आएन चिकित्सा शिक्षा अध्यादेश
सरकारले डा गोविन्द केसीसँग गरेको सहमति अनुसार आजको मन्त्रिपरिषद बैठकले चिकित्सा शिक्षा विधेयक अध्यादेश मार्फत अघि बढाउने निर्णय गर्न सकेन ।
“चिकित्सा शिक्षा विधेयकमा सबैको सहमति छ तर, त्यसबारे केही छलफल गर्नु पर्ने भएकाले आजै निर्णय नभएको हो,” सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हिमालखबरसँग भने ।
संसदबाट चिकित्सा शिक्षा विधेयक पारित हुन नसकेपछि, सरकारले डा केसीसँग अध्यादेशमार्फत उक्त विधेयक ल्याउने सहमति गरेको थियो ।
आज, ६ गतेको मन्त्रिपरिषद बैठकले चिकित्सा शिक्षा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने डा केसी र सरकारबीच सहमति भएको थियो ।
विधेयकको कुनै निश्चित बुँदामा छलफल गर्न बाँकी हो वा अन्य कुनै कारणले रोकिएको हो भन्ने बारेमा मन्त्री बस्नेतले भने, “त्यसमा केही संशोधनका लागि छलफल गर्नुपर्ने छ, अर्को बैठकबाट अघि बढ्छ ।”
* चिकित्सा शिक्षा अध्यादेश मन्त्रिपरिषद्बाट पारित भएको भन्ने समाचारबारे थप स्प्ष्ट हुनका लागि हामीले बैठकमा सहभागी सिँचाई मन्त्री सञ्जय गौतमलाई सोध्दा उनले मन्त्रिपरिषद्मा अध्यादेशसम्बन्धी प्रस्ताव आएको भए पनि आज पास नभएको जानकारी दिए । उनले भने, "केही कारणबस आज पास नभए पनि अर्को बैठकबाट पास हुन्छ ।"
यद्यपि प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने अध्यादेश मन्त्रिपरिषदबाट पास भई जारी गर्नका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाइएको आफूलाई जानकारी आएको बताएका छन् ।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुर्यालले आज साँझसम्म राष्ट्रपति कार्यालयमा त्यस्तो कुनै सिफारिस अाइनपुगेको जानकारी दिए ।