सप्तरीबाट अपहरित भारतीय व्यापारी पाँच दिनपछि मुक्त
सप्तरीबाट अपहरणमा परेका भारतीय व्यापारीलाई प्रहरीले पाँच दिनपछि सकुशल मुक्त गरेको छ । अपरहणमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेकोछ ।
२९ असोज साँझ ५ बजे कञ्चनरुप नगरपालिका–८ बाट भारतको भीमनगर–१० का ३३ वर्षीय अमित कुमार शारदा अपहरणमा परेका थिए । उनलाई ३ कात्तिकमा मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले बताए ।
कञ्चनपुर बजार आएका व्यापारी शारदा घर नफर्केपछि उनको परिवारजनले खोजतलाश गरिदिन प्रहरीलाई आग्रह गरेको थियो । खोजी गर्ने क्रममा कञ्चनरुप–१२ स्थित अम्बरबहादुर मगरको घरमा बन्धक बनाइ राखेको अवस्थामा मुक्त गरिएको एसपी सिंहले बताए ।
अपहरणमा संलग्न रहेको आरोपमा कञ्चनरुप–४ का अम्बरनाथ विश्वास, कञ्चनरुप–६ का शैलेन्द्र कुमार गुप्ता र कञ्चनरुप–७ का पशुपति भनिने पुष्कर महतोलाई पक्राउ गरिएको छ । उनीहरुबाट दुई वटा कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।
फिरौति असुल गर्ने उद्देश्यले अपहरण गरिएकाले पक्राउ परेका तीनै जना विरुछ अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइने एसपी सिंहले बताए ।
-श्रवणकुमार देव, राजविराज