टिप्पणीआइतवार, आश्विन २९, २०७४

राष्ट्रिय नेताको अन्तर्राष्ट्रिय शैली

कनकमणि दीक्षित

अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा औपचारिक प्रस्तुति दिनुपर्दा नेता/प्रतिनिधिले राष्ट्रपति विद्यादेवी भण्डारीको शैली अपनाए राम्रो।

जेनेभामा सम्पन्न विश्व श्रम संगठन (आईएलओ) को सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी ।

मुलुकको पहिचान र प्रतिष्ठा धेरै कुरासँग गाँसिएका हुन्छन्, तर सबभन्दा टड्कारो त यहाँका राष्ट्रिय पदाधिकारीहरू स्वयं कसरी प्रस्तुत हुन्छन् भन्ने नै हो ।

उनीहरूका पहिरनदेखि भेटघाटमा शिष्टतासम्मका एक–एक कुरा विदेशी कूटनीतिज्ञदेखि आम नागरिकसम्मले अति महत्वका साथ हेरिरहेका हुन्छन् ।

औपचारिक रिशेप्शन् तथा ब्यांक्वेटहरूमा त झन् प्रस्तुतिले असाध्य महत्व राख्दछ– खानपिनको वेला काँटा चम्चाको प्रयोगदेखि बोलीको शैलीसम्म ।

केही समयअघि नयाँदिल्ली राष्ट्रपति भवनमा आयोजित ब्यांक्वेटमा एकजना नेपाली मन्त्रीले आफ्नो सीट छाड्दै कहिले चर्को स्वरले मोबाइलमा कुरा गरेको र नजिक पर्ने जो–कोही भारतीय नेताको हात समाई छेउमा लगेर कुरा गरेको दृश्यले भारतीयहरूबीच नै चर्चा पाएको थियो ।

औपचारिक भेटघाटमै निदाइदिने अनौठो ताल अर्का नेपाली मन्त्रीबाट त्यही भ्रमण सिलसिलामा देखिएको थियो ।

राजनीतिक नेतृत्वले देशभित्र हामीसामु जे जस्तो व्यवहार गरुन् त्यो देशभित्रको कुरा भयो, विदेश जाँदा चाहिं सतर्कताको बढी खाँचो छ । यो इज्जत/बेइज्जत र सार्वजनिक चासोको कुरा हो ।

यस सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको हालैका प्रस्तुतिलाई ‘कम्पेर एण्ड कन्ट्रास्ट’ गर्न सकिन्छ ।

न्यूयोर्कको कोलम्बिया युनिभर्सिटीमा प्रधानमन्त्री शेरबहादुर देउवा ।

विदेशमा रहँदाका सार्वजनिक प्रस्तुति अक्सर तयारीका साथ दिइने ‘प्रिपेर्ड’ भाषण हुन्छन् । ‘इम्प्रोम्प्टू’ बोल्नुपर्ने कार्यक्रमहरू पनि हुन्छन्– पत्रकारको प्रश्नको जवाफ दिंदा या विद्यार्थी, व्यवसायी, विद्वान्हरूको जिज्ञासा या टिप्पणीको प्रत्युत्तर दिंदा ।

हालैका चारवटा कार्यक्रमको लेखाजोखा गर्ने हो भने राष्ट्रपतिको हाउभाउ र प्रस्तुति प्रशंसनीय छन्, प्रधानमन्त्री देउवाको प्रस्तुतिमा सुधार आउनुपर्ने देखियो ।

गएको ७ असोजमा हाम्रा प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा २० वर्षको अन्तरालपश्चात् नेपालको सरकारप्रमुखको हैसियतले मन्तव्य दिंदै थिए ।

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूले खँदिलो भाषण तयार पारेका थिए । अन्तर्राष्ट्रिय समुदायसामु त्यो नेपालको कार्यपत्र जस्तो नै थियो ।

जसमा नेपालको विशेष सन्दर्भ र चासो पनि पेश गरिएको थियो– जस्तै; शान्ति मिशनको कमाण्ड तहमा नेपाली सैनिक अधिकृतहरूलाई पनि सामेल गरिनुपर्ने, काठमाडौंस्थित एशियाली निरस्त्रीकरण केन्द्रलाई क्रियाशील बनाउनुपर्ने, नयाँ संविधानका समावेशिता सम्बन्धी विशेषता आदि, इत्यादि ।

सामग्रीमा समस्या थिएन, प्रस्तुतिमा भने थियो । प्रम देउवाले घरीघरी अंग्रेजी शब्दको गलत उच्चारण गरे । अप्ठेरो गरी २२ मिनेट लामो भाषण गर्दा महासभामा उपस्थितहरूसँग ‘आई कन्ट्याक्ट’ न्यून थियो ।

कहिले टोपी मिलाउँथे, घरीघरी चश्मा ठीक ठाउँमा छ छैन छाम्दथे, कहिले हातले मुख र नाक मुसार्थे । अति कष्ट गरिकन भाषण पढ्दै गरेको भान हुन्थ्यो । ‘बीपी कोइराला’ सम्म पनि सही उच्चारण गरेनन् ।

न्यूयोर्कको कोलम्बिया युनिभर्सिटीमा आयोजित ‘वल्र्ड लिडर्स फोरम’ मा फ्याकल्टी र विद्यार्थीले खचाखच कार्यक्रमको प्रश्नोत्तर चरणमा पनि प्रम देउवाको प्रस्तुति न फरासिलो थियो न त भन्न चाहेको कुरा राम्ररी पेश गर्न सके ।

हामीलाई थाहा छ, प्रश्न गरिएका लगानीको वातावरणदेखि समावेशितासम्मका मुद्दा सन्दर्भमा प्रम देउवामा ज्ञानको कमी छैन । किनकि, यही विषय भोगेका र यिनमा काम गरेका छन्, उनले ।

संविधान पारित गरेको पनि उनी र उनका समकालीन नेताहरूले नै हो र यस सम्बन्धी यावत् मुद्दासँग उनी परिचित छन् । तर, दिमागको कुरा अंग्रेजीमा राम्ररी प्रसारण हुन सकेन ।

यसकारण नेपालको शान्ति प्रक्रिया, नयाँ संविधान, भूराजनीतिक चुनौती, नेपाली जनताको धैर्य र ‘रिजिलिएन्स्’ लगायतका पक्षहरू मौकाको सदुपयोग गर्दै प्रष्टसँग प्रस्तुत भएनन् ।

राष्ट्रपति भण्डारीले भने प्रम देउवाले भन्दा फरक अनुभव गराइन्, पछिल्ला दुई विदेश भ्रमणका वेला । नयाँदिल्लीको राष्ट्रपति भवनमा आयोजित ‘गार्ड अफ् अनर’ कार्यक्रममा राष्ट्रपतिलाई भारतीय प्रम नरेन्द्र मोदीले सबैलाई चिनाइसकेपछि अप्रत्यासित रुपमा पत्रकारहरूसामु बोल्नुपर्ने भयो ।

त्यो ‘इम्प्रोम्प्टू’ क्षणमा राष्ट्रपतिले जसरी अभिव्यक्ति दिइन्, त्यो उदाहरणीय छ । त्यसको एक कारण आफ्नै भाषा नेपालीमा बोल्नु थियो ।

भारतको उक्त भ्रमणमा नयाँदिल्ली, गुजरात, उडिसा जता गए पनि राष्ट्रपतिद्वारा नेपालीमा उद्घोष भयो र त्यसमा भारतीयहरू प्रभावित भए पनि ।

अन्तर्राष्ट्रिय श्रम संगठनको ३१ जेठ २०७४ को उच्चस्तरीय सम्मेलनका लागि जेनेभा जाँदा राष्ट्रपति भण्डारीले औपचारिक भाषण नेपालीमै दिइन् ।

यो शायद नेपाल राज्यको कूटनीतिमै नयाँ प्रयोग थियो । नेपालीमै तयार पारिएको भाषणको उल्थामा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयको सहकार्य भएको थियो ।

राष्ट्रसंघका पाँच औपचारिक भाषा बाहेकका भाषामा भाषण हुँदा सम्बन्धित प्रतिनिधिमण्डलले तत्काल उल्था गर्ने दोभाषे (साइमल्टेनियस् इन्टप्रेटर) लाई अंग्रेजी प्रतिलिपि उपलब्ध गराउने चलन छ ।

दोभाषेहरूले पनि गल्ती गर्ने सम्भावना रहेन, अनि अन्तर्राष्ट्रिय तवरमा नेपाली भाषा नै गुन्जियो ।

औपचारिक कार्यक्रमहरूमा नेपाली भाषामै प्रस्तुत हुने गरी राष्ट्रपति भण्डारीको शैली अनुकरणीय छ । विशेषगरी अंग्रेजीमा सजिलो नहुने नेता/प्रतिनिधिहरूको लागि यो तरीका उपयुक्त हुन्छ ।

(प्रम देउवाको सं.रा.स. र कोलम्बिया विश्वविद्यालयको प्रस्तुति तथा राष्ट्रपति भण्डारीको नयाँदिल्ली राष्ट्रपति भवनमा मिडियासामुको अभिव्यक्ति तथा जेनेभामा आईएलओमा दिएको भाषण सबै यू६्यूबमा उपलब्ध छन् ।)

प्रतिकृया दिनुहोस