खेलकुदसोमवार, आश्विन ३०, २०७४

नेपाल डिभिजन दुईमा घटुवा, विश्वकपको संभावना कायमै

हिमालखबर

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तरगतको ३० असोजको खेल वर्षाले अवरुद्ध भएपछि नेपालले हङकङसँग एक-एक अंक बाँडेको छ । यससँगै नेपाल डिभिजन दुईमा घटुवा भएको छ ।

वर्षाका कारण २९ असोजका लागि तय गरिएको खेल ३० असोजमा सारिएको थियो । तर, ३० असोजमा पनि वर्षा भएपछि खेल रद्द गरिएको हो ।

खेल रद्द हुँदा नेपाल र हङकङले एक-एक अंक बाँडेका छन् । यो एक अंकसहित नेपालको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ९ अंक पुगेको छ । अहिलेसम्म भएका १२ खेलमा नेपालले ४ मात्रै जितेको छ भने ७ खेलमा हार बेहोरेको छ ।

यो प्रतियोगिताका उत्कृष्ट चार टोली सन् २०१९ को विश्वकपका लागि छनोट प्रतियोगिता खेल्न पाउँनेछन् । हङकङसँग २७ असोजको खेलमा भएको हार तथा यो खेल रद्द हुँदा नेपालको उत्कृष्ट चारमा पुग्ने संभावना सकिएको हो ।

अंक तालिकामा नेपाल छैठौ स्थानमा रहेको छ । अब नेपालले यूएईसँग दुई खेल खेल्न बाँकी छ । दुवै खेल जिते पनि नेपालको १३ अंक मात्रै हुनेछ ।

आठ टोली सहभागि यो प्रतियोगितामा सबै टोलीले १२ खेल खेलिसक्दा नेदरल्याण्ड १८, पपुवा न्यू गिनी १६, स्कटल्याण्ड १५, हङकङ १४, केन्या १२, नामिभिया ६ र यूएईले ६ अंक जोडेका छन् ।

नेपाल डिभिजन दुईमा घटुवा भएपनि सन् २०१९ को विश्वकप खेल्ने संभावना भने अझै बाँकी छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट उत्कृष्ट चार टोली विश्वकप छनोट खेल्न पाउने छन । त्यस्तै डिभिजन दुईको प्रतियोगिताबाट उत्कृष्ट दुई टोलीले पनि विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछन् ।

डिभिजन तीनबाट आएका ओमान र क्यानडा तथा आईसीसी विश्व क्रिकेट लिग च्याम्पिनयनसिपका अन्तिम चार टोलीबीच डिभिजन दुईको प्रतियोगिता आउदो माघ-फागुनमा हुनेछ ।

प्रतिकृया दिनुहोस