ब्लगसोमवार, कार्तिक १३, २०७४

लोप हुँदै गोरेटाहरू

कनकमणि दीक्षित

आज मूलबाटोको कुरै नगरौं, गाउँगाउँ जोड्ने गोरेटाहरू पनि धेरै ठाउँमा लोप भइसके । तल्लो र माथिल्लो गाउँको पनि त्यस्तै हाल । सडक जताततै बनेकै छन्, ‘डोजर डिजाइन’ का, मोटर–बस नभए पनि मोटरसाइकल छँदैछन्, अनि को हिंडोस् ?

नेपालका डाँडाकाँडाका हजारौं वर्षदेखिको बसोबास प्रणाली एकै दशकयता यस्तरी फेरबदल भएको छ कि यसले पर्यावरण नै परिवर्तन गरेको छ । एकापट्टि शहर र मैदानतर्फको बसाइँसराइले ‘नेपाल खाल्डो’ तथा तराई–मधेशमा वातावरणीय ह्रास आएको छ भने अर्कापट्टि पहाडमा वन–फिर्ती भइरहेको हामी पाउँछौं ।

उपत्यका — आदिकालमा काठमाडौं उपत्यका विशाल ताल थियो, थिग्रिएपछि यहाँ जंगल र हरियाली छायो । तत्पश्चात् ३०००–५००० वर्षअघि बसोबास शुरु भयो, जंगल जतिलाई धान खेत र बारीले विस्थापित गरे । शहर र गाउँ टारहरूमा थुप्रिए । आधुनिक युग (२००७ यता) खेतीको जमीन अतिक्रमण हुँदै गयो, तर पनि घर वरिपरि कम्पाउण्डका उर्वर जमीनमा रुख उम्रि नै रहे ।

काठमाडौं–ललितपुरको बीचमा बग्दै वागमती । तस्वीरः कनकमणि दीक्षित

यसरी सन् १९७०–२००० सम्म उपत्यकाको शहरी क्षेत्रमा हजारौं वर्ष (धानबालीको कारण) नदेखिएको रूख/बुट्यान फिर्ता आए । तर जग्गाको मोल बढ्दै जाँदा सबै कम्पाउण्डहरू मासिए, र आजको उजाड शहरीपनले दक्षिण र पूर्वका केही भाग बाहेक पूरै उपत्यकामा ‘वाल–टू–वाल’ सिमेन्ट–कंक्रिट छाएको छ । अनि झिंगटीको छानाबाट चिनिने शहरको पहिचान अब सर्वत्र ‘फ्ल्याट रुफ’ अनि प्लाष्टिकको पानी ट्यांकी र मोबाइल टावर – र हाइराइज टावर – ले परिभाषित भएको छ ।

तराई–मधेश — नेपाली पहाड तथा भारतबाट भएको बसाइँसराइले ५–६ दशक अगाडिको समथर भूभाग अहिले चिन्नै नसकिने भएको छ । हुन त बर्माबाट फर्केका नेपालीभाषी तथा (पूर्वी तराईमा) भूटानी शरणार्थीको बसोबासको लागि जंगल फडानी नभएको होइन । तर अधिकांश फडानी उत्तर र दक्षिणबाट आउनेको बसोबासको लागि नै भयो ।

यस क्रममा आदिकालदेखि गंगा नदीसम्म फैलिएको ‘मध्यदेश’ को घनाजंगल जुन नेपालमा मात्र आधुनिक युगसम्म बचेको थियो, त्यो लगभग मासिएको छ । ब्रिटिशको वेलामा पनि ‘रेलवे स्लिपर’ को लागि सालका जंगल ढालिए, तर तराई–मधेश र भित्रीमधेशको जंगल सखापै भएको त्यसपछिको आधुनिक युगमा हो ।

ढल्केबरदेखि पथलैयासम्म जंगल नै थियो, केही दशकअघिसम्म, तर आज टुक्राटुक्री मात्र पाइन्छ । हवाईजहाजबाट काठमाडौं उत्रँदै गर्दा देखिने बारा–रौतहटका बचेखुचेका जंगलका टुक्रा महीनैपिच्छे साँघुरिंदै गएको देखिन्छ । ‘चारकोसे झाडी’ आज आएर स्मृतिमा मात्र रहेको छ र हिमाल, पहाड तथा चुरेमा वन संरक्षणको धेरै कुरा हुँदा पनि तराई–मधेशको झाडी भने अपहेलित, अतिक्रमित र टुहुरो बन्यो । लाग्छ यसलाई विदा दिन सबै आतुर छन् । जस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने होडमा त्यहाँ हुने जंगल विनाशप्रति कतै, कसैको चासो देखिंदैन ।

पहाड — मध्यपहाडी भेगको बसोबास प्रणालीमा फेरबदल हुँदा आदिकालदेखि आजसम्म उल्लेख्य संक्रमण आएको देखिन्छ । मानिसहरू पहाडी जीवनको कष्ट (खेती, स्वास्थ्य सेवा, रोजगारी, सामाजिक सुरक्षा, इत्यादिसँग सम्बन्धित) सामना गर्न बेंसी र बस्तीतर्फ पलायन भए । वैदेशिक रोजगारको आम्दानीले दशौं हजार परिवारलाई शहरतिर पुर्‍यायो । भेग–भेगमा खेत र कान्ला बाँझो राखिन थाले ।

‘एलपीजी’ पकाउने ग्याँसको कारण वनमा पस्नुपर्ने आवश्यकता भने घट्दै गयो । कोइलाको खपत त घट्दो नै थियो । उता सामुदायिक वन अभियानको कारण वन संरक्षित नै थियो । राम्रो नराम्रो जे भए पनि मोटरबाटो विस्तारले पहाडे गोरेटोको प्रयोग घट्यो । आज आएर ऐतिहासिक पैदल मूलबाटाहरूबारे ज्ञान धेरैतिरको गाउँघरमा हराइसकेको छ । अघिल्लो साल गायक अमृत गुरुङ र साथीहरूसँग लेखकले पुरानो गोरखा–काठमाडौंको पैदलमार्ग पहिल्याउन खोज्दा बाटो देखाइदिने गाउँले भेट्टाउनै गाह्रो !

आज मूलबाटोको कुरै नगरौं, गाउँगाउँ जोड्ने गोरेटाहरू पनि धेरै ठाउँमा लोप भइसके । तल्लो र माथिल्लो गाउँको पनि त्यस्तै हाल । सडक जताततै बनेकै छन्, ‘डोजर डिजाइन’ का, मोटर–बस नभए पनि मोटरसाइकल छँदैछन्, अनि को हिंडोस् ? यसै कारण नेपालका डाँडाकाँडामा बसोबास शुरु भएदेखिका गोरेटाहरू आज झाडीमा परिणत हुँदैछन् । कम्तीमा माथ्लो घर र तल्लो घरबीच हामी आजसम्म हिंड्दैछौं ।

यो सबै लेख्नुको अर्थ विलाप गर्नु होइन, मात्र ऐतिहासिक वातावरणीय फेरबदललाई ‘नोट’ गर्नु हो । तर अलि अलि मन त दुख्छ नै, आदिकालदेखिका पूर्वजले देखेका, भोगेका, गरेका कुरालाई आज विदा गरिंदै गएकोमा ।

प्रतिकृया दिनुहोस