नारायणगढ–मुग्लिन सडकमा पुनः यातायात रोकेर काम गरिने
नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ ।
नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ । कात्तिक १५ गतेतिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ ।
ठेकेदार कम्पनीले दैनिक आठ घण्टा सवारी रोक्न माग गरेपनि ६ घण्टासम्म रोकेर काम अगाडि बढाउने तयारी रहेको उनले बताए । भने, “अब हामी स्थानीय प्रशासनसँग छलफल गरेर दिउँसो सवारी रोकेर कामलाई तीव्रता दिन्छौं ।”
यसअघि वर्षा शुरु हुनुपूर्व दैनिक आठ घण्टा सवारी साधन रोकेर काम गरिँदै आएको थियो । वर्षा र चाडपर्वको समय भएकाले सवारी साधन रोक्न छाडिएको थियो ।
सडक खण्डको विभिन्न ठाउँमा करिब आठ सय मिटर क्षेत्रफलमा भित्तो काट्नुपर्ने काम बाँकी छ । जसका लागि सवारी रोकेर मात्रै काम सम्भव हुने यादव बताउँछन् ।
ठेकेदार कम्पनीलाई फेब्रुअरी २० तारेखसम्मको समय रहेको भए पनि गएको वर्षामा काम गर्न नपाएकाले अरु एक महिना थप हुनसक्ने भन्दै उनले आगामी अप्रिलसम्ममा काम सम्पन्न हुने दाबी गरे । आउँदो अप्रिलमा निर्माण थालेको तीन वर्ष पुग्दैछ ।
नारायणगढ मुग्लिन सडक खण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ, भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइँदैछ ।