नेपाल र अष्ट्रियाबीच लगानी सम्झौता
नेपाल र अष्ट्रियाबीच लगानी सम्झौता भएको छ ।
नेपालको आर्थिक विकासलाई केन्द्रमा राखेर नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौंमा आयोजित एक समारोहमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतामा लगानीको वातावरण बनाउने, औद्योगिक लगानीको विस्तार गर्नेजस्ता विषय उल्लेख गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री सुनिलबहादुर थापाले नेपालमा लगानीको लागि उपयुक्त वातावरण बनेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपालका लागि अष्ट्रियाका राजदूत ब्रिजीट ओपिङ्गरले आफ्नो मुलुकका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गरेर फाइदा लिन आग्रह गरिन ।
उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा राजनीतिक स्थायित्व र नीतिगत सुधारबाट नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको धारणा राखेकी थिइन् ।