माओवादी नेता बालकृष्ण ढुङ्गेल पक्राउ
सशस्त्र द्वन्द्वको सयममा भएको ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर गरिएका माओवादी नेता बालकृष्ण ढुङ्गेल पक्राउ परेका छन् ।
१४ कात्तिक बिहान ११ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको जनाएको छ ।
ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको १० असार, २०५५ मा हत्या गरिएको थियो । उनी विरुद्ध परेको मुद्दामा १९ पुस, २०६६ मा सर्वोच्च अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
गत २९ फागुनमा रामेछापको सैंपुमा भएको कार्यक्रममा ‘अदालतको फैसला मान्दिन, फैसला सुनाउने न्यायाधीशमाथि कार्वाही गर्छु, फिला चिरिदिन्छु’ भन्दै भाषण गरेपछि उनी विरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको मुद्दा परेको थियो ।
सोही मुद्दामा गत ३१ चैतमा सर्वोच्च अदालतले सात दिनभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकको नाममा आदेश गरेको थियो । उनी प्रहरीको फरार सूचिमा रहेका थिए ।