चिकित्सा शिक्षा अध्यादेश आज राष्ट्रपति कार्यालय पठाइने
मन्त्रिपरिषदले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र राष्ट्रियसभा सम्बन्धी अध्यादेश अनुमोदन गरी आज राष्ट्रपति कार्यालय पठाउने भएको छ ।
अहिले संसद नभएकाले सरकारले ती दुई विधेयक अध्यादेश मार्फत ल्याउन लागेको हो ।
चिकित्सा शिक्षा अध्यादेश ६ असोजमा बसेको मन्त्रिपरिषद बैठकबाट अनुमोदन भई आज, ७ असोजमा राष्ट्रपति कार्यालय पठाउन लागिएको जानकारी मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले दिए । उक्त अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ भने आगामी संसदले त्यसलाई पारित गर्नुपर्नेछ ।
यसअघि हिजो, ६ असोजमा बसेको मन्त्रिपरिषद् बैठकमा चिकित्सा शिक्षा विधेयकबारे छलफल भए पनि कुनै निर्णय नभएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हिमालखबरलाई जानकारी दिएपछि त्यसै अनुसारको समाचार प्रकाशन गरिएको थियो । त्यसैगरी सिँचाई मन्त्री सञ्जय गौतमले पनि अध्यादेशबारे कुनै निर्णय नभएको बताएका थिए ।
यद्यपि सरकारका मुख्य सचिव क्षेत्रीले चिकित्सा शिक्षा विधेयक मन्त्रिपरिषदबाट पारित भइसकेको जानकारी दिएका छन् । उनले भने, “खै प्रवक्ताज्यूलाई कसरी यसबारे थाहा भएन, तर अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाउँदैछौं ।”
अघिल्लो समाचारबाट भएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।