डा केसीको अनशन रोक्न सरकारको पहल
व्यवस्थापिका संसदमा विचाराधिन मनमोहन मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सम्बन्धी विधेयक सरकारले फिर्ता लिने भएको छ ।
मन्त्रिपरिषदको २ असोजमा बसेको बैठकले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
त्यसैगरी सरकारले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) को नाम परिवर्तन गरी पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा राख्ने निर्णय समेत गरेको छ भने मनमोहन मेडिकल कलेजको भौतिक संरचना खरिद गर्न प्रक्रिया अघि बढाएको छ ।
डा गोविन्द केसीका मागबारे प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा जानु अगावै स्वास्थ्यमन्त्री गगन थापा लगायतसँग छलफल गरे अनुसार मन्त्रिपरिषदले विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा नियुक्ति, चिकित्सा शिक्षा विधेयक संशोधनसहित संसदको चालू अधिवेशनबाट पारित गर्ने लगायतका निर्णय पनि गरेको छ ।
डा केसीलाई पत्र पठाइने
सरकारले डा केसीका माग सम्बोधनका लागि पहल गरिरहेको र त्यससम्बन्धी धेरै निर्णय भइसकेको भन्दै उनलाई पत्र पठाउने भएको छ ।
डा केसीले आफ्ना माग पूरा नभए आजदेखि अनशन शुरु गर्ने भन्दै एक साताअघि सरकारलाई अल्टिमेटम दिएका थिए ।
उनले आजै दिउँसो ३ बजे शिक्षण अस्पतालमा पत्रकार सम्मेलनको आयोजना समेत गरेका छन् ।
सरकारले डा केसीसँग भएको सहमति कार्यान्वयन हुँदै गरेको र उनका माग पूरा गरिने लिखित पत्र पठाएरै उनको ९ औं आमरण अनशन रोक्ने प्रयास गरेको हो ।
डा केसीले सरकारको निर्णयका बारे आफूले सञ्चारमाध्यमबाट सुने पनि लिखित रुपमा नआएकोले आफूलाई विश्वास नभएको बताएका छन् ।