रिपोर्टशुक्रवार, कार्तिक ३, २०७४

धुन संरक्षणमा सात पुस्ता

हिमालखबर

हरिलाल कुल (५७) परिवारले सात पुस्तादेखि नेपाली प्राचीन वाद्ययन्त्र जगेर्ना गरिरहेको छ।

हरिलाल कुलत । स्वीरहरुः सेबास्टिन वल्लीगान्ट

पाटन, सौगल टोलमा रहेको ‘नेपाली सांस्कृतिक बाजा उद्योग’ संगीत संग्रहालय जस्तो देखिन्छ । ८५ प्रकारका आधुनिक र परम्परागत वाद्ययन्त्र राखिएको हरिलाल कुलको यो पसल आफैंमा नेपाली संगीतको इतिहास हो । वाद्ययन्त्रको निर्माण, बिक्री र मर्मत समेत गरिने पसलको माथिल्लो तलामा कुलकै संगीत प्रतिष्ठान पनि छ जहाँ परम्परागत र आधुनिक बाजा बजाउन सिकाइन्छ । 

किशोरावस्थामै नेपाली सेनामा ड्रमरको रुपमा भर्ती भएका कुलले वाद्ययन्त्र बनाउने पुख्र्यौली सीप बाबुबाट सिकेका हुन् । परिवारमा करीब सात पुस्तादेखि यो पेशा निरन्तर चलिरहेको छ ।

कुलले मादल, एकतारे, टुंगना, छाल र सारंगी जस्ता विभिन्न बाजा बनाएका छन् । उपयुक्त काठ तयार नहुँदा एउटै मादल बनाउन उनलाई तीन वर्षसम्म पनि लागेको छ । उनी काठको तयारीले मादलको आवाजमा असर पर्ने बताउँछन् ।

कुटुम्बजस्ता शास्त्रीय संगीतको ब्याण्डले उनीबाटै बाजा किन्छन् । कीरा र समुद्री लहरको जस्तो आवाज निकाल्ने केही वाद्ययन्त्र त कुलको मौलिक सिर्जना हो । आफ्नो काममा यति मग्न छन् कि दुई वर्षअघि दिदीलाई भेट्न बेलायत गएका कुल त्यहाँ बस्नै सकेनन् । “वाद्ययन्त्र र पसल सम्झेर बस्नै मन लागेन, टिकटको मिति अगाडि सारेर आएँ”, उनी भन्छन् ।

कुलका छोरा आशिष (२६) पनि पुख्र्यौली पेशामै आबद्ध छन् । पसलको छेउमै एउटा सानो क्याफे खोल्ने आशिषको योजना छ । “क्याफेमा आउने युवाहरूले परम्परागत वाद्ययन्त्र देख्न र सुन्न सकुन्”, उनी भन्छन् । तर, युवालाई परम्परागत संगीतप्रति आकर्षित गर्न कफी खुवाइराख्नु नपर्ला किनकि आशिषका पाँच वर्षीय छोरा अहिल्यै तबलामा ताल भर्न रुचाउँछन् ।
-सेबास्टिन वल्लीगान्ट

प्रतिकृया दिनुहोस