रिपोर्टशनिवार, कार्तिक ४, २०७४

भू-उपयोग आयोजना: खर्च अर्ब, काम शून्य

सन्त गाहा मगर

भूमिको वैज्ञानिक वर्गीकरण, व्यवस्थापन र संरक्षणको जिम्मेवारी पाएको राष्ट्रिय भू–उपयोग आयोजनाले साढे दुई अर्बभन्दा बढी खर्च गरिसक्दा फिल्डमा केही काम भएको छैन।

तस्वीरः बिक्रम राई

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले गत २७ साउनमा गरेको ‘जग्गा कित्ताकाट गर्न नपाउने’ निर्णयलाई त्यसको चार दिनपछि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदियो । संविधानले प्रत्याभूत गरेको नागरिकको सम्पत्तिसम्बन्धी हक विपरीत हचुवामा गरिएको निर्णय अदालतबाट खारेज हुनु स्वाभाविकै थियो । 

मन्त्रालयले जथाभावी भइरहेको प्लटिङ रोक्न भने पनि त्यो निर्णयको उद्देश्य उर्वरभूमिलाई कंक्रिट बन्नबाट रोक्नु थिएन । त्यो निर्णयको उद्देश्य मन्त्रालयले भनेजस्तो कृषियोग्य भूमिलाई गैर–कृषि प्रयोजनमा प्रयोग हुन नदिन, जमीनको अनियन्त्रित खण्डीकरण रोकेर कृषि उत्पादन घट्न नदिन र उत्पादकत्वमा आएको ह्रास रोकेर खाद्य सुरक्षा गर्नु पनि थिएन ।

सरकारले देशभरको जमीनलाई विभिन्न उपयोग क्षेत्रमा वर्गीकरण गर्न २०५७ सालमा राष्ट्रिय भू–उपयोग आयोजना सञ्चालनमा ल्यायो । आयोजनाले कृषि भूमिको संरक्षण, स्वच्छ, सुन्दर, सुविधासम्पन्न, सुरक्षित बस्ती विकास र दिगो योजनाबद्ध शहरीकरण, वन क्षेत्र, प्राकृतिक सम्पदा, जैविक विविधता एवम् ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा सामरिक महŒवका क्षेत्रको संरक्षणका लागि भू–उपयोग योजनाको आधारमा भूमि तथा भूमिस्रोतको उपयोग सुनिश्चित गर्ने जिम्मेवारी पाएको छ ।

प्राकृतिक र मानव सिर्जित प्रकोपजन्य जोखिमहरूको न्यूनीकरण, कित्तामा आधारित भूमि लगत तयार गरी निर्दिष्ट उपयोगको आधारमा भूमिको न्यूनतम मूल्यांकन तथा प्रगतिशील कर प्रणाली निर्धारण र कार्यान्वयनको दायित्व पनि राष्ट्रिय भू–उपयोग आयोजनाकै हो । तर दुईदशक बित्न लाग्दा पनि भूमिको वैज्ञानिक व्यवस्थापन आयोजनाले एउटा सिन्को भाँच्न नसकेको यस क्षेत्रका जानकारहरू बताउँछन् । भूमिसुधार मन्त्रालयका पूर्व सचिव केशव भट्टराई भन्छन्, “यत्रो जिम्मेवारी पाएको आयोजनाको कार्यान्वयन पक्ष शून्य देखिन्छ ।”

चालू आर्थिक वर्ष (२०७४/७५) मा रु.६६ करोड एक लाख ८६ हजार विनियोजन गरिएको यो आयोजनाले स्थापनायता साढे दुई अर्बभन्दा बढी खर्च गरिसकेको छ । (हे. चार्ट) सरकारको प्राथमिकता प्राप्त आयोजना भएकोले राज्यको ढुकुटी पनि त्यसरी नै खर्च भइरहेको छ । तर आयोजनाले कृषि उत्पादन तथा कृषकको आय वृद्धि, वातावरण संरक्षण, अव्यवस्थित र असुरक्षित बसोबासको समस्या समाधान आदिमा केही भूमिका खेल्न सकेको छैन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, “आयोजनाले नसकेर होइन, नचाहेरै यस्तो खेलबाड भइरहेको छ ।”

उपसचिव प्रकाश जोशीले राष्ट्रिय भू–उपयोग आयोजनाको कर्मचारी विवरणमा आफूलाई सहसचिव (रा.प.प्र. श्रेणी) को रूपमा चिनाएका छन् ।

आयोगमा छँदा राष्ट्रिय भू–उपयोग नीति ल्याउन महत्वपूर्ण भूमिका खेलेका क्षेत्री ‘केही नगरी वार्षिक करोडौं रुपैयाँ हात पर्छ भने किन कामको झ्न्झ्ट गरिराख्ने ?’ भन्ने दुराशयले आयोजनालाई उपलब्धिविहीन बनाएको बताउँछन् ।

भूमिसुधार मन्त्री गोपाल दहित आयोजनाले उद्देश्य अनुरूप फिल्डमा केही गर्न नसकेको सजिलै स्वीकार्छन् । कहाँको जमीन कसरी उपयोग गर्ने भन्ने सुझवका लागि आफूले सबै स्थानीय तहमा पत्राचार गरेको उनको भनाइ छ । भू–उपयोग ऐन नबनेसम्म कामले तीव्रता नपाउने बताउँदै मन्त्री दहित भन्छन्, “कागजमा म्यापिङ गर्नुको अर्थ छैन, फिल्डमै कार्यान्वयन गर्छौं ।”

भू–उपयोग नीति कार्यान्वयनका लागि स्थानीय तहलाई पत्राचार गरेको छु। 
गोपाल दहित
मन्त्री, भूमिसुधार तथा व्यवस्था

कार्यान्वयनको समस्या
दरबन्दी चार्टमा राजपत्रांकित प्रथम श्रेणी (प्राविधिक) का अधिकारी आयोजना प्रमुख हुने उल्लेख भए पनि अहिले राजपत्रांकित द्वितीय श्रेणीका प्रकाश जोशी प्रमुख छन् । उनी आयोजनाको नेतृत्व गर्न पाउने पहिलो उपसचिव हुन् । यसअघिका सबै आयोजना प्रमुख सहसचिव थिए । आयोजनाको वेबसाइट (http://nlup.gov.np) मा रहेको कर्मचारी विवरणमा भने जोशीले झूटो विवरण लेखाएका छन् । उनले आफ्नो श्रेणी प्रथम लेखाएका छन् । आयोजनामा कति खेलबाड गरिएको छ भन्ने यसले पनि देखाउँछ ।

भू–उपयोग नीति, २०७२ मा देशभरिको जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, सांस्कृतिक तथा पुरातात्विक, नदी तथा तालतलैया, वन क्षेत्र, सार्वजनिक उपयोग तथा खुला क्षेत्र, ढुंगा, बालुवा, गिट्टी उत्खनन् र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र गरी ११ प्रकारमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ । यसका लागि आयोजनामा विभिन्न विषयविज्ञ हुनुपर्ने व्यवस्था छ । त्यसअनुसार, भूगोलविद्, समाजशास्त्री, अर्थशास्त्री, माटोविज्ञलगायतका जनशक्ति हुनुपर्ने आयोजना नापीका कर्मचारीले भरिएको छ ।

जथाभावी प्लटिङ, अव्यवस्थित बसोबास, बसाइसराइ, शहरीकरण जस्ता कारणले नेपालको उर्वर जमीन घट्दै गएको छ । कृषि विकास मन्त्रालयका प्रवक्ता डा. योगेन्द्रकुमार कार्की यसरी खेतीयोग्य भूमि मासिंदा उत्पादकत्व घटेको बताउँछन् । उनका अनुसार अहिले २१ लाख हेक्टर भूमिमा मात्र खेतीपाती भइरहेको छ । दुईदशक पहिले ३० लाख हेक्टरमा खेती हुन्थ्यो । कुल गार्हस्थ्य उत्पादनमा २७.४ प्रतिशत योगदान रहेको र देशको सबभन्दा बढी जनसंख्या आश्रित कृषिसँग जोडिएको विषयलाई पनि आयोजनाका अधिकारीहरूले गम्भीरतापूर्वक लिएका छैनन् ।

भूमिसुधार मन्त्रालयको योजना शाखाका एक कर्मचारी आयोजनामा विनियोजित बजेटमध्ये ४० प्रतिशत हाकिमको खल्तीमा जाने गरेको बताउँछन् । नाम उल्लेख गर्न नचाहने ती कर्मचारी आयोजना प्रमुख हुन ब्रिफकेश बोकेर तँछाडमछाड गर्नुको कारण त्यही ४० प्रतिशत रहेको बताउँछन् । मन्त्रालयका पूर्व सचिव भट्टराई पनि भू–उपयोग आयोजना कमिशनका लागि निकै बदनाम भएको बताउँछन् । उनी भन्छन्, “सबैले कमिशन खाए भन्ने होइन, तर फिल्डमा काम नहुनुको मुख्य कारण कमिशन नै हो ।”

भूमिस्रोतको संरक्षण, वैज्ञानिक व्यवस्थापन र सदुपयोग गर्न ढिलो भइसकेको छ । तीव्र शहरीकरण र बसाइसराइका कारण उर्वरभूमिमा कंक्रिटको वन उम्रने क्रम बढ्दो छ । भूमिसुधार मन्त्रालयका पूर्व सचिव भट्टराई भर्खरै गठित स्थानीय सरकारमार्फत भूमिको राम्रो व्यवस्थापन हुनसक्ने सम्भावना त देख्छन्, तर त्यो निकै पछि परिसकेको अवस्था छ ।

प्रतिकृया दिनुहोस