सरकारबाट माओवादी तत्काल नबाहिरिने, निर्वाचन सार्ने षडयन्त्र गरेको आरोप
आजै सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी केन्द्र तत्काल सरकारबाट नहटने भएको छ ।
गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलनको आयोजना गरी आफूहरु बाहिरिंदा सरकारले निर्वाचन सार्न सक्ने आरोप लगाउँदै नहट्ने निर्णयमा पुगेको बताए ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सरकारबाट बाहिरिने निर्णयमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा नयाँ सूचना आयो, निर्वाचन सार्नका लागि ड्राफ्ट तयार पारिसकेको थाहा पायौं, त्यसैले सरकारबाट हट्ने निर्णय स्थगित गरेका हौं ।”
“निर्वाचन सार्ने सरकारको षडयन्त्र रोक्न पनि हामी सरकारबाट हट्दैनौं” उनले भने ।
गृहमन्त्री शर्माले सरकारले निर्वाचन सार्न लागेको सूचना आफूहरुलाई निर्वाचन आयोगबाट प्राप्त भएको दाबी गरेका छन् । उनले आफूहरु सरकारमै रहेर तोकिएको मितिमा निर्वाचन गराई छाड्ने समेत बताए ।