झापामा डेंगुबाट ३४८ संक्रमित, एकको मृत्यु
डेंगुबाट झापा अर्जुनधारा–७ की एक महिलाको मृत्यु भएको छ ।
३६ बर्षीया सुनिता अधिकारीको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वस्थ मान्छेको रगतमा प्लेटलेटको मात्रा प्रति एक माइक्रोलिटरमा एकलाख ५० हजार हुनुपर्नेमा डेंगु संक्रमित ती महिलाको रगतमा प्लेटलेटको मात्रा घटेर ७५ हजारमा झरेको परीक्षणबाट थाह भएको झापा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत कुलबहादुर पौडेलले बताए ।
३४८ डेंगु संक्रमित
मध्य झापाको विर्र्तामोड नगरमा रहेका सबैजसो अस्पताल डेंगु संक्रमितले भरिएका छन् ।
विर्तामोडको बी एण्ड सी अस्पतालमा ९६ जना, विर्तासिटी अस्पतालमा ६९ जना, मनमोहन अस्पतालमाा ९० जना, कनकाई अस्पतालमा २६ जना, मेडिका अस्पतालमा ३० जना र विर्तामोडकै ओम डाइग्नोस्टिक सेन्टरको प्रयोगशालामा पछिल्लो एक सातामा ३ जनामा डेंगु संक्रमण पाइएको छ ।
यसैगरी सदरमुकाम भद्रपुरस्थित जनस्वास्थ्य कार्यालयको प्रयोगशालामा ६ जना, मेची अञ्चल अस्पताल भद्रपुरमा १ जना र यादव क्लिनीकमा ३ जनामा डेंगुको संक्रमण पुष्टी भएको छ ।
यसैगरि दमकस्थित लाईफलाईन अस्पतालमा ६ जना, काँकडभिट्टा स्वास्थ्य चौकीमा ५ जना र शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जनामा पनि सो संक्रमण देखिएको छ ।
संक्रमित ति विरामी उपचारको क्रममा छन् । यसैगरि सातजना डेंगु संक्रमित भारतको सिलिगढीमा उपचाररत रहेको पनि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
डेंगु सफा पानीमा बस्ने एडिस एजिप्टाई नामको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । यो लामखुट्टे पानीको ट्यांकी, रंगहरुका डब्बा, जंक फुडका बट्टा, माटो विनाका गमला, फ्याँकिएका टायर, कुलर एसीबाट निस्कने पानी लगायत कृतिम भाँडो वा ठाँउमा जमेको पानीमा बस्छ । यो लामखुटेटेको आयु डेढ महिना सम्म हुनेगर्दछ ।
डेंगुका लक्षणहरु
डेंगु संक्रमित विरामीमा शुरुमा जीउ दुखाई सहित अत्याधिक ज्वरो आउने, टाउकोको पछिल्तिरको भाग, आँखा, हातगोडाका जोर्नी आदिमा दुख्ने हुन्छ ।
डेंगु संक्रमितमा एकसाता सम्म देखिने यो अवस्थामा उपचार नभएमा छालाको भित्री भाग, मस्तिष्क, आन्द्रा, फोक्सो र मुटु लगायतका अंगमा रक्तश्राव हुने गर्दछ ।
यो अवस्थामा विरामीलाई सघन उपचार जरुरी पर्दछ । यस्तो अवस्थामा विरामीको दिसामा रगत समेत देखिनसक्छ ।
तेस्रो चरणमा भने विरामीको रगतमा प्लेटलेटको मात्रा घट्नुका साथै रक्तचाप अस्वभाविक रुपमा घटेर ज्यान समेत जाने हुनसक्छ ।
यसैबीच जनस्वास्थ्य कार्यालय झापाले डेंगु परिक्षणको लागि जिल्लाका स्वास्थ्य केन्द्र र अस्पतालहरुमा निशुल्क किट उपलब्ध गराएको जनाएको छ ।
कार्यालयले मेची अञ्चल अस्पताल भद्रपुर, दमक अस्पताल, काँकडभिट्टा स्वस्थ्य चौकी र सुरुंगा, शनिश्चरे, अनारमनी र धुलाबारी स्वास्थ्य केन्द्रमा सो किट उपलब्ध गराइएको जनाएको छ ।
गोपाल गडतौला, झापा