सूर्यको आराधना गर्ने छठ पर्व शुरु, तराईमा धुमधामको तयारी
सूर्यको आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ ।
शब्द/तस्वीर: जियालाल साह
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यको आराधना, उपासना र पूजाको पर्व आज विशेषगरी तराईमा मनाइने भए पनि २०४६ पछि काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको छ । विसं २०४६ देखि नै सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक बिदा दिंदै आएको छ ।
पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले छठमा नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिन्छ ।
छठ पूजाका लागि तराईका नदी र पोखरी किनार सजाउन थालिएको छ । वीरगंजको घडिअर्वा, मुर्ली, रानीघाट, स्वीमिङपुल, छपकैया, नगवा आदिमा पोखरीमा सजावटको काम ८० प्रतिशत भईसकेको पूजा व्यवस्थापन समितिले जनाएको छ ।
घडीअर्वा पोखरी सजावटका लागि मात्रै रु १३ लाखको लागतमा पण्डाल तथा झिलिमिलि बत्ति जडान भईरहेको छ । सजावटकै लागि भारतको पश्चिमबंगाल र विहारका कालिगढ ल्याइएको छ ।
समितिले पानी, एम्बुलेन्स, दमकलको व्यवस्था साथै पूजास्थलमा सीसी क्यामरा जडान गरेको छ ।