राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित
संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई निर्वाचित गरेको छ ।
३० असोजमा अमेरिकामा भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् ।
एशिया–प्रशान्त क्षेत्रको चार सदस्यका लागि भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका छन् ।
नेपाल निर्वाचित भएपछि न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराईले नेपालले अन्तर्राष्ट्रिय मानव अधिकारको क्षेत्रमा प्रतिबद्धता जनाएअनुसारको काम गरेकाले निर्वाचित भएको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले असोज पहिलो साता राष्ट्र संघको ७२औँ महासभालाई सम्बोधन गर्दै परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गरेका थिए ।
विश्वभर मानव अधिकार रक्षा र प्रवद्र्धनका लागि स्थापित उच्चस्तरीय अन्तरसरकारी संयन्त्रका रूपमा परिषद्ले काम गर्दै आइरहेको छ । रासस