टिप्पणीसोमवार, आश्विन ३०, २०७४

परम्परागत प्रहरी

टीकाराम राई

राजधानीमा दिनदहाडै व्यवसायीको हत्या गरी अपराधी उम्कनुले देशको सुरक्षा व्यवस्था र प्रहरीको क्षमतामाथि खिल्ली उडाएको छ ।

शरदकुमार गौचन

अधिवेशनका लागि गैरआवासीय नेपाली (एनआरएन) हरू राजधानी काठमाडौंमा भेला भइरहेका वेला नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोजमा दिनदहाडै हत्या भयो । यो हत्याले मुलुकमा व्यवसायीहरू असुरक्षित भएको सन्देश प्रवाह मात्रै गरेन, अपराध नियन्त्रणमा प्रहरीको क्षमतामाथि संशय पनि जन्माएको छ ।

गौचनलाई गोली हानिएको शान्तिनगरस्थित खरीको बोट क्षेत्र बानेश्वर प्रहरी वृत्तबाट करीब डेढ किमी दूरीमा छ । घटनास्थल क्षेत्रमा कहिलेकाहीं प्रहरीको सीआरभी भ्यान पनि बस्छ । गौचन त्यहाँकै बासिन्दा थिए ।

गाडीको अगाडिको सीटमा बसेका गौचनमाथि दिउँसो ३ बजे नजिकैबाट गोली प्रहार गरियो । गोली पेट र कोखामा लाग्यो । र, हत्यारा विना अवरोध भाग्न सफल भए । कुनै चलचित्रजस्तो, प्रत्यक्षदर्शीले हत्याराको मोटरसाइकलको नम्बर टिप्ने चासोसमेत देखाएनन् । रमिते भइरहे ।

गौचनमाथि गोली प्रहार हुँदा केही गैरआवासीय नेपाली नेपालमा लगानी गर्नेबारे छलफलमा व्यस्त हुँदा हुन्, कोही चाहिं एनआरएनका अध्यक्ष शेष घलेकी पत्नी जमुना घलेजस्तै उम्मेदवारीको तयारीमा । गौचनको हत्याको खबर फैलिनासाथ सम्भवतः उनीहरूको मनमा ‘नेपाल अझै सुरक्षित नभएको’ धारणा बनेको हुनुपर्छ । तर, एनआरएनले यो घटनाबारे सार्वजनिक रूपमा बोलेन । यसले अपराधी समूहबाट एनआरएन विचलित छैन भन्ने सन्देश भने गएको छ ।

आफ्ना अध्यक्षको हत्यालगत्तै निर्माण व्यवसायीहरूले काम ठप्प पारे । यतिवेला व्यवसायीहरू आफूलाई पनि अपराधी समूहबाट प्राइभेट कलर आइडी देखिने फोनमार्फत फिरौती माग गर्दै धम्की आउने गरेको बताइरहेका छन् । जानकारहरू, विदेशबाट इन्टरनेटमा फोन गर्दा प्राइभेट भनी कलर आइडी देखिने बताउँछन् । महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्द भने इन्टरनेट फोनको अवस्था पत्ता लगाउने प्रविधि प्रहरीसँग नभएको बताउँछन् ।

तर, प्रविधि अभाव नै अनुसन्धानको मुख्य चुनौती भने होइन । भारतीय प्रहरीले सहयोग गरेमा यो समस्या तुरुन्तै हल हुन्छ । गौचन हत्याकै दिन दुई भारतीय सूटरहरू पक्राउ परेकाले पनि प्रहरीलाई भारतीय प्रहरीको सहयोग लिन सहज भएको छ । अपराधी आदानप्रदानमा नेपाल र भारतबीच विगतमा राम्रै सहकार्य भएकोले पनि गौचनका हत्यारा बच्न सक्दैनन् भन्ने विश्वास गर्न सकिन्छ ।

गौचन हत्याको घटनाले प्रहरीलाई प्रविधिगत क्षमतामा अब्बल बन्न पाठ सिकाएको हुनुपर्छ । किनकि हाम्रो प्रहरी आजसम्म पनि सडकमा जवान कुदाएरै अपराध नियन्त्रण गर्छु भन्ने परम्परागत सोचबाट ग्रस्त छ । जवान दौडाएर भन्दा सबैतिर सीसीटीभी क्यामरा राखेर अपराधी चाँडै समात्न सकिन्छ । चीनको अनुभवबाट अपराध नियन्त्रणका लागि सीसीटीभी क्यामेरा प्रभावकारी भएको प्रमाणित भइसकेको छ । उपत्यकाका मुख्य सडकमा सीसीटीभी क्यामेरा भए पनि यो घटनाले सबै शहरका सबै सडकमा यस्ता क्यामेरा राख्न ढिलो नगर्न चेतावनी दिएको छ ।

सुरक्षित वातावरण निर्माणका लागि प्रहरीलाई प्रविधि सम्पन्न बनाउन सबैले सहयोग गर्नुपर्छ । तर, त्यस्तो प्रविधि निर्दोष नागरिकविरुद्ध प्रयोग गरिंदैन भनी प्रहरीले जनतालाई आश्वस्त पार्नुपर्छ । सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा अयोग्य घोषित लोकमानसिंह कार्कीले प्रहरीको प्रविधिलाई आफ्नो कुत्सित स्वार्थका खातिर दुरुपयोग गरेको घटनाले प्रहरीप्रति जनविश्वास घटेको छ । प्रविधि प्रयोग सम्बन्धी कानून बनाएरै भए पनि समस्याको दीर्घकालीन समाधान खोजिनुपर्छ ।

हत्यारामाथि कानूनी कारबाहीको माग गर्दै आन्दोलित निर्माण व्यवसायीका कारण देशभर विकास निर्माण ठप्प छ । देशको सुरक्षा व्यवस्थामा खलल पार्न चाहने आपराधिक समूहलाई व्यवसायीको ‘विकास निर्माण रोक्ने’ यसखाले दबाब शैलीले मनोबल बढाउन पनि सक्छ । त्यसकारण व्यवसायी दबाबको स्वरुपमा पुनःविचार गर्नुपर्छ ।

अनुभवका आधारमा भन्ने हो भने पनि, गौचनको हत्यारा समात्न प्रहरी असफल हुने छैन । तर, प्रहरी नेतृत्वले विगतका सफल ‘केस स्टडी’ कति अध्ययन गर्छन्, त्यो मुख्य कुरा हो ।

प्रतिकृया दिनुहोस