४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
२१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ४५ जिल्लामा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
दोस्रो चरणको निर्वाचनका लागि १६ कार्तिकमा उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ ।
दोस्रो चरणमा प्रतिनिधि सभातर्फ १२८ र प्रदेश सभातर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ भने एक करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणमा प्रदेश नं १ को इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा निर्वाचन हुँदैछ ।
प्रदेश नं २ को आठ वटै जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा निर्वाचन हुँदैछ ।
त्यस्तै, प्रदेश नं ४ को तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी (बर्दघाटसुस्ता पूर्व), प्रदेश नं ५ को पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्वाचन हुनेछ ।
६ नं प्रदेशको सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ को कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा दोस्रो चरणको निर्वाचन हुनेछ ।