टिप्पणीआइतवार, आश्विन २९, २०७४

माओवादी अध्यक्षको ज्ञानभण्डार

वसन्त महर्जन

नेपालका नेताहरू आफूलाई सर्वज्ञानी ठान्छन्, तर सामान्य ज्ञान पनि राख्दैनन् भन्ने पछिल्लो उदाहरण बनेका छन्, माओवादी अध्यक्ष दाहाल ।

तस्वीरः बिक्रम राई

हरेक व्यक्तिले आफ्नो बारेमा एउटा काल्पनिक व्यक्तित्व बनाएको हुन्छ र उसका क्रियाकलाप त्यही व्यक्तित्वबाट प्रभावित हुन्छन् । नेपालको पछिल्लो राजनीतिमा प्रभावपूर्ण खेलाडी रहिआएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि आफूलाई निकै चतुर र गतिशील व्यक्तिको काल्पनिकतामा ढालेका छन् ।

उनलाई मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान बिजुक्छेलगायतका अन्य कम्युनिष्ट नेताहरू आफूजस्तो गतिशील नरहेको लाग्दो रहेछ । त्यो कुरालाई सार्वजनिक रूपमा अभिव्यक्त गर्न दाहालले उनीहरूलाई बौद्ध भिक्षुसँग तुलना गरे । त्यसक्रममा दाहालले सिंह, वैद्य र बिजुक्छेलाई ‘बौद्ध भिक्षुजस्तै घण्ट बजाएर बसिरहेको’ भने । यो तुलना र प्रतीकले उनको अल्पज्ञान छताछुल्ल पारेको छ ।

पुष्पकमल दाहालको व्यक्तित्व निर्माण बौद्ध धर्म प्रतिकूल परिवेशमा भयो । राष्ट्रिय नेता बन्न उनले हिंसाको अधिकतम प्रयोग गरे । माक्र्सवादीहरू त्यसै पनि बौद्ध धर्म–दर्शनलाई भौतिकवादी दर्शनको रूपमा बुझ्छन्। उनीहरू बौद्ध धर्म–दर्शनलाई अन्य धर्म–दर्शनभन्दा प्रगतिशील रहेको भनी प्रशंसा पनि गर्छन् ।

यो सवालमा नेपालका कम्युनिष्ट नेताहरू भारतीय कम्युनिष्टहरूको अनुयायी नै भन्न सकिन्छ । भारतमा बौद्ध धर्मको पुनर्जागरण भइरहेकै वेला कम्युनिष्ट आन्दोलनले पनि गति लिएको थियो । त्यसका लागि उनीहरूले बौद्ध धर्मलाई जनतामा लोकप्रिय हुने माध्यम पनि बनाएका थिए ।

तर, यथार्थ कस्तो छ भने, गौतम बुद्धले लोकायत (भौतिकवादी) हरूको खण्डन आफ्नो जीवनकालमै गरेका थिए । बुद्धको महापरिनिर्वाणपछि उनका अनुयायीहरूले पनि लोकायतहरूको विरोध नै गरे । तर, माक्र्सवादीहरूले कार्ल माक्र्सको ‘पूँजी’ र कम्युनिष्ट नेताहरूको सैद्धान्तिक पुस्तकमा बौद्ध धर्म–दर्शन खोज्न छाडेका छैनन् । बौद्ध धर्म–दर्शनलाई उनीहरू आफ्नै पाराले बुझछन् । आफ्नो बुझाइ नै अब्बल भएको भ्रम पनि पाल्ने गरेको माओवादी अध्यक्ष दाहालको अभिव्यक्तिमा देखियो ।

पहिलो पटक प्रधानमन्त्री भएको समयमा दाहालले कुनै अज्ञात चिनियाँ कम्पनीको आर्थिक लगानीमा बुद्ध जन्मस्थल लुम्बिनीको विकास गर्न चाहेको कुराले निकै चर्चा पाएको थियो । त्यतिवेला समर्थकहरूले उनलाई बौद्ध धर्मका मसीहाका रूपमा प्रस्तुत गर्न खोजेका थिए ।

कतिसम्म भने, ‘जनयुद्ध’ को नाममा एकदशकसम्म मच्चाइएको हिंसाबाट आएका उनलाई त्यस्तै रक्तरंजित इतिहासका मौर्य सम्राट अशोकको बौद्ध धर्ममा प्रवेश र धर्मयात्रासँग तुलना समेत गरियो । बौद्ध धर्म–दर्शनको खास प्रकृति भनेकै मान्छेमा परिवर्तन ल्याउने हो । त्यसअनुसार, सबै मान्छे यसको हकदार हुन्छ । तर, दाहालको बौद्ध धर्म सम्बन्धी बुझाइ त्यस सुहाउँदो देखिएन, बरु अत्यन्त सतही देखियो ।

नेकपा (संयुक्त) सँगको एकीकरण घोषणा सभामा माओवादी अध्यक्ष दाहालले राजनीतिलाई कहिल्यै घिसिपिटी तरीकाले नलिएको बताए । त्यसक्रममा उनले ‘राजनीतिलाई बौद्ध भिक्षुले घण्टी बजाइरहे जस्तो गरी वा विस्तारै अगाडि बढ्छ भन्ने विश्वास कहिल्यै गरिनँ’ भने । तर, मोहनविक्रम सिंह, मोहन वैद्य र नारायणमान बिजुक्छेले राजनीति विस्तारै अगाडि बढ्छ भनेर बौद्ध भिक्षुजस्तो घण्टी बजाइराखेको टिप्पणी यसरी गरे । “न समाजमा कुनै परिवर्तन छ न जीवनमा कुनै आवेग” दाहालले भने, “उहाँहरू बौद्ध भिक्षुजस्तो घण्टी बजाइराख्नुभएको छ ।”

उनको बुझाइमा उल्लिखित कम्युनिष्ट नेताहरू बौद्ध भिक्षुहरू जत्तिकै निकम्मा हुन् । अथवा बौद्ध भिक्षुहरू ती कम्युनिष्ट नेताहरू बराबर बेकम्मा हुन् । बौद्ध भिक्षुलाई दाहालले यो रूपमा बुझेका रहेछन् । उनको बुझाइ अनुसार, निकम्मा भएकैले भिक्षुहरूलाई बौद्ध समुदायले आदर–सम्मान गर्छन् । बौद्ध संघको प्रतिनिधि भएर नपुगी बौद्ध धर्म–दर्शनको अभ्यासलाई वास्तविक व्यवहारमा उतार्न घरबार नै त्याग्नु निकम्मा हुनु हो ।

अत्यन्त सादा जीवन बिताउनु, शीलसम्पन्न भई प्रज्ञाका लागि प्रयत्नरत हुनु निकम्मापन हो । दाहालको बुझइमा, कसैले गर्न नसक्ने यस्तो अधिष्ठान गर्नु भिक्षुहरूको निकम्मापन हो । सर्वसाधारण बौद्धहरूले केही दान गरेर त्यस पुण्यमा भागिदार भएको महसूस गर्नु भनेको निकम्माहरूलाई घण्टी बजाउने वातावरण बनाइदिनु हो ।

खासमा, बौद्ध भिक्षुको अर्थ घरबार छाडेर बिहारमा जीवन बिताउने नभएर जीवनलाई रूपान्तरण गर्नु हो । एउटा सानो प्राणीको हत्या गर्ने सोचबाट पनि विरक्तिनु, जीवन र जगतलाई यथार्थमा बुझ्नु जस्तो ‘क्रान्तिकारी’ आदर्शको ज्वलन्त उदाहरण ‘बौद्ध भिक्षु’ हो । हजारौं मानव हत्याका लागि जिम्मेवार नेता दाहालले आफू ‘बौद्ध भिक्षु’ जस्तो होइन भन्नुले उनमा अहिलेसम्म पनि बौद्ध धर्म–दर्शन तथा आदर्शको रत्तिभर ज्ञान नभएको देखाएको छ ।

जबकि, दुई–दुई पटक मुलुकको प्रधानमन्त्री भइसकेका उनले थुप्रै बौद्ध व्यक्तित्वसँग भेटघाट गरेका र सभा–समारोहमा उपस्थित भएका छन् । नेपालका नेताहरू आफूलाई सर्वज्ञानी ठान्छन्, तर सामान्य ज्ञान पनि राख्दैनन् भन्ने पछिल्लो उदाहरण बनेका छन्, माओवादीका अध्यक्ष दाहाल ।

नेपालको सन्दर्भमा तात्विक भिन्नता नभए पनि ‘बौद्ध भिक्षु’ भन्नाले थेरवादी भिक्षुलाई बुझने गरिन्छ । थेरवाद बौद्ध धर्ममा घण्टको प्रयोग हुँदैन । महायानी–बज्रयानी बौद्ध धर्ममै पनि विशेष अभिषेक पाएका बज्राचार्य (भिक्षु) ले विशेष अवसरमा मात्र घण्टी बजाउँछन् ।

प्रतिकृया दिनुहोस