समाचारबिहिवार, आश्विन २६, २०७४

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन निर्देशन

हिमालखबर

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले विमानस्थल निर्माण आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना र प्रतिबद्धता चिनियाँ ठेकेदार कम्पनीसँग लिई सोही बमोजिम कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति, उपकरण र अन्य साधनस्रोत परिचालन गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले आयोजना तोकिएको समयमा सम्पन्न गर्न आवश्यक पर्ने गिट्टी, ढुङ्गा, माटो र विद्युत्को नियमित आपूर्ति हुने व्यवस्था सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आपूर्ति मन्त्रालय र पर्यटन मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।

यसअघि विमानस्थल निर्माणमा ढिलाइ भएको भन्दै समितिले चासो लिई पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल आयोजना प्रमुख लगायतसँग छलफल समेत गरेको थियो । रासस

प्रतिकृया दिनुहोस