टिप्पणीसोमवार, कार्तिक १३, २०७४

सी चिनफिङको महत्वाकांक्षा र अबको चीन

दिनकर नेपाल

अधिवेशनमा सीले चिनियाँ समाजको नयाँ युगको अवधारणामा जोड दिए । ‘माओले चीनलाई अस्थिरताबाट छुटाए, तङ स्याओफिङले समृद्धिको ढोका खोले’ भन्दै सीले अब आफ्नो काँधमा चीनलाई संसारकै बलियो बनाउने अभिभारा आएको बताएका छन् ।

भर्खरै सकिएको चिनियाँ कम्युनिष्ट पार्टीको १९औं अधिवेशनबाट राष्ट्रपति सी चिनफिङ दोस्रो कार्यकालका लागि महासचिव चुनिएका छन् । चीनको एकदलीय कम्युनिष्ट शासन प्रणालीमा दलको महासचिवको दुई कार्यकाल तोकिएको छ । तर, राष्ट्रपतिका लागि भने कुनै बन्देज छैन ।

राष्ट्रपतिमा दोस्रो कार्यकालको घोषणासँगै पार्टी प्रमुखको उत्तराधिकारीको चयन गर्ने प्रचलनले भने यो महाधिवेशनमा निरन्तरता पाएन । बरु, पार्टीको संविधानमा माओ र तङ स्याओफिङ दर्जामा सी–विचारधारालाई स्थान दिइएको छ । चिनियाँ राजनीतिमा नेताको हैसियत अनुसार उनीहरूको विचारलाई नाम दिने गरिएको छ ।

पार्टी संविधानमै माओको ‘विचार’ अथवा ‘वाद’, तङ स्याओफिङको ‘सिद्धान्त’ तथा हु जिन्ताओलगायत नेताहरूको ‘दृष्टिकोण’ भनी वर्गीकरण गरिएको छ । पछिल्लो वर्गीकरणमा सीको ‘चिनियाँ विशेषतासहितको समाजवादको बाटोबाट चीनलाई विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र बनाउने’ विचारलाई सी–वाद भनेर माओसरह नै स्थान दिइएको छ । यी संकेतहरूले सीले पनि माओसरह उमेर वा कार्यकाल हदले अवकाश लिनु नपर्ने महानेताको उँचाइ बनाउन सफल भएको देखाएको छ ।

‘नयाँ युग’
अधिवेशनमा सीले चिनियाँ समाजको नयाँ युगको अवधारणामा जोड दिए । ‘माओले चीनलाई अस्थिरताबाट छुटाए, तङ स्याओफिङले समृद्धिको ढोका खोले’ भन्दै सीले अब आफ्नो काँधमा चीनलाई संसारकै बलियो बनाउने अभिभारा आएको बताएका छन् । आन्तरिक र बाह्य दुवैतर्फ सुदृढ बनाउँदै चीनलाई ‘नयाँ युग’ मा प्रवेश गराउने रणनीतिक योजना उनले अघिसारेका छन् ।

सीअघिका दुई राष्ट्रपतिहरू तङ स्याओफिङका असल अनुयायी जस्ता मात्र थिए । ‘अन्तर्राष्ट्रिय मञ्चमा चीनले नेतृत्व लिनुहुँदैन, आफ्नो समय पर्खनुपर्छ’ भन्ने तङको सिद्धान्तलाई उनीहरूले अनुसरण गरेका थिए । तर, सी भने महत्वाकांक्षी देखिए । अब चीनको समय आएको बताउँदै उनले चिनियाँ सपनाको अवधारणामार्फत ‘बेल्ट एण्ड रोड’ जस्ता महत्वाकांक्षी योजनामा सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन् ।

आफ्ना महत्वाकांक्षी योजनामार्फत सी चिनियाँ मानसमा गढेको अपमानबोध सम्बोधन गर्न सफल देखिएका छन् । सन् १८३९ मा अफिम व्यापारमा रोक लगाएका कारण अंग्रेजहरूले चीनमाथि आक्रमण गरी ध्वस्त पारेका थिए । त्यसयता सन् १९४९ मा माओ नेतृत्वको सशस्त्र क्रान्तिले कम्युनिष्ट शासन स्थापित नगर्दासम्मको अवधिलाई चीनमा ‘अपमानको शताब्दी’ भनिन्छ । चिनियाँ बुझइमा लामो समय संसारकै श्रेष्ठतम् सभ्यता रहेको चीन विज्ञान र तकनिकीमा पछाडि परेकै कारण पराधीन भएको थियो ।

त्यो पराधीनताबाट माओ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीले उद्धार गर्‍यो । माओ नेतृत्वमै चीनमा लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य भयो र एकदलीय शासन प्रणालीले जरा गाड्यो । तर माओमा केन्द्रित अत्यधिक सत्ता शक्तिको दुरुपयोग पनि भयो । इतिहासकै दुस्साहसी योजनाहरू अघि बढाइए, जसका कारण लाखौंको ज्यान गयो । माओपछि तङले आर्थिक उदारीकरणतर्फ जाने रणनीतिक नेतृत्व प्रदान गरेपछि मात्र चीन द्रुत गतिमा आर्थिक वृद्धि हासिल गर्न सफल भयो ।

अहिले सी त्यसैमा एक खुड्किलो थप्न चाहन्छन् । चीनलाई विश्वको सबैभन्दा बलियो शक्तिको रूपमा स्थापित गर्दै यथोचित स्थान दिलाउने वाचाका साथ उनी पार्टीभित्र शक्ति संचय गर्न सफल भएका छन् । त्यसैले पनि चिनियाँ सेनाको आधुनिकीकरणलाई उनले विशेष प्राथमिकता दिएका छन् ।

सीले चीनलाई ‘महान् आधुनिक समाजवादी देश’ बनाउन दुई चरणको योजना प्रस्तुत गरेका छन् । पहिलो चरणअन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०२० देखि २०३५ सम्ममा चीनलाई मध्यमस्तरमा समृद्ध समाजको रूपमा विकास गर्ने आधार तयार गर्नेछ भने त्यसपछिका १५ वर्षमा सामाजिक आधुनिकीकरणको सपना पूरा गर्न थप मिहिनेत गर्नेछ ।

दोस्रो चरण सन् २०३५ देखि २१औं शताब्दीको मध्यसम्म पार्टीले आधारभूत रूपमा आधुनिकीकरणको काम सम्पन्न गर्नेछ र बाँकी पन्ध्र वर्ष आधुनिक, समाजवादी देश बनाउन खटिनेछ । सीका अनुसार, आधुनिक समाजवादी देशको अर्थ ‘समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, सांस्कृतिक रूपमा अग्रगामी, सद्भावपूर्ण र सुन्दर चीन’ हो ।

‘चिनियाँ विशेषतायुक्त समाजवाद’ को नाम दिंदै तङ स्याओफिङले चीनलाई उदारीकरणतर्फ डोर्‍याएका थिए । सोभियत संघमा पेरेस्त्रोइका र ग्लास्नोस्त नाम दिएर गोर्वाचेभको नेतृत्वमा सुधारवादी र उदारवादी बहस थालिनुअघि नै चीन त्यो बाटोमा हिंडेको थियो । जुन माओको मृत्युपछि मात्र सम्भव भएको थियो । त्यसैको फलस्वरुप चीनमा कम्युनिष्ट पार्टीको आधिपत्यमा बजारीकरण शुरू गरियो ।

तङकालभन्दा सीको ‘नयाँ युग’ फरक देखिने अड्कल काट्न सकिन्छ । तङको आर्थिक विकासको मोडलमा सीमित वर्ग द्रुत गतिमा धनाढ्य बन्ने तर धेरै जनता गरीब नै रहने बाध्यता देखिएको थियो । दीर्घकालमा धेरैको उन्नतिका लागि अल्पकालमा केहीको समृद्धि भन्ने त नारा नै थियो तर सीले सन्तुलित विकासको लक्ष्य प्रस्तुत गरेका छन् । यताका दशक चीन संसारकै ‘फ्याक्ट्री’ भनी चिनिन थालेको छ । तर, सीले भने उत्पादन र अन्वेषणमा नयाँ फड्को मार्नुपर्ने समय आएको बताएका छन् । अन्तर्राष्ट्रियस्तरमा चीनले बढी प्रभावकारी भूमिका खेल्न खोजेको त प्रष्ट नै छ ।

नयाँ ध्रुवीकरण
बढ्दो आर्थिक असमानतासँगै डोनाल्ड ट्रम्पको विजयले अमेरिकाको उदार पूँजीवादी लोकतन्त्रप्रति नै संशय गर्न थालिएको छ । यस्तो अवस्थामा सीको चिनियाँ विशेषतासहितको समाजवादले संसारको ध्यानाकर्षण गर्नु अस्वाभाविक पनि होइन । सोभियत संघ–अमेरिका शीतयुद्धका वेला चीन वैचारिक ध्रुवीकरणबाट जोगिंदै आएको थियो ।

निक्सन कार्यकालमा हेनरी किसिन्जरको पहलमा चीन अमेरिकासँग नजिकिएको पनि हो । त्यसो त शास्त्रीय समाजवादी दृष्टिकोणमा चीनको अर्थव्यवस्थाको बजारीकरण र उदारीकरणलाई विचलनको रूपमा पनि लिइएको थियो । सोभियत संघको पतनपछि भने चीन कम्युनिष्ट शासन व्यवस्था भएको एक मात्र देश हुन पुगेको थियो ।

बढ्दो असमानता, आर्थिक मन्दी, लोकरिझ्याइँका कारण लोकतन्त्रमै पलाएको दक्षिणपन्थी झुकाव आदि कारणले गर्दा विश्वमै नव–उदारवादको विकल्प खोज्न थालिएको छ । यस्तो वेला समाजवादी उद्देश्य र एकदलीय शासन व्यवस्था भएको चीन झ्नै बलियो हुँदा ध्रुवीकरणको सम्भावना पनि देखिन्छ । सामरिक दृष्टिकोणबाट पहिल्यै दुईध्रुवीय समीकरणमा पुगेको विश्व–सन्तुलन आउँदो एक शताब्दीका लागि गहिरो प्रतिस्पर्धामा जाने कुरालाई नकार्न सकिन्न ।

वाम एकताबाट तरंगित नेपाली राजनीतिमा पनि यो ध्रुवीकरणको असर देखिने प्रष्ट छ । हुन त यो नयाँ परिघटनामा पनि चीनको हात देख्नेहरू नभएका होइनन् । केही समयअघि नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री पार्टीको स्थायी समिति सदस्यमा पदोन्नत भएका छन् । यसलाई पनि अर्थपूर्ण रूपमा हेर्न सकिन्छ ।

नेपालमा वाम र लोकतान्त्रिक ध्रुवीकरणसँगै भारत र चीनको प्रत्यक्ष प्रतिस्पर्धा देखिन भने बाँकी नै छ । भूराजनीतिक प्रतिस्पर्धाको खेलमैदान हुनबाट बच्नु यतिवेला नेपालको पहिलो प्राथमिकता बन्नुपर्छ ।

प्रतिकृया दिनुहोस