तरकारीमा समेत विदेशकै भर
किसानलाई उद्यमी बनाउन तथा कृषिको प्रवद्र्घन गर्न सञ्चालित कृषि उपज थोक बजार पनि भारत र चीनकै फलफूल र तरकारीमा निर्भर छ ।
१६ वर्षदेखि बिर्तामोड–५ झापाको कृषि उपज थोक बजारमा ‘आठराई फलफूल पसल’ सञ्चालन गरिरहेका तारा शिवाकोटी वार्षिक रु.२५ लाखको कारोबार गर्छन् । तर, उनको पसलमा बिक्री गरिने स्याउ, अंगुर, नरिवल, सुन्तला र केरालगायतका फलफूल भारत र चीनबाट आउँछन् । नेपालमै उत्पादन हुने फलफूल वर्षमा मुश्किलले रु.४ लाखको हुने गरेको बताउँदै उनी भन्छन्, “८५ प्रतिशत फलफूल भारत र चीनबाटै आउँछ ।”
१८ वर्षको उमेरदेखि नै भुईंमा बोरा बिच्छ्याएर आलु र प्याज बिक्री गर्दै आएका जनार्दन साह (५८) अहिले यही कृषि उपज थोक बजारमा व्यापार गर्छन् । चार दशकको अवधिमा सधैं भारतबाटै आलु र प्याज ल्याएर बिक्री गरेको बताउँदै उनी भन्छन्, “अहिलेसम्म नेपालको उत्पादन बेच्न पाएको छैन ।” मासिक रु.२० लाखको आलु र प्याज आयात गरिरहेका उनी कहिलेकाहीं भूटान र बाङ्लादेशका उत्पादन समेत आउने गरेको बताउँछन् ।
कृषि मन्त्रालयले किसानलाई उद्यमी बनाउन तथा कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले २०३४ सालमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा कृषि उपज थोक बजार निर्माण गरेको थियो । तर, भारतीय कृषि उपजको व्यापार गर्न बनाए जस्तै भएको छ ।
विदेशीमै निर्भर
यहाँका अन्य व्यापारी पनि धेरैजसो भारत र चीनबाटै आयात गरिएको फलफूल र तरकारी बिक्री गर्छन् । १५ वर्षदेखि ‘प्रिन्स फ्रूट सेन्टर’ सञ्चालन गरिरहेका विकेश जैसवाल स्याउ, अनार, आँप र सुन्तलाका थोक बिक्रेता हुन् । वार्षिक करीब रु.७ करोडको फलफूल आयात गरिरहेका उनी इलाम, पाँचथर र ताप्लेजुङसम्म भारतबाटै आयात गरेर पुर्याइरहेका छन् ।
‘आश्मा फ्रूट सेन्टर’ का सञ्चालक उत्तम शिवाकोटी भारतीय कृषि उपजले नै व्यापार धानिरहेको बताउँछन् । २० वर्षदेखि फलफूलको थोक पसल चलाइरहेका उनी पछिल्लो समय चीनबाट आएका फलफूल बिक्री गर्न थालेका छन् । विदेशी कृषि उपजहरूको नै व्यापार भइरहेको बजार सञ्चालक समितिलाई पनि जानकारी छ ।
बजार व्यवस्थापक सुरेशकुमार कामत बजारको माग अनुसार नेपाली कृषि उपज नभएपछि बाहिरबाट आएको बताउँछन् । ८५ प्रतिशत भारतीय उत्पादन आउने गरेको बताउँदै कामत भन्छन्, “नेपाली उत्पादन विरलै आउँछ ।”
कृषि बजार प्रवद्र्धन तथा बजार विकास निर्देशनालय, हरिहर भवनको नाममा रहेको तीन बिघा १९ कट्ठा जग्गामा बनेको यो बजारमा ३१५ वटा पसल छन् । जिल्ला कृषि विकास कार्यालयअन्तर्गतको कृषि उपज थोक बजार सञ्चालक समिति, बिर्तामोडले वार्षिक रु.५१ लाख भाडा लिन्छ ।
कुहिंदै तरकारी
दिनभरि बिक्री नभएका कृषि उपज साँझ् भने सुरक्षित राख्ने शीतभण्डार छैन । जसले गर्दा तरकारी र फलफूल कुहिएर जाने गरेको व्यापारी बताउँछन् । एक हप्तामा करीब तीन ट्रक तरकारी र फलफूल कुहिने गरेको उनीहरू बताउँछन् । दैनिक २० प्रतिशत सुकेर वा कुहिएर नष्ट हुने गरेको बताउँदै आलु–प्याजका थोक बिक्रेता साह भन्छन्, “शीतभण्डार भए जोगिन्थ्यो । अरू तरकारी र फलफूल पनि ताजा रहन्थे ।”
एकातिर कुहिएको तरकारी र फलफूलले फोहोर बढाएको छ भने अर्कोतिर मानिसको आवतजावत पनि धेरै हुन्छ । दैनिक १० हजार उपभोक्ता र व्यापारी आवतजावत गर्ने बजारमा एउटा मात्रै सार्वजनिक शौचालय छ । नियमित सरसफाइ नहुँदा नाली फोहोरले भरिएको छ ।
कर्मचारीको तलब, भत्ता, कार्यालय सञ्चालन र बजारका टहरा मर्मतमा गत वर्ष रु.४८ लाख ५० हजार खर्च गरेको समितिले रु.२ लाख ३० हजार बचत गरेको छ । नाफा भइरहँदा पनि बजारलाई व्यवस्थित गर्न कृषि उपज थोक बजार सञ्चालक समितिले कुनै पहल नगरेको व्यापारीहरूको गुनासो छ । समितिका अध्यक्ष एवं जिल्ला कृषि विकास कार्यालय, झपाका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगी तत्काल सुधारको कुनै योजना नभएको बताउँछन् ।
गोपाल गडतौला, झापा