रिपोर्टबिहिवार, कार्तिक २, २०७४

फूलमा आत्मनिर्भर

मस्त केसी

तिहारका लागि आवश्यक सामग्रीमध्ये फूलमा नेपाल आत्मनिर्भर बनेको छ।

दशैंअघि शुरू भएको किनमेललाई तिहारले फेरि तताएको छ । तिहारमा कपडा र गरगहनादेखि पूजा सामग्री र फूलसम्मको किनमेल हुन्छ । तिहारका लागि विविध सामग्री आवश्यक भए पनि फूललाई विशेष मानिन्छ । 

तिहारलाई धनधान्यकी देवी लक्ष्मी, उज्यालो र फूलको पर्वको रूपमा लिने गरिन्छ । यही कारण यो पर्वमा पूजा सामग्री, झिलिमिली बत्ती र फूलको व्यापार आकाशिने गर्छ ।

तिहारमा विशेष प्रयोग गरिने सयपत्री, मखमली, गोदावरी फूल फुल्ने मौसम पनि यही हो । सयपत्री, मखमली र गोदावरी फूलको व्यापार शतप्रतिशत उकालो लाग्छ ।

तिहारमा फूलको बहुआयामिक प्रयोग हुन्छ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकाका साथै मखमली, गोदावरी र सयपत्री फूलको माला लगाइदिन्छन् ।

यो पर्वमा काग, कुकुर, लक्ष्मी (गाई), गोरु र भाइको पूजा गरिन्छ । ती सबै पूजाका साथै घर सजाउन समेत फूल र माला प्रयोग गरिन्छ । त्यसले गर्दा तिहारमा फूलको माग आकाशिन्छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु भन्छन्, “यो तिहारमा सयपत्री, मखमली र गोदावरीका मात्र करीब १५ लाखवटा माला बिक्री हुने अनुमान गरिएको छ ।”

नेपालमा वर्षेनि १५ देखि २० प्रतिशतले फूलको माग बढिरहेको छ । कसजुका अनुसार गत वर्ष नेपालमा रु.१ अर्ब ७० करोड बराबरको फूलको कारोबार भएको थियो । त्यसमध्ये रु.६ करोडको फूल आयात गरिएको थियो ।

यो वर्षको तिहारमा रु.५० करोडभन्दा बढीको फूल कारोबार हुने अनुमान एसोसिएसनका अध्यक्ष कसजुले गरेका छन् । यो वर्ष तिहार छिट्टै परेको र सबै सयपत्री फुली नसकेको कारण रु.९० लाख जतिको आयात गरिएको कसजु बताउँछन् ।

“तिहार अलि पछि भएको भए हामी सयपत्रीमा पनि आत्मनिर्भर भइसक्थ्यौं” उनी भन्छन्, “नेपालमा उत्पादन नहुने केही सिजनल फूल चाहिं आयात नै गर्नुपर्छ ।”

उनका अनुसार, नेपालमा उत्पादन भइरहेको फूल त निर्यात समेत भइरहेको छ । गत वर्ष यूरोपका साथै अमेरिका, चीन, भारतलगायतका मुलुकमा रु.३ करोड ५० लाखको फूल निर्यात भएको थियो ।

यो वर्ष निर्यातको आँकडा बढ्ने पुष्प व्यवसायीहरूको भनाइ छ । वनस्पति विभागका अनुसार नेपालमा ६ हजार ५०० भन्दा बढी प्रजातिका फूल फुल्ने बिरुवा पाइन्छन् । तीमध्ये ४५० प्रजातिका बिरुवाहरू फूलको रूपमा प्रयोग हुँदै आएका छन् ।

“आन्तरिक उत्पादनले नेपालको माग धान्ने भनेको फूलले मात्र हो।” 
कुमार कसजु
अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल
 

फूलको बहुउपयोग र बढ्दो मागका कारण नेपालमा मौसमी, आलंकारिक र कट फ्लावरलगायतको व्यावसायिक खेती फस्टाएको छ । मुलुकभर १५३ हेक्टर जमीनमा व्यावसायिक रूपमै फूल खेती भइरहेको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार, हाल नेपालमा ४२० प्रजातिका फूल उत्पादन भइरहेका छन् । काठमाडौं उपत्यकाबाट शुरू भएको व्यावसायिक फूल खेती धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, सुनसरी, झापा, कपिलवस्तुलगायत ४१ जिल्लामा विस्तार भएको छ ।

७०० भन्दा बढी कृषक व्यावसायिक फूल खेतीमा लाग्दा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा १४ हजारभन्दा बढी व्यक्ति यो व्यवसायमा जोडिन पुगेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

चलायमान अर्थतन्त्र
तिहारको धार्मिक–सांस्कृतिक महत्व त छँदैछ, यो समयमा हुने किनमेल पनि देशको अर्थतन्त्रमा प्रभाव पार्ने गरिको छ । तिहारको वेला छोटो समयमा हुने ठूलो किनमेलले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ ।

हुनेखानेले कमाएको केही प्रतिशत र नहुनेले ऋण गरेरै भए पनि तिहारमा मन फुकाएर खर्च गर्ने चलन पुरानै हो । व्यवसायीहरूका अनुसार दशैंतिहार जस्ता ठूला चाडबाडमा व्यापार २०० प्रतिशतले बढ्छ । त्यसले अर्थतन्त्रलाई चलायमान त बनाउँछ नै राजश्व संकलनमा पनि उल्लेख्य वृद्धि ल्याउँछ ।

तिहारमा प्रयोग हुने फूल बाहेकका अधिकांश सामग्री आयात भइरहेका छन् । आयातले मुलुकलाई परनिर्भर बनाउँदै लैजान्छ । आयातीत सामग्रीको बढ्दो प्रयोगले तत्कालका लागि अर्थतन्त्र चलायमान देखिए पनि दीर्घकालीन रूपमा नकारात्मक असर पार्छ ।

अर्थशास्त्री डा. डिल्लीराज खनाल स्वदेशी उत्पादनको प्रयोगले मात्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन् । उनी भन्छन्, “आयातीत सामग्रीको प्रयोगले चाहिं व्यापार घाटा बढाउँदै समग्र अर्थतन्त्रलाई समस्यातिर धकेल्छ ।”

थरीथरीका किनमेल
तिहारमा विशेषगरी लक्ष्मी पूजाको अवसरमा बत्तीहरूले घर, पसल, कार्यालयलाई झिलिमिली पार्ने गरिन्छ । केही वर्षयता झिलिमिलीका लागि माटोका पालाकोे साटो पाला जस्तै देखिने विद्युतीय बत्तीको प्रयोग बढ्दो छ ।

स्वदेशमै तयार पाला र मैनबत्तीको स्थान विदेशी झिलमिले बत्तीले ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष रु.३ अर्ब ८५ करोड बराबरका इलेक्ट्रोनिक दियो, बत्ती, क्यान्डल र आतिसबाजी आयात गरिएको छ ।

 “उत्पादनभन्दा व्यापारमा केन्द्रित योजनागत नीतिकै कारण दशैं–तिहारलगायतका परम्परागत चाडमा समेत आयातीत सामग्रीको प्रयोग बढ्दो छ।” 
डा. डिल्लीराज खनाल
अर्थशास्त्री
 

त्यस्ता सामग्रीहरू चीन र भारतबाट आयात हुन्छन् । अहिले नेपाल भित्रिने त्यस्ता कुल विद्युतीय सामग्रीमध्ये ९० प्रतिशत चीनबाट र १० प्रतिशत भारतबाट आयात हुने गरेको नेपाल विद्युतीय महासंघले जनाएको छ । यस्ता सामग्री विगतमा भारतबाट धेरै आयात हुन्थ्यो ।

पछिल्लो समय आकर्षक र सस्तो मूल्यका कारण चिनियाँ उत्पादनले भारतीय सामग्रीलाई विस्थापित गरेको व्यवसायीहरू बताउँछन् । तिहारमा रु.८० करोडदेखि रु.९० करोडसम्मको विद्युतीय सामग्रीको कारोबार हुने गरेको नेपाल विद्युत् व्यवसायी महासंघले जनाएको छ ।

समाजशास्त्री प्रा.डा. तुल्सीराम पाण्डे आकर्षक, सस्तो र कति त टिकाउ समेत हुने भएकोले चाडबाडमा परम्परागत सामग्रीभन्दा चिनियाँ वा भारतीय सामग्रीको प्रयोग बढेको बताउँछन् । 

तिहार धनको पनि पूजा गर्ने पर्व भएकाले सक्नेले सुनचाँदीका सामग्री पनि किनेर लक्ष्मी पूजा गर्छन् । तिहारमा सुन, चाँदीको मात्र हैन, काँसका थाली, घण्टी, तामाको पूजा थाली, पित्तलको दियो आदि पनि धेरै बिक्री हुन्छ ।

तिहारमा चाँदीका टीकादानी, करुवा, गिलास, दियो, प्लेट आदि धेरै बिक्री हुने ललितपुरको महालक्ष्मीस्थानमा सुनचाँदीको व्यवसाय गरिरहेका रामकृष्ण सुनार बताउँछन् । उनका अनुसार, तिहारको व्यापारले करीब ६ महीनाको कारोबार धान्छ ।

“दशैं सकिएलगत्तै शुरू भएर लक्ष्मी पूजाको दिनसम्म करीब २०० प्रतिशतले व्यापार बढ्छ” उनी भन्छन्, “चाँदीको धेरै व्यापार हुने लक्ष्मी पूजाकै दिन हो ।”

फूल, बत्तीलगायत सजावटका इलेक्ट्रोनिक सामान, गरगहना र भाँडाकुँडामा मात्र नभई सबभन्दा धेरै मौसमी फल बिक्री हुने समय पनि तिहार नै हो ।

नेपालमै मनग्गे उत्पादन हुने केरा, निबुवा, बिमिरो, ओखर, हलुवावेद, स्याउ, अनार, बदामदेखि आयातीत काजु–किसमिस र अन्य फलको ठूलो व्यापार हुन्छ, तिहारमा ।

गत वर्ष रु.१० अर्ब ८१ करोडको फल र बदाम आयात भएको भन्सार विभागको तथ्यांक छ । तीमध्ये ३० प्रतिशत तिहारमा खपत भएको थियो । विभागको तथ्यांक अनुसार गत वर्ष रु.४ अर्ब ८८ करोडको त चकलेट र मिठाइका कच्चा पदार्थ भित्रिएका थिए ।

 

प्रतिकृया दिनुहोस