होटल तथा रिसोर्टको अन्तर्राष्ट्रिय मापदण्ड तोकिने
सरकारले होटल, रेष्टुराँ तथा रिसोर्टको अन्तर्राष्ट्रिय मापदण्ड तोकी सोहीअनुरुप वर्गीकरण गर्ने भएको छ ।
होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि २०७० मा बनेको मापदण्ड बमोजिम होटलको वर्गीकरण गर्न लागिएको हो ।
उक्त मापदण्ड तयार गर्नका लागि होटल एशोसिएसन अफ नेपाल (हान) का कार्यसमिति सदस्य प्रवीणबहादुर पाण्डेको संयोजकत्वमा मापदण्ड संशोधन परिमार्जन उपसमित गठन गरिएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले जानकारी दिए ।
ढकालकाअनुसार तारे होटल, पर्यटकीय होटल, रेष्टुराँ तथा रिसोर्टलाई अन्तर्राष्ट्रियस्तरको बनाउन भौतिक पूर्वाधारको क्षमता विस्तार गरिनेछ । मापदण्डले होटलका कोठालाई बढी केन्द्रित गरेको छ ।
हानका महासचिव विनायक शाहले होटल विश्वव्यापी उद्योग भएकाले सुविधा पनि सोही अनुरुप प्रदान गर्न मापदण्डअनुसार होटलको सेवा सुविधालाई परिमार्जन गर्दै लैजाने जानकारी दिए ।
हानकाअनुसार हाल देशभर एक हजार २०० होटल सञ्चालनमा छन् भने १०० नयाँ होटल थपिँदैछन् । रासस