समाचारबिहिवार, आश्विन २६, २०७४

चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएन, संसद माफियाको बन्धक बनेको डा केसीको आरोप

हिमालखबर

चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुखले बोलाएको बैठकका सहभागीहरु ।

व्यवस्थापिका संसदको आज, २६ असोजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेस हुन सकेन ।

सभामुखको प्रयासका बावजुद पनि शिक्षामन्त्री गोपालमान श्रेष्ठले विधेयकमा प्रस्ताव गरेको संशोधन एमाले र माओवादीले अस्वीकार गरेपछि विधेयक  पेस हुन नसकेको हो ।

पछिल्लो समय संशोधन सहितको विधेयक तुरुन्तै पारित गर्न माग गर्दै डा केसी अनशनमा बसेपछि सरकारले उनका माग सम्बोधन हुने गरी संशोधनसहितको विधेयक संसदमा पेश गर्ने तयारीमा थियो ।

समितिले पारित गरेको विधेयक मन्त्रीले संशोधन गर्न नसक्ने भन्दै एमाले र माओवादीले कि त पुरानै विधेयक पारित गर्नु पर्ने नभए पुनः समितिमा फिर्ता पठाउनुपर्ने अडान राखेपछि विधेयक पेश हुन नसकेको हो । समितिमै फिर्ता पठाउँदा समयाभावमा उक्त विधेयक पारित हुनसक्ने अवस्था छैन ।

भोलि २७ असोजमा यो संसदको अन्तिम बैठक बस्ने भएकोले विधेयक पारित गर्नका लागि संसदीय समितिमा पठाउन सकिने अवस्था नभएको हो । त्यसपछि प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेपछि बनेको नयाँ संसदको बैठकमा नयाँ विधेयक लैजानुपर्नेछ ।

संसदलाई बन्धक नबनाऊः डा केसी
यसैबीच डा केसीले सभामुखले विशेषाधिकार प्रयोग गरेर भए पनि संशोधनसहितको चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गरेका छन् ।

डा. केसीले  पत्रकार सम्मेलन गरी माफियामुखी ऐन ल्याउन चाहनेहरुले संसदलाई बन्धक बनाएको आरोप समेत लगाए ।

सांसदहरुकै कारण अहिलेके विधेयक पारित नभई निस्कृय हुन सक्ने अवस्था आएको भन्दै उनले थपे, “चिकित्सा क्षेत्रको सुधारका लागि हामीले लामो समयदेखि गरेके प्रयास खेर जाने अवस्था आएको छ ।”

माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक संशाेधनसहित पारित गर्न माग गर्दै डा केसी गत ७ दिनदेखि १३ औं आमरण अनशनमा छन् । पछिल्लो समय उनको स्वास्थ्यअवस्था अघिल्ला अनशनहरुभन्दा चाँडै बिग्रिएको छ ।

प्रतिकृया दिनुहोस