रिपोर्टबिहिवार, कार्तिक २, २०७४

ताल तीर्थाटन

कुन्द दीक्षित

जीवनमा एकैपटक सही; फोक्सुण्डो ताल पुग्नुहोस्।

नेपालका अन्य थुप्रै प्राकृतिक सम्पदामा झैं हिमालपारिको सुक्खा जिल्ला डोल्पास्थित फोक्सुण्डो तालको उत्पत्तिमा पनि पौराणिक कथा र भूविज्ञान एउटै विन्दुमा जोडिन्छन् । किंवदन्ती अनुसार, प्राचीनकालमा उपल्लो क्षेत्र र तल्लो क्षेत्रका राक्षसीबीच दुश्मनी थियो । एकदिन तीमध्येकी क्रोधित राक्षसीले सिंगो पहाड उचालेर सुलिगाड नदी थुनिदिई, त्यसपछि यो फोक्सुण्डो ताल बन्यो ।

भूवैज्ञानिकहरूका अनुसार पनि, ३ हजार ६०० मिटर उँचाइको यो ताल ४० हजार वर्षअघि विशाल पहाड भत्किएर नदी थुनिएपछि बनेको हो । थुनिएको पानीले निकास खोज्ने क्रममा सुन्दर रिंग्मो झरना १७० मिटर तल उपत्यकामा झरिरहेको देखिन्छ । रारापछिको दोस्रो ठूलो र गहिरो यो ताल पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

डोल्पो ।            तस्वीरहरुः कुन्द दीक्षित

मिथक वा भूविज्ञान, जेमा विश्वास गरे पनि रंग भरे जस्तो देखिने यो ताल र झरना मुलुककै बहुमूल्य प्राकृतिक आभूषण हुन् भन्नेमा विवाद छैन । यहाँको कोरा–सौन्दर्यले नै हुनुपर्छ बोन्पो मतमा आस्था राख्ने स्थानीयहरूका लागि यो स्थान पवित्र मानिन्छ । यहाँ बादल, आकाश र पहाडहरू पुजिन्छन्, नदीहरू पवित्र छन्, झरना स्वर्गबाट झरेको विश्वास गरिन्छ, नदीको पानीले कुँदेका पत्थरको सम्मान हुन्छ, रूखबिरुवालाई प्राणी जस्तै व्यवहार गरिन्छ ।

विशाल र निर्जन डोल्पा भौगोलिक विकटताले गर्दा शताब्दियौंदेखि सुरक्षित रहन सकेको छ । सडक सञ्जालले नछोएको मुलुककै एक मात्र जिल्ला यही हो । तर, सडक निर्माणको जिम्मा पाएको नेपाली सेना दुई वर्षभित्र सदरमुकाम दुनैलाई बाँकी देशसँग जोड्न सकिनेमा विश्वस्त छ । भर्खरै कालोपत्रे गरिएको जुफाल विमानस्थलमा नेपालगञ्जबाट प्रत्येक बिहान ६ वटा विमान अवतरण गरिरहेका हुन्छन् ।

पाँच वर्षअघि लोमान्थाङ र मनाङमा जस्तै यहाँका स्थानीय पनि सडकको समर्थन र विरोधमा विभाजित छन् । तर, दुनैसम्म ट्रक र बस पुगे पनि शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जसम्म भने सडक विस्तार हुन नदिनेमा आमसहमति जस्तै बनेको छ । “उपल्लो मुस्ताङमा सडक विस्तारले त्यहाँको शान्ति र पवित्रतामा पुर्‍याएको असर हामीले देखेका छौं”, पोल्याण्डका पर्यटकहरूको समूहलाई माथिल्लो डोल्पो घुमाउन ल्याएका रेस्पोन्सिबल एड्भेन्चर्सका राज तामाङ भन्छन् ।

पर्यटकहरूको बढ्दो संख्यासँगै यहाँ लज निर्माण हुन थालेका छन् । कान्जिरोवा होटलका सञ्चालक पेमा डोल्मा लामा तालतर्फ पाँचवटा कोठा र डाइनिङ रुम थप्दैछन् । “सडकसँगै आउने नेपाली पर्यटकका लागि कोठा थप्न लागेको हो, विदेशीहरू त टेन्टमै बस्न रुचाउँछन्”, उनी भन्छन् ।

हालैको स्थानीय तह निर्वाचनको असर यहाँ पनि देखिएको छ । भिजेर, साल्दाङ र फोक्सुण्डो तीन गाविस मिलेर बनेको यहाँको शे फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा साल्दाङका र उपाध्यक्षमा भिजेरका उम्मेदवार निर्वाचित भए । तर, गाउँपालिका कार्यालय कहाँ राख्ने भन्ने विवाद बढ्दै जाँदा फोक्सुन्डोवासीले माथिल्लो क्षेत्रका बासिन्दालाई याकको चरिचरन, यार्सा संकलन र काठदाउरा गर्न रोक लगाएका छन् । राष्ट्रिय निकुञ्ज कर, पदयात्रा करसँगै विदेशी पदयात्रीका लागि गाउँपालिका कर पनि लगाउन थालिएको छ ।

राम्रो कुरा, गाउँपालिकाले तालछेउको कहालीलाग्दो चट्टानी गोरेटो विस्तारको काम थालेको छ । एरिक भ्याली निर्देशित ओस्कार पुरस्कारप्राप्त फिल्म क्याराभान पछि यो गोरेटो चर्चामा आएको थियो ।

गोरेटो विस्तार कार्यक्रमका सुपरभाइजर हुन्, तासी लामा । (माथिको तस्वीर) तासी ठीक त्यहीं उभिएका छन्, जहाँबाट फिल्ममा याक खसेको थियो । “यहाँबाट खसेर धेरैको मृत्यु भइसकेको छ” लामा भन्छन्, “हाम्रै लागि पनि बाटो सुरक्षित बनाउनु जरूरी छ ।”

पर्यटनले जीवनस्तर उकास्नेमा स्थानीयवासी विश्वस्त छन् । तर, सँगसँगै नाजुक पर्यावरण र संस्कृति संरक्षणबीच सन्तुलन मिलाउन भने चुनौतीपूर्ण छ ।

प्रतिकृया दिनुहोस