभए स्वामित्वको अधिकार गुम्न सक्छ ।”

जुम्ली मार्सी धान ।

बालीविज्ञ घिमिरे ४० दिने मुला, रायो, मार्फाको स्याउ, कालो आलु, कास्कीको जेठोबूढो धान, जुम्लाको मार्सी धान, मनकामनाको सुन्तला, सिन्धुलीको जुनार, काठमाडौं–भक्तपुरको ज्यापू काउली जस्ता क्षेत्रीय गुण बोकेका तरकारी र फलफूललाई जोगाउन कानूनी रूपमै स्वामित्व सुनिश्चित गरिहाल्नुपर्ने बताउँछन् । “नत्र यिनका बीउबिजन अन्यत्र पुगेर अरूले नै यसको प्रतिलिपि अधिकार दाबी गर्न बेर छैन”, उनी भन्छन् ।

फितलो कानूनी व्यवस्थाका कारण नेपालबाट भइरहेको जैविक चोरीबारे सबै बेखबर छन् । केही वर्षअघि भक्तपुरको काउसे सिमीको बीउ जापान लैजान एक व्यक्ति माग्न आएपछि आफू झस्किएको घिमिरे बताउँछन् । अनुसन्धानका लागि भन्दै स्थानीय बीउबिजन संकलन गरी विदेश पठाइने गिरोह नै सक्रिय हुनसक्ने उनको आशंका छ । “कसले के बीउ कुन देश लग्यो वा ल्यायो भन्ने अभिलेख नै नराखिनु दुर्भाग्यपूर्ण हो”, घिमिरे भन्छन् ।

त्यसो त आधिकारिक रूपमै नेपालबाट २४ हजार थरीका रैथाने बीउ विदेश पुगिसकेको छ । कानूनी रूपमै बीउको अधिकार सुरक्षित राख्ने पहलस्वरुप बिरुवाजात संरक्षण तथा कृषक अधिकार ऐनको चर्चा सन् २००३ देखि चले पनि यसको मस्यौदा कृषि विकास मन्त्रालयमै थन्किएको छ ।

बीउ ब्यांक
२०६७ सालमा जीन ब्यांक स्थापना गरेर रैथाने बाली संरक्षणको सरकारी प्रयासले भने रैथाने बीउ संरक्षणमा आशा देखाएको छ । ब्यांकले हालसम्म ११५ बालीका करीब १२ हजार बीउ संकलन र सुरक्षण गरेको छ, जसमा धानका २४ सय, गहुँका १६ सय, मकैका ५००, कोदोका ८५० रैथाने प्रजाति छन् । “रैथाने जातमा हाम्रो विविधता संसारमै उच्च छ, त्यस्ता बीउलाई भावी पुस्ताका लागि समेत जोगाइदिनुपर्छ”, जीन ब्यांकका वैज्ञानिक बालकृष्ण जोशी भन्छन् ।

नेपालमा कम भए पनि जीन ब्यांकले फिलिपिन्सको धानबाली अध्ययन संस्था इरीसँगको सहकार्यमा नेपालका तीन हजारभन्दा बढी थरीका रैथाने धानका बीउ संरक्षित गरेको छ ।

प्रतिकृया दिनुहोस