रिपोर्टबुधवार, कार्तिक १५, २०७४

आमा कि बच्चा जन्माउने मेशिन

हिमालखबर

बाजुराका दुर्गम गाउँका दर्जनभन्दा बढी सन्तान जन्माउने आमाहरूको कथाले भन्छ– उनीहरूको जीवन बच्चा जन्माउने मेशिनमा सीमित छ।

- प्रकाश सिंह, खोज पत्रकारिता केन्द्रका लागि

छोरो जन्मेपछि जुगाड स्वास्थ्य चौकीबाट बाजागाजासहित घर लैजाँदै बूढीनन्दा गाउँपालिकाका बासिन्दा (बायाँ) र छोरी जन्मेपछि चूपाप घर फर्कंदै छेडेदह गाउँपालिकाका-२ की यशोदा थापा ।  सबै तस्वीर: प्रकाश सिंह

गाउँपालिका–१ बाजुराकी ४१ वर्षीया बिस्नकला थापाले गएको जेठमा १६औं सन्तान जन्माइन् । अरू बच्चा घरमै जन्माएकी थापाले १६औं बच्चा भने जिल्ला स्वास्थ्य कार्यालय, बाजुरामा जन्माएकी थिइन् । 

उनले जन्माएका ९ बच्चाको मृत्यु भइसकेको छ, सात जना मात्र जीवित छन् । १४ वर्षमा बिहे गरेकी बिस्नकलाको ४१ वर्षको उमेरसम्मको मुख्य काम भनेकै बच्चा जन्माउने मात्रै भएको जस्तो देखिन्छ ।

बाजुराको दुर्गम गाउँकी बिस्नकलासँग धेरै सन्तान किन जन्मिए भन्ने प्रश्नको जवाफ छैन । श्रीमान् जैधन थापा भन्छन्, “रोक्ने साधन केही भएन, उपाय केही जानिएन । त्यसैले धेरै बच्चा जन्मिए ।”

जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आकस्मिक प्रसूति केन्द्रका मेडिकल अधिकृत डा. टीकाराम राई भन्छन्, “धेरै बच्चा जन्माउँदा बिस्नकलालाई रक्तअल्पता भएको छ । स्वास्थ्य पनि निकै कमजोर छ ।”

बिस्नकलाको परिवार साँच्चिकै सकसमा छ । श्रीमान् जैधनलाई बाँचेका बच्चाहरू कसरी पाल्ने र श्रीमतीको ज्यान कसरी जोगाउने भन्ने पिरलो छ ।

खेतीपातीबाट मुश्किलले तीन महीना खान पुग्छ । कोल्टी बजारमा भारी बोक्ने र लेकमा गएर जडीबुटी खोजेर बेच्ने उनले जानेको काम हो । उनका कुनै पनि सन्तानले आठ कक्षा भन्दा माथि पढ्न पाएका छैनन् । जैधन भन्छन्, “राम्रोसँग खानै पुग्दैन, कहाँबाट पढाउनू !”

बाजुराकै स्वामीकार्तिक गाउँपालिका–२ की ४३ वर्षीया आर्मा बुढाले ६ महीनाअघि १६औं सन्तान छोरो जन्माइन् । १५ वर्षमा विवाह गरेकी आर्माले ९ वटा बच्चा जीवितै जन्माइन् भने ७ बच्चा मृत जन्मिए । पछिल्लो सन्तान जन्माउँदा उनको स्वास्थ्य अवस्था हदैसम्म नाजुक थियो ।

उनी सहाराविना उभिन नसक्ने अवस्थामा थिइन् । पहिला साप्पाटा स्वास्थ्य चौकी, त्यसपछि बाँधु स्वास्थ्य चौकीमा प्रसूति गराउन नसकेपछि तीन जना स्वास्थ्यकर्मीको सहयोगमा उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लगियो । त्यहाँ उनले १६औं सन्तान जन्माइन् ।

आर्माका पति पायन बुढाले भने “पछिल्लो सन्तान मात्रै स्वास्थ्य केन्द्रमा जन्मिएको हो ।” अरू बच्चा घरमै जन्मिएका हुन् त ? त्यो पनि होइन । पायन भन्छन्, “पहिलेका त काम गर्न जाँदा, बाटो हिंड्दा जंगलमा पनि जन्मिएका थिए ।” आर्मा र पायनको परिवारले भोगेको यो कथा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रतिनिधि कथा हो ।

यहाँका धेरै दम्पतीमा परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ र उमेर ढल्किसकेपछि बच्चा जन्माउनुहुँदैन भन्ने चेतना छैन । बूढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मी भन्छिन्, “बाजुराका दुर्गम उत्तरी गाउँमा आर्मा जस्ता आमाहरू घरघरै भेटिन्छन्, जो चालीस वर्ष माथिको उमेरमा पनि महामुश्किलले बच्चा जन्माइरहेका छन् ।”

हिमाली गाउँपालिका–२ कोटगाउँ बस्ने ४२ वर्षीया कल्सरी बुढा १४ सन्तानकी आमा हुन् । उनका १२ सन्तान जीवित छन् । सानो छोरो अहिले तीन वर्षको छ । १४ वर्षको उमेरमा विवाह गरेकी कल्सरीले १६ वर्षको उमेरदेखि बच्चा जन्माउन थालेकी हुन् ।

उनी भन्छिन्, “स्वास्थ्य चौकी थिएन, गर्भ जाँच हुँदैनथ्यो । जहाँ बेथा लाग्यो त्यहीं पाउनुपर्थ्यो ।” 

यातायातको असुविधा, सञ्चारको अभाव र ज्ञानको कमीले अहिले पनि यस क्षेत्रका महिलाले गर्भवती अवस्थामा चुनौतीपूर्ण स्वास्थ्य समस्या झेल्नुपर्छ ।

एउटा गाउँबाट स्वास्थ्य संस्थासम्म पुग्न बाटो र यातायातको सुविधा नहुँदा दुर्गम भेगका महिलाले कतिसम्म पीडा खेप्नुपर्छ भन्ने उदाहरण हुन्, कल्सरी । उनको गाउँबाट बिच्छ्याँ स्वास्थ्य चौकी पुग्न कस्सिएर एक दिन हिंड्नुपर्छ ।

कल्सरीको परिवारमा खान–लाउनकै समस्या छ । तैपनि १०–१२ वर्षका हुँदासम्म दुःखसुख गरेर केटाकेटीलाई नजिकको स्कूल पढ्न पठाइन् । अलिक ठूला भइसकेपछि खान–लाउन दिनै समस्या भयो ।

कल्सरी अहिले छोराछोरीलाई जडीबुटी खोज्न पठाउँछिन् । कोल्टी, मार्तडी बजारमा ज्याला मजदूरी गर्न पनि पठाउँछिन् । भन्छिन्, “बच्चा धेरै पाएर हो कि, पाँचौं बच्चा पाएदेखि तल्लो पेट दुख्न थालेको छ । उपचार गर्न पैसा छैन, पीडा सहेर बसेकी छु ।”

बूढीनन्दा नगरपालिका–२ बस्ने ६२ वर्षकी मुगा गिरीले दुई जुम्ल्याहा समेत गरेर १८ वटा बच्चा जन्माइन् । तीमध्ये ९ सन्तान जीवित छन् । यति धेरै सन्तान कसरी हुर्काइन् उनले ?

मुगा भन्छिन्, “आजभोलि एउटा, दुइटा सन्तान जन्माउँदा दुःख भयो भन्छन् । उहिले त अहिले जस्तो चामल पाइँदैनथ्यो । सिस्नो खुवाएर पनि बच्चा पाल्नुपथ्र्यो ।”

बच्चा हुर्काउँदा आफूले कहिल्यै पेटभरि खान नपाएको बताउने मुगा भन्छिन्, “तल्लो पेट दुख्छ, ढाड निहुरेको निहुरेकै हुन्छ । अहिले सम्झिदा हामीलाई त ईश्वरले मात्रै बचाएछन् जस्तो लाग्छ ।”

‘मरी भनेर सिस्नुघारीमा फाल्यौं, जिउँदै रहिछ’
बिस्ना गुरुङ (५२) बूढीनन्दा नगरपालिका–७

कति बच्चा जन्माउनुभयो ?
१५ वटा बच्चा पाएँ । ८ वटा छँदै छन्, ७ मरिसके ।

धेरै बच्चा जन्माउँदा समस्या पनि धेरै नै भयो होला ?
धेरै दुःख भयो । हिउँद औलतिर, बर्खामा हिमालतिर जानुपर्छ । आफ्नो घर–जग्गा छैन । कतिवेला त बाटोमा हिंड्दाहिंड्दै बच्चा पाएँ । खान समेत राम्रो पाइँदैनथ्यो । धेरै रगत बग्थ्यो । कहिलेकाहीं त बच्चा पाएकै वेला पनि हिंड्नुपथ्र्यो ।

तपाईंको स्वास्थ्यमा पनि समस्या भयो होला नि !
स्वास्थ्य चौकीमा बच्चा पाइएन । त्यो वेला शरीरमा अप्ठ्यारो त परिहाल्छ नि ! चेक–जाँच छैन । बच्चा पाउने वित्तिकै हिंड्यो । चिसोले होला, बच्चा जन्मँदै मर्दै गरे । जेठो बच्चा बाँच्यो । ऊ पछाडिका लगातार ६ वटा मरे । पछि श्रीमान् पनि विते । स्वास्थ्यमा समस्या भएर पनि के गर्नु र ? हामीसँग पैसा हुन्न । धेरै रगत बगेपछि चेक गर्न जान्छौं । १० हजार रुपैयाँ यो वर्ष सकियो । २० हजार रुपैयाँ पोहोर सकियो ।

धेरै बच्चा हुँदा परिवार पाल्न पनि त समस्या भयो होला ?
समस्या पहिला नि भयो, अहिले नि छ । एक दिनमा एक बच्चालाई ५० रुपैयाँ चाहिन्छ । मेरा त धेरै बच्चा छन् । हामीलाई साहै्र समस्या छ । बुढेसकाल लाग्यो । ५० वटा भेडा छन् । त्यही भेडा बेचेर परिवार पाल्ने विचारमा छु ।

धेरै बच्चा जन्माउँदाको कुनै घटना सम्झना छ ?
एक पटक औल झर्दा बाटोमा छोरी पाएँ । पाउने वित्तिकै मरी भन्ठानेर श्रीमान् र मैले छोरीलाई नजिकैको सिस्नुघारीमा लगेर फाल्यौं । तीन घण्टापछि रोएको सुनेर माथि भिउपानीकी मेरी बौरानी (वहुरानी–भाइकी श्रीमती) ले घारीबाट टिपेर ल्याइन् । हिउँ परिरहेको थियो । बौरानीले रिसाउँदै, जन्मिसकेपछि किन फालेको ? जस्तो भए पनि पाल्नुपर्छ भनिन् । अनि हिउँ पुछपाछ गरेर पाल्यौं । अहिले ठूली भएकी छे । (तस्वीरमा सँगै) ८ कक्षामा पढ्छे ।

सबै बच्चा बाटैमा पाउनुभयो त ?
कोही घरमा, कोही जंगलमा, कोही बाटोमा । दुई बच्चा अछाम जाँदा पाएँ । एउटा भोट जाँदा पाएँ । दुई बच्चा अछामको चौखुटेमा र अर्को मार्कुमा पाएँ । ती दुवै बच्चा एक महीना मात्रै बाँचे ।

भयावह पाठेघरको समस्या
असुरक्षित सुत्केरी र धेरै सन्तान जन्माएका महिला अनेक स्वास्थ्य समस्या भोगिरहेका छन् । स्वामीकार्तिक गाउँपालिका–३ की नमकला बुढाले १३ वटा बच्चा जन्माइन् । पाँचौं बच्चा जन्मेदेखि उनलाई पाठेघर खस्ने समस्याले पिरोलिरह्यो ।

सबैजसो बच्चा घरमा र काम गर्न जाँदा जंगलमा जन्माएकी उनले आर्थिक अवस्था कमजोर भएकाले अहिलेसम्म पनि उपचार गर्न सकेकी छैनन् ।

नमकलाको जस्तै कथा छ, स्वामीकार्तिक गाउँपालिका–५ की नानकला कठायतको । उनले १४ वटा बच्चा जन्माइन् । उनलाई पनि पाठेघर दुख्ने, पोल्ने समस्याले पिरोलिरहेको छ । नानकलाले बच्चा पाउँदा एकपटक त पाठेघर समेत बाहिर आएको बताइन् ।

बडिमालिका–३ बस्ने ७३ वर्षीया लक्ष्मी पण्डितले पाठेघर खस्ने समस्या झ्ेलेको १० वर्ष भयो । तेस्रो बच्चा पाएदेखि पाठेघर खस्न थाले पनि शुरू शुरूमा लाज मानेर उनले यो समस्या लुकाउँदै गइन् ।

साह्रै अप्ठ्यारो भएपछि मात्रै उनी जिल्ला स्वास्थ्य कार्यालय बाजुरा पुगिन् । पाठेघर खस्ने सम्बन्धी स्वास्थ्य शिविर लागेको वेला निःशुल्क अपे्रसन गरिन् । लक्ष्मीले भोगेजस्तो समस्या गाउँगाउँमा छ ।

बडिमालिका–८ बस्ने ३५ वर्षीया जलु साउदको पाठेघरमा समस्या आएको त २१ वर्ष भयो । १४ वर्षको उमेरमा पहिलो बच्चा पाएको वेला उनको पाठेघर खसेको थियो । त्यसपछि पनि उनले तीन वटा बच्चा जन्माइन् ।

समस्या अहिले पनि उस्तै छ । बडिमालिकाकै पाटा बस्ने ५० वर्षीया फुगी दानीले पाठेघरमा समस्या भएको १८ वर्षपछि बल्ल उपचार पाइन् । फुगी भन्छिन्, “साह्रै समस्या भएपछि अप्रेसन गरें ।”

धेरै सन्तान जन्माउने र अदक्ष व्यक्तिबाट सुत्केरी गराउने हुनाले दुर्गम भेगका धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् । सुत्केरी अवस्थामा आराम नगर्ने र जीविकोपार्जनका लागि कडा शारीरिक श्रम गर्नुपर्ने जस्ता कारणले पनि यहाँका महिलामा पाठेघर खस्ने समस्या धेरै छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सिनियर अहेव टेकबहादुर खड्का भन्छन्, “सानो उमेरमा विवाह गर्नु, धेरै बच्चा जन्माउनु, सुत्केरी भएलगत्तै काममा जानु, गह्रौं भारी बोक्नु पाठेघर खस्ने मुख्य कारण हुन् ।”

सिनियर अनमी शर्मिला शाहीका भनाइमा, बच्चा धेरै जन्माउने, अशिक्षा र पाठेघर सम्बन्धी समस्या भन्न लाज मान्ने प्रवृत्तिले पनि बाजुराका ग्रामीण भेगका धेरै महिलामा पाठेघरको समस्या छ । यो कति ठूलो समस्या होला भन्ने प्रश्नमा शाही भन्छिन्, “भयावह अवस्था छ ।”

सामान्यतया २० देखि ३५ वर्षको उमेर बच्चा पाउन उपयुक्त मानिन्छ । तर, सुदूरपश्चिमका दुर्गम गाउँहरूमा २० वर्ष पुग्दासम्म दुईदेखि तीन वटासम्म बच्चा भइसकेका हुन्छन् ।

यो क्रम ४५ वर्षसम्म चलिरहन्छ । उमेर ढल्केपछि सन्तान पाउँदा आमा र बच्चा दुवैको ज्यानलाई जोखिम हुने गर्छ । बाजुराका महिला अहिले पनि यही समस्यामा छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रूपचन्द्र विश्वकर्मा भन्छन्, “धेरै बच्चा जन्माउने, कम उमेरमा जन्माउने र उमेर ढल्कँदासम्म बच्चा जन्माउने महिलामा पाठेघर खस्ने समस्या धेरै छ ।” विश्वकर्माका भनाइमा, यसले धेरै आमाहरूको स्वास्थ्य अवस्था जटिल बनाएको छ । कतिको अकालमै ज्यान जाने र बाँच्नेको पनि स्वास्थ्य अवस्था नाजुक हुने गर्छ ।

‘आठ जिउँदा छन् नौ मरे’ 
मुगा गिरी (५०) बूढीनन्दा नगरपालिका–२, कोल्टी

कति बच्चा जन्माउनुभयो ?
आठवटा त जिउँदै छन्, ९ मरे । जुम्ल्याहा समेत गरेर १८ वटा बच्चा भए । जुम्ल्याहा दुई छोरीमध्ये एक बाँचेकी छ ।

धेरै बच्चा जन्माउँदा समस्या पनि भयो होला नि !
समस्या भयो नि ! हामीले घरमा, जंगलमा, खेतबारीमा बच्चा पायौं । स्वास्थ्य चौकी थिएनन् । घरेलु सुँडेनीको सहारामा बच्चा पायौं । अहिले पेट र ढाड दुख्ने समस्या छ । बच्चा पाउँदा पाठेघर पनि बाहिर आएको थियो । पछि सुँडेनीले हातले भित्र हालिदिइन् । यसले गर्दा पेट दुख्ने भयो । ढाड दुख्ने त भई नै रह्यो । त्यतिकै ह्वात्त बच्चा त कसरी आउँदो होला र ? शरीरमा असर त परिहाल्छ नि ! धेरै होशियार नभएपछि पाठेघर बाहिर आउँछ । रगत धेरै बग्छ र कमजोरी हुन्छ ।

यति ठूलो परिवार कसरी पाल्नुभयो ?
सकी–नसकी काम गर्‍यो । बच्चा बोकेर पनि अरुको काम गर्न गयौं । बच्चा बोक्दै पोर्सो (गोठे मल) बोक्यौं । धान कुट्यौं । बच्चालाई ओछ्यानमै छोडेर घाँसपात गर्न गयौं । दाउरा ल्यायौं । हाम्रो पढाइलेखाइ थिएन । भारी बोकेर, काम गरेर बच्चा पाल्यौं । आफ्नो त काम बच्चा पाउने जस्तो मात्रै भयो ।

धेरै बच्चा पाउँदा शरीरलाई दुःख भएन ?
शरीरलाई दुःख भयो नि ! बच्चा धेरै पाएर हो कि अचेल सजिलो गरी उठ्न, बस्न हुँदैन । जीउ दुखिरहन्छ । यी खुट्टाका पातिना (हिप) दुखिरहेको छ । कहिलेकाहीं त रातभरि शरीर दुखेर सुत्न सक्दिनँ ।

कमजोर हुने र कुप्रो पर्ने
धेरै सन्तान जन्माउँदा देखिने अर्को समस्या हो– रक्तअल्पता । बूढीनन्दा नगरपालिका–८ की डोमा गुरुङ ३५ वर्षकी भइन् । अहिलेसम्म उनले ११ वटा बच्चा जन्माइसकिन् । यीमध्ये तीन वटा मात्रै जीवित छन् ।

धेरै बच्चा पाउँदा उनमा रक्तअल्पता देखिएको छ । डा. विश्वकर्मा भन्छन्, “बच्चा पाउने वेलामा हरियो सागपात र आइरन पाइने पोषिलो खानेकुरा खान नपाउँदा रक्तअल्पता (रगतको कमी) हुन्छ ।”

डोमा जस्तै हिमाली गाउँपालिका–१ बस्ने ४१ वर्षीया बिस्नकला थापालाई पनि रक्तअल्पता छ । गएको जेठमा १६औं सन्तान जन्माउँदा मात्रै उनले स्वास्थ्यकर्मीको सहयोग लिएकी थिइन् ।

यस पटक रगत अभावले गर्दा बच्चा जन्माउन समस्या भएपछि उनलाई दुई पिन्ट रगत दिइएको थियो । शरीरमा रगत कम हुँदा रिंगटा लाग्ने र कमजोर महसूस हुने गर्छ ।

सिनियर अनमी प्रमिला बिष्ट भन्छिन्, “धेरै बच्चा पाउने र बच्चा पाउँदा धेरै रगत बग्ने भएकाले बाजुराका दुर्गम भेगका महिलामा रक्तअल्पता धेरै छ ।”

धेरै बच्चा पाउने आमाहरूमा चाँडै नै ढाड दुख्ने समस्या पनि देखिने गर्छ । उनीहरू ३५–४० वर्षको उमेरमै बुढ्यौली देखिने, निहुरिएर हिंड्नुपर्ने अवस्थामा पुग्छन् । १८ वटा बच्चा जन्माएकी मुगा गिरीलाई ३५ वर्षको उमेरदेखि ढाड दुख्ने समस्याले पिरोलिरहेको छ ।

बूढीगंगा नगरपालिका–९ बस्ने ५५ वर्षीया कल्चु नेपाली अहिले लौरोको सहाराविना हिंड्न सक्दिनन् । ११ वटा सन्तानकी आमा कल्चुलाई सातौं सन्तान जन्माउँदादेखि यस्तो समस्या भएको हो ।


‘चारवटा पेटमै मरेका जन्मे’ 
पम्फा रोकाय (४२) बूढीनन्दा नगरपालिका–३, नुरी

कति बच्चा जन्माउनुभयो ?
१३ वटा । चारवटा पेटमै मरेका जन्मे । एउटी छोरी चार वर्षकी हुँदा र एउटा दुई वर्षको छोरो वित्यो । अहिले सात बच्चा छन् । कान्छो तीन वर्षको भयो ।

यति धेरै बच्चा पाउँदा समस्या भयो होला ?
धेरै समस्या भयो । खानलाउन पुग्दैन । कमजोर भएर होला; पेटमै मरेका बच्चा पनि जन्मे । बालबच्चा पाल्नका लागि घर छोडेर पाण्डुसैनको काँधमा होटल थापेर बसेकी छु । होटलको कमाइले अलिअलि कपडा किन्न र खाने व्यवस्था गरेकी छु । पछिल्लो एउटा बच्चा स्वास्थ्य चौकीमा पाएँ । अरु कोही घरमै, कोही जंगलमा र कोही खेतबारीमा काम गर्ने वेला जन्मिए । दुःख त हुने नै भयो ।

यति धेरै बच्चा कसरी पाल्नुभएको छ ?
समस्या धेरै छ । लगाउने कपडासम्म हुन्न । खेतीपाती कम । खान–लाउन समस्या । श्रीमान् मिस्त्री काम गर्नुहुन्छ । त्यहींबाट अलि अलि कमाइ हुन्छ । दुःख गरेर बच्चा पालिरहेका छौं ।

 

‘मर्ने मरिगए बाँच्ने बाँचिगए’ 
कुशा चदारा (६०) कोल्टी–३, सिराडी

तपाईंका कति बच्चा भए ?
१२ वटा पाएँ । ६ वटा छँदै छन्, ६ मरे ।

बच्चा जन्माउँदा के कस्ता समस्या भोग्नुभयो ?
खान, लाउन र बस्न समस्या भयो । बच्चा पाउँदा घर पस्न दिंदैनथे । हामीलाई गोठमै राखिन्थ्यो । गोठमा चिसोले बिरामी परिन्थ्यो । घरकै ओखती मूलो, घरकै जडीबुटीले उपचार गर्थे । उबेला स्वास्थ्य (चौकी) थिएन । धेरै बच्चा हुँदा धेरै समस्या भयो । कहिले मागेर काम चलाउनुपर्‍यो । कहिले अरुको खेतीपातीमा काम गर्‍यो । अरुकै काम गरेर बच्चा पाल्यौं । मर्ने मरिगए बाँच्ने बाँचिगए । बाँचेका बच्चा पाल्न पनि सारै दुःख भयो ।

छोराछोरी पढाउनुभएको छैन ?
एउटा १२ कक्षा, एउटा ११ कक्षा र एउटा १० कक्षामा पढ्दैछ । तर, पढाउन धेरै दुःख छ । पैसा छैन । उनीहरू आफैं भारी बोकेर कापीकलम किन्छन् र पढ्छन् ।

‘सात मरे, चार छन्’ 
पान्तु चदारा (६०) कोल्टी–३

कति बच्चा जन्माउनुभयो ?
११ वटा जन्माएँ ।

११ बच्चा पाउँदा के कस्तो समस्या भोग्नुपर्‍यो ?
धेरै समस्या भयो नि ! खान, लाउनै पाएनौं । सिस्नो–सइनु खायौं । रगत कति हो कति गयो । धेरै दुःख पाइयो । पेट दुख्यो, रगत गयो, चक्कर आयो । दुई तीन दिनकी सुत्केरी हुँदा पनि खान पाइएन । ३० दिनसम्म गोठमै बस्नुप¥यो । श्रीमान् घरमा थिएनन् । खाना समेत आफैं पकाएर खानुपर्‍यो  ।

किन त्यति धेरै बच्चा जन्माउनुभयो त ?
त्यो वेला सुइ थिएन । केही औषधि थिएन । उवेला अस्पताल पनि थिएन । समय नै लाटो थियो ।

बच्चा धेरै हुँदा परिवार पाल्न के–कस्तो समस्या भयो ?
साग खायौं, सइनु (सिस्नु) खायौं । केही मरे, केही बाँचे । ११ जन्मिएकामा यताउता हुँदा ७ मरे । अहिले चार जना छन् । अरुको काम गरेर बच्चा पाल्न गाह्रो छ । खान, लाउन पुग्दैन । जग्गा थोरै छ । श्रीमान् वितिगए । छोरो बम्बई गएको छ । अलि अलि कमाउँछ ।

‘तल्लो पेट दुख्दो छ, अस्पतालमा औषधि छैन भन्छन्’ 
बिस्ना थापा (६०), पाण्डुसैन–५

कति बच्चा जन्माउनुभयो ?
१५ बच्चा जन्माएँ । १० मरे, पाँच बाँचेका छन् ।

यति धेरै बच्चा जन्माउँदा दुःख भयो होला ?
कहिले अछामतिर, कहिले भोटतिर जाँदा जाँदै जन्मिए । बाख्रापाठासँग जानु पर्दा कहिले वनजङ्गलमा पनि बच्चा पाएँ । सासूससुराले काम नगरे ठीक मान्दैनन् । काम गर्न वनजंगल जानैपर्‍यो । कहिलेकाहीं बेस्सरी बिरामी समेत भएँ । उपचार गर्नलाई अस्पताल पनि हुँदैन, पैसा पनि हुँदैन ।

१५ बच्चा जन्माउँदा तपाईंलाई के–कस्तो समस्या भयो ?
समस्या त हुने नै भयो । वनजंगल जानुपर्‍यो । पेट दुख्दा पनि बस्न पाइँदैन । पाठी (भेडा) गोठालो जानुपर्‍यो । दही, दूध, घिउ, केही खान नपाइने । केही छोराछोरी चिसोले मरे । केही पेटबाट आउँदै मरेर आए ।

छोराछोरी पढाउनुभयो ?
छोरीलाई त पढाउन सकिनँ । एउटा छोरो पुलिसमा गएको छ, उसले १२ कक्षासम्म पढेको छ । अर्को छोरा आठमा पढ्छ । एउटा सातमा अनि अर्को तीनमा पढ्दैछ ।

धेरै बच्चा जन्माउँदा स्वास्थ्यमा के समस्या पर्‍यो ?
छाती दुख्छ । पिठ्यूँ दुख्दो छ । तल्लो पेटै दुख्दो छ । अस्पताल गयो औषधि छैन भन्छन् । किनेर खानुपर्छ । किनेर खान पैसा हुन्न । रगत धेरै बग्यो । शरीरमा रगत नभएर बच्चा पनि पेटमै मरेर जन्मे होलान् । मान्छे मर्ने रगत बगेरै त हो ।

‘चिसैले मर्छन्, बचाउन सकिंदैन’ 
डोमा गुरुङ (३५), पाण्डुसैन

कति बच्चा जन्माउनुभयो ?
११ वटा ।

यति धेरै बच्चा जन्माउँदा दुःख भयो होला ?
भयो नि ! पाल भित्र बस्नु पर्दा चिसो भयो । कति त हिंड्दाहिंड्दै पनि जन्मिए । खाना राम्रो भएन, आराम पुगेन । रगत बग्यो । धेरै समस्या थियो ।

अहिलेसम्म परिवार नियोजनको साधन प्रयोग गर्नुभएको छ ?
गरेको छैन । भेडा लिएर कहिले भोटतिर जान्छौं, कहिले अछाम जान्छौं । परिवार नियोजन थाहा छैन ।

११ वटा बच्चा घरमै जन्माउनुभयो ?
दुइटा घरमा जन्माएँ, अरु सबै बाटोमा । कोही औल जाँदा, केही भोट जाँदा जन्मिए । केही बच्चाको पालमै मृत्यु भयो । सारै चिसो हुँदा बच्चा बिरामी हुन्छन् र मर्छन् । बचाउन सकिंदैन । बाँचेकालाई पनि जोगाउन साह्रै समस्या हुन्छ ।

धेरै बच्चा जन्माउँदा स्वास्थ्यमा के कस्तो समस्या भयो ?
पेट दुख्ने, टाउको दुख्ने, रगत बग्ने, ज्वरो आउने, कमजोर हुने समस्या भइरहन्छन् । मेरा बच्चा जन्मँदै मर्दै गए । अहिले एउटा छोरो र दुइटा छोरी मात्र जीवित छन् । पछिल्लो बच्चा २० दिनको भएको छ । यो घरमै जन्मेको हो । स्वास्थ्य चौकीबारे सुनेकी छु, तर कहिल्यै स्वास्थ्य चौकीमा बच्चा पाएकी छैन ।

बाटोमा बच्चा जन्माउँदा के कस्ता दुःख भोग्नुभयो ?
खान, लाउन पुग्दैन, चिसो हुन्छ । बच्चा पाएकै वेलामा पनि हिंड्नुपर्छ । रगत बग्छ । तल्लो पेट दुखिरहेको हुन्छ । पाठेघर खस्ने डर हुन्छ । कहिलेकाहीं रिंगटा लागेर ढल्ने अवस्था हुन्छ ।

संस्कृति र गरीबी
बाजुराको उत्तरी भेगका भोटे जाति भनिने जनजाति महिलामा यो समस्या अझ् धेरै छ । धेरै बच्चा त्यो पनि असुरक्षित रूपमा; बाटोघाटोमा जन्माउने भएकाले उनीहरूको स्वास्थ्य निकै कमजोर छ ।

कडा परिश्रम गर्नुपर्ने र गर्भवती अवस्थामा समेत आराम गर्न नपाउने भएकाले उनीहरू जोखिममा हुन्छन् । यसको अर्थ–सामाजिक परिवेश केलाउँदै भोटे जनजाति महासंघका अध्यक्ष नृप थापा (भोटे) भन्छन्, “गरीबीका कारण चिसो छल्न सपरिवार भेडा–च्याङ्ग्रा लिएर हिउँदका ६ महीना बेंसी झर्ने भएकाले अधिकांश भोटे महिला बाटोमै बच्चा जन्माउन बाध्य हुन्छन् ।”

मध्य तथा सुदूरपश्चिमका उच्च पहाडी जिल्लाका कतिपय समुदाय मौसमी बसाइँ सर्ने गर्छन् । त्यस क्रममा महिलाहरू बाटोमा बच्चा जन्माउन बाध्य हुन्छन् ।

उनीहरूले गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्य चौकी देख्न पनि पाउँदैनन् । आवश्यक खोप पाउने अवस्था नै रहन्न । परिणाम, धेरै आमा र बच्चा जोखिममा पर्छन् । उनीहरूमध्ये कतिको मृत्यु हुन्छ । त्यो सार्वजनिक जानकारीमा समेत आउँदैन ।

बाजुराका उत्तरी क्षेत्रमा भोटे समुदायका जनजातिको बसोबास छ । मौसमी बसाइँसराइ, भौगोलिक विकटता र चेतनाको कमीले उनीहरूको स्वास्थ्य संस्थासम्म पहुँच छैन ।

त्यसमाथि दुर्गम क्षेत्रमा भएका स्वास्थ्य संस्था पनि सेवा र साधनस्रोतका दृष्टिले कमै मात्र प्रभावकारी छन् । जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव दीपक शाह भन्छन्, “धेरै पक्षहरू होलान्, तर गरीबी नै यसको मुख्य कारण हो ।”

 

प्रतिकृया दिनुहोस