फुजेलका कृष्णप्रसाद अधिकारी हत्या मुद्दाको पेशी सर्यो
यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः २५ मंसीरका लागि सरेको हो । हालसम्म उक्त मुद्दाको पेशी १५ औँ पटक सरेको छ । पछिल्लो पटक १२ कात्तिकका लागि पेशी तोकिएको थियो । त्यसअघि असोज १ गतेका लागि तोकिएको पेशी १२ कात्तिकलाई सारिएको थियो ।
जिल्ला अदालत, चितवनमा भर्खरै आएका न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा परेको सो मुद्दा प्रतिवादी कानून व्यवसायी गोपीलाल देवकोटाको निवेदनका कारण पुनः सारिएको अदालतका शाखा अधिकृत गम्भीर घिमिरेले बताए । देवकोटाले सो दिन बहस गर्न नसकिने भएकाले पेशीबाट हटाई पाउँ भनी निवेदन दिएका थिए । झण्डै एक वर्षदेखि सो मुद्दाको पेशी विभिन्न कारण सर्दै आएको छ ।
२४ जेठ २०६१ मा कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।
जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् ।
तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको थियो । सरकारी वकिलका तर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेस भएकामा २०७१ साल असार महिनामा पुनरावेदन अदालत हेटौँडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो ।
त्यसपछि सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नु भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् ।
किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् ।
प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला माओवादीले कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा २४ जेठ २०६१ मा हत्या गरेको थियो ।
छोरा कृष्णको हत्यामा संलग्नलाई कारवाहीको माग राख्दै अनसन बसेका नन्दप्रसाद अधिकारीको ६ असोज २०७१ मा निधन भएको थियो । अनसनको ३३० औं दिनमा निधन भएका नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा छ । कृष्णप्रसादकी आमा गंगामाया जीर्ण स्वास्थ्य अवस्थमा वीर अस्पतालको शैय्यामा रहेर न्यायका लागि संघर्षरत छिन् ।