उम्मेदवार छनोट गर्ने अन्तिम कसरतमा दलहरु
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने चटारोमा छन् ।
१० मंसिरमा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पहिलो चरणको निर्वाचनका लागि दलहरुले ३ कात्तिकमै उम्मेदवार चयन गरिसक्ने गरी गृहकार्यमा जुटेको जनाएका छन् ।
१० मंसिरमा पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै २१ मंसिरमा दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ ।
पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले ५ कात्तिकमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरिसकेको छ । दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति १६ कात्तिक रहेको छ ।
नेपाली कांग्रेसले आजै उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । केही दिनदेखि निरन्तर बस्दै आएको कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले सबै उम्मेदवारको नाम टुंगो लगाउने नेता एनपी साउदले बताए । कांग्रेसले यसअघि केही जिल्लाका उम्मेदवारको नाम टुंगो लगाई सार्वजनिकसमेत गरिसकेको छ ।
नेकपा (एमाले)ले पनि शीघ्र उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवारको टुंगो लगाउने गरी सो पार्टीको नेतृत्वमा गठन भएको वाम गठबन्धनअन्तर्गत एमाले र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको बैठक जारी रहेको र सम्भवतः आजै उम्मेदवार टुंगो लगाउने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
४ कात्तिकमा भाइटीका भएकाले दलहरु आजै उम्मेदवार टुंगो लगाउने गरी कसरतमा जुटेका हुन् । मुलुकमा यतिखेर प्रमुख सत्तारुढ दल कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन र प्रमुख विपक्षी दल एमालेको नेतृत्वमा वाम गठबन्धन बनाउने कसरतमा अन्य दलसहित गृहकार्य र बहस शुरु भएको छ । यसपटक दलहरुबीच भएका चुनावी गठबन्धनका कारण अन्य दललाई पनि मिलाउनुपर्ने भएकाले उम्मेदवार चयन गर्न सकस भएको हो ।
त्यसैगरी संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक) लगायत दल पनि उम्मेदवार चयन गर्न व्यस्त छन् । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने दलहरुले यसअघि २७ असोजमा नै आ–आफ्नो पार्टीको बन्दसूचीको नामावली आयोगमा बुझाइसकेका छन् ।
निर्वाचनको तयारीका लागि आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका आवश्यक व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले बताए । आयोगले समानुपातिक निर्वाचनका लागि आजसम्म एक करोड मतपत्र छापिसकेको जनाएको छ ।
साथै अन्य निर्वाचन सामग्री सम्बन्धित क्षेत्रमा पु¥याउने, निर्वाचन सचेतना कार्यक्रम जनस्तरसम्म लैजाने, निर्वाचन अधिकृत नियुक्त गर्नेलगायत सम्पूर्ण तयारी भएको आयोगले जनाएको छ ।
संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन हुनेछ । त्यस्तै सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ ।
यसअघि सातै प्रदेशका ७७ जिल्लाका कूल ७५३ वटा स्थानीय तहको निर्वाचन यसअघि सम्पन्न भइसकेको छ ।रासस