बाबुरामको दल एक्लै चुनाव लड्ने
१० दिनअघि विशेष कार्यक्रमको आयोजना गरी एमाले लगायतका वाम दलहरुको गठबन्धनमा सहभागी भएको घोषणा गरेको नयाँ शक्ति पार्टी अहिले उक्त गठबन्धनबाट अलग भएको छ ।
एमालेकै निर्वाचन चिह्न सूर्य लिएर नै निर्वाचनमा जान भएको सहमति विपरितका गतिविधि भएको भन्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी गठबन्धनबाट बाहिरिएको हो ।
नयाँ शक्ति पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले मंसीर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न आँखा लिएर सहभागी हुने निर्णय गरेको हो ।
माओवादी केन्द्रले गोरखाका दुवै क्षेत्र नछाड्ने अडान लिएपछि भट्टराई एक्लै चुनाव लड्ने निर्णयमा पुगेका हुन् । बैठकले संयोजक बाबुराम भट्टराईले गोरखा– २ बाट उम्मेदवारी दिने पनि निर्णय गरेको छ ।
बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने पनि नयाँ शक्तिले निर्णय गरेको छ ।