समाचारबुधवार, आश्विन २५, २०७४

अन्नपूर्ण आधारशिविरमा प्रथम आरोही हर्जोगको शालिक स्थापना हुने

हिमालखबर

तस्वीर: युवराज श्रेष्ठ

अन्नपूर्ण आधार शिविरमा फ्रान्सेली आरोही मौरिस हर्जोगको शालिक स्थापना गरिने भएको छ ।

८०९१ मिटर अग्लो अन्नपूर्ण पहिलो हिमालको चुचुरोमा हर्जोग सबैभन्दा पहिले ३ जुन १९५० मा पुगेका थिए ।

हर्जोगले अन्नपूर्ण आरोहण गरेको तीन वर्षपछि २९ मे १९५३ मा तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

अन्नपूर्ण आधार शिविर (४,१२० मि) मा पहिलो पटक आयोजना गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका अवसरमा संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले हर्जोगको शालिक स्थापनाका लागि शिलान्यास गरेका छन् ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष यवराज कुँवरले आफू पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि प्रयत्नशील रहेको बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले लिँदै आएको कर अब गाउँपालिकाले उठाउने बताए ।

महोत्सवको दोस्रो चरणको कार्यक्रम १० देखि १५ पुससम्म र तेस्रो चरणका कार्यक्रम आगामी वर्ष १८ देखि २० जेठसम्म हुने महोत्सव व्यवस्थापन समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।

महोत्सवमा आरोही हर्जोगका परिवार र हर्जोगका लियाजोन अफिसर घनविक्रम राणाका साथै सरदार आङथार्के शेर्पालाई मरणोपरान्त सम्मान गरियो । महोत्सवमा पर्यटनविद् झलक थापालाई समेत सम्मान गरिएको थियो ।

अन्नपूर्ण आधार शिविरको औपचारिक पदयात्रा पहिलो पटक सन् १९६६ मा एरिक सिप्टनले गरेका थिए । माउण्टेन ट्राभल नेपाल मार्फत उनी आधारशिविरसम्म पुगेका थिए ।

सन् १९६५/०६६ मा व्रिटिश गोर्खा पल्टनको सेकेण्ड जिआर कर्णेलबाट निवृत्त भएपछि बेलायती नागरिक कर्णेल जिम्मी रवर्टस् अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरेका थिए ।

त्यसपछि उनले ‘माउण्टेन ट्राभल नेपाल ट्रेकिङ कम्पनी’ खोलेका थिए । त्यतिबेला उनको कम्पनीको योजना अधिकृत भएर पर्यटनविद् झलक थापाले काम गरेका थिए ।

अहिले पनि अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको पहिलो रोजाई अन्नपूर्ण आधार शिविर हुने गरेको छ ।

१ साता लामो यो पदयात्रामा गत बर्ष मात्र २८ हजार ५३१ जना विदेशी पर्यटकले पदयात्रा गरेका थिए ।
युवराज श्रेष्ठ, अन्नपूर्ण आधार शिविरबाट

प्रतिकृया दिनुहोस